बाँकेमा २४ प्रतिशत घरमै सुत्केरी

    • स्वास्थ्य पेज

  • ८ श्रावण २०७७, बिहीबार

नेपालगन्ज ०८, साउन ।
बाँकेका २४ प्रतिशत महिला अझै पनि घरमै सुत्केरी हुने गरेको तथ्य सार्वजनिक भएको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउन सरकारले प्रोत्साहनका कार्यक्रम ल्याए पनि घरमै सुत्केरी हुने क्रम अपेक्षित घट्न सकेको छैन ।नियमितरुपमा गभर्वती चेकजाँच गराई स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलालाई सरकारले आर्थिक अनुदानदेखि बिभिन्न सहयोगका कार्यक्रमहरु गर्दै आएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स श्रेष्ठका अनुसार जिल्लाका तीन ठूला अस्पताल र ४७ मध्ये ३४ वटा स्वास्थ्य संस्थामा निःशुल्क गर्भ चेकजाँच र प्रसूति सेवा उपलब्ध छ । जिल्लाभर चेकँजाच तथा प्रसूति सेवा उपलब्ध भएपछि चेकजाँचका लागि महिलाहरु स्वास्थ्य संस्था आउने क्रम बढे पनि अझै २४ प्रतिशत स्वास्थ्य संस्थाको पहुँच बाहिर छन् ।

पब्लिक हेल्थ नर्स श्रेष्ठले भन्नुभयो, ‘गाउँमा रहेका स्वास्थ्य संस्थामा गर्भवती चेकजाँच गराए पनि सुत्केरी हुन भने अधिकांश महिलाहरु ठूला अस्पतालमै आउने गरेका छन् । जसका कारण गाउँका स्वास्थ्य संस्थामा प्रसूति सेवा लिनेको संख्या निकै कम र ठूला अस्पतालमा प्रसुती सेवा लिनेको संख्या निकै धेरै छ ।’

सरकारले गर्भवती महिलाहरुलाई उनीहरुले गाउँ नजिकैबाट चेकजाँच र सुत्केरी सेवा लिन सकुन् भनेर प्रोत्साहन गर्न थालेको छ । स्वास्थ्य अवस्था सामान्य भएका गर्भवतीहरु ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्था अर्थात् हेल्थ पोष्ट तथा प्राथमिक उपचार केन्द्रमा पनि सुरक्षित प्रसूति सेवा लिन सक्ने ब्यवस्था मिलाइएको छ ।

सबै स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवाका लागि २४ सै घन्टा तालिम प्राप्त स्वास्थ्यकर्मीको ब्यवस्था गरिएकाले गाउँकै स्वास्थ्य संस्थामा प्रसूति सेवा लिँदा पनि आमा र शिशु दुबै सुरक्षित हुने जिल्ला स्वास्थ्य कार्यालयको दावी छ । स्वास्थ्य अवस्था गम्भीर भएकाहरुलाई स्वास्थ्य संस्थाहरुले नै ठूला अस्पतालमा रिफर गरि दिने गरि ब्यवस्थासमेत मिलाइएको छ ।

  • ८ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech