मानसिक स्वस्थ्य, आत्महत्या र निराकरण

    • स्वास्थ्य पेज

  • ६ श्रावण २०७७, मंगलवार

पंकज आचार्य,

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार मानसिक स्वास्थ भनेको सुस्वास्थको त्यस्तो अवस्था हो, जहाँ प्रत्येक व्यक्तिले आफ्ना सम्भावनाहरु महसुस गर्छ, जीवनका सामान्य तनावहरुको सहजै सामना गर्छ र उत्पादनशील रुपमा काम गर्दै आफ्नो समुदायमा केही योगदान पुर्‍याउँछ। तसर्थ पूर्ण रुपमा स्वस्थ हुन मानसिक रुपमा सबल अनि स्वस्थ हुन अत्यन्त जरुरी छ।

प्रायः मानसिक स्वास्थ र मानसिक रोगलाई एकै रुपमा लिएको पाइन्छ। मानसिक रोग हुनका लागि तीन कुरा आवश्यक पर्छ, मानसिक रोगका लक्षण, ती लक्षणको समयावधि र दिनचर्यामा असर। मानसिक रोगका केही लक्षण छन्: निराश हुने, एन्जाइटी, झमझम हुने वा सोला हान्ने, अत्यधिक रुपमा रिसाउने, बिर्सने, धेरै शंका लाग्ने, कुनै शारीरिक कारणबिना दुख्ने, अस्वभाविक व्यवहार देखाउने, निद्रामा समस्या, खानामा अरुचि वा बढी खाने, टाउको दुखाइ, असहज महसुस हुने, मुटु ढुकढुक हुने, आत्मबलमा कमी, नभएका आवाजहरु सुन्ने वा नभएका वस्तुहरु देख्ने, नशाजन्य पदार्थहरुको प्रयोग, बढी मात्रामा इन्टरनेटको प्रयोग, आत्महत्या सम्बन्धी सोच वा प्रयास, बारम्बार एउटै सोच रहने, आदि। यीमध्ये एउटा मात्रै लक्षण देखिँदैमा भने मानसिक रोग लाग्यो भन्न मिल्दैन।

परीक्षामा फेल हुँदा उदास हुनु स्वभाविक हो तर यसलाई डिप्रेसन वा उदासिनताको रोग भन्न मिल्दैन। यदि रोग नै हो भने डिप्रेसनका अरु लक्षणहरु निश्चित समयावधिका लागि हुन जरुरी छ र यसले व्यक्तिको दिनचर्यामा पनि असर गरेको हुनुपर्छ।

विश्व जनमानस अहिले कोरोना महामारी (कोभिड-१९) को चपेटामा छ । हामीलाई अझै थाहा छैन, यो महामारी कहिलेसम्म लम्बिन्छ भनेर । कोभिड-१९ ले परिवार र समाजमा के-कस्तो क्षति पुर्‍याउन सक्छ भन्ने कसैलाई थाहा छैन।

यस्तो डर-त्रासमा बाँचिराखेकाले हाम्रो शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमा अत्यन्त प्रतिकुल परिस्थिति सिर्जना भइराखेको छ। मानसिक स्वास्थ्यमा आएका विभिन्न समस्याका कारण आत्महत्याका घटनामा पनि वृद्धि भइराखेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। नेपालमा लकडाउनको समय अविध बढाइएसँगै मानसिक स्वस्थ्य सम्बन्धी समस्या पनि वृद्धि भइरहेको छ।

नेपाल प्रहरीको तथ्यांक अनुसार लकडाउनको पहिलो महिनामै आत्महत्या गर्नेको संख्या ४८७ पुगेको थियो र त्यसपछिका महिनामा करिब ४०० को संख्यामा प्रत्येक महिना मानिसले आत्महत्या गरिरहेका छन। आत्महत्यासँगै विभिन्न प्रकारका अरु सामाजिक अपराध पनि बढ्दो क्रममा छन्।

सिनेकर्मी, पत्रकार, गायक, लेखक, डाक्टर, वकिल, न्यायाधीश लगायतले आत्महत्या गरेका कैयौं उदाहरण हाम्रोसामु छ। प्रायः ती सबै नै आत्महत्याको निम्ति डिप्रेसन नै जिम्मेवार तत्व हो। लगभग ८५ देखि ९० प्रतिशत आत्महत्याको घटनासँग डिप्रेसन जोडिएको हुन्छ। कुनै जन्मँदै लिएर आएको र कुनै विभिन्न कारण र परिस्थितिले गर्दा सिर्जित उक्त रोगको कारण मानिसले आत्महत्या रोज्ने गर्छ। झट्ट हेर्दा मर्नेको कमजोरी देखिन्छ तर मर्नेले आफ्नो मृत्यु कुनै पनि हालतमा रोजेको हुँदैन। हरेक मानिस बाँच्न चाहन्छ। तर उसको बाँच्ने इच्छालाई रोगको विवशताको कारण मर्ने इच्छाले थिचिदिन्छ र यो सुनौलो संसारबाट नचाहँदानचाहँदै पनि बिदा हुन जान्छ।

हालसम्मको अध्ययन र अनुसन्धानबाट आत्महत्या गर्नेहरुमा भौतिक सुखभन्दा मानसिक सुख प्राप्त गर्न नसक्नेहरुको संख्या अत्यधिक पाइएको छ। गरिब भनेर चिनिने मुलुकहरुमा भन्दा धनी र सम्पन्न पश्चिमी मुलुकमा आत्महत्या गर्नेको संख्या र सोतर्फ प्रवृत्ति भएका व्यक्तिहरु अत्यधिक मात्रामा पाइने गरेको सो सम्बन्धी अनुसन्धानबाट प्राप्त तथ्याङ्कले पुष्टि गर्छ।

आत्महत्या विशेषगरी युवावर्गले बढी गर्ने गरेको पाइए तापनि त्यसको निम्ति उमेरको हदले कुनै छेकबार लगाउन सकेको पाइँदैन। सहजै विश्वास गर्न नसकिने कलिला बालकदेखि लिएर प्राकृतिक मृत्युको नजिक पुगिसकेका अति वृद्ध व्यक्तिहरु समेतले आत्महत्या गर्ने गरेका प्रशस्तै उदाहरण पाइने गरेका छन्।

विश्वमा सबैभन्दा बढी आत्महत्या हंगेरीमा हुने गर्छ। त्यहाँ प्रत्येक १ लाख जनसंख्यामा ४८.४ जना पुरुषले र १४.६ जना महिलाले आत्महत्या गर्ने गर्छन्। पुरुषले बढी आत्महत्या गर्ने राष्ट्रमा हंगेरीपछि फिनल्यान्ड, पूर्व सोभियत संघ, अष्ट्रेलिया र स्विटजरल्यान्ड आदि पर्छन्। महिलाले सबैभन्दा बढी आत्महत्या गर्ने राष्ट्र सिङ्गापुर हो। सिङ्गापुरपछि डेनमार्क, बेल्जियम र फिनल्याण्ड आदि पर्छन्। विश्वमा न्युजिल्याण्डका किशोरीले सबैभन्दा बढी आत्महत्या गर्ने गर्छन्।

निराकरण
धेरैलाई यो भ्रम रहेको पाइन्छ कि, आत्महत्याको निम्ति कुनै देखिने कारण अवश्य भएको हुनुपर्छ। विशेषतः आत्महत्या मानिसले एक्कासि भावावेशमा आएर वा तत्काल आवेगमा आएर गर्छन्। तर वास्तविकता त्यस्तो होइन। अधिकांश आत्महत्या पहिलेदेखिको सोच-विचारको परिणामस्वरुप भएको हुन्छ। आत्महत्या गर्ने विचार उत्पन्न भएपछि परिस्थितिलाई आफ्नो अनुकुल बनाएर अधिकांश व्यक्तिले आत्महत्या गर्ने भएको हुनाले त्यसतर्फ विचार राखिराखेका व्यक्तिलाई बेलैमा पहिचान गरेर उचित सेवा र सल्लाह प्रदान गर्न सकेको खण्डमा केही समयको निम्ति वा सदाको निम्ति त्यस्ता व्यक्तिहरुलाई मृत्युको मुखबाट बचाउन सकिन्छ।

अधिकांश व्यक्तिले आत्महत्या गर्नुपूर्व कसैको सहयोग र सहानुभूतिको अपेक्षा राखिराखेको हुन्छ। कसैले आफ्नो कुरा सुनिदेओस्, आफ्नो समस्यालाई महत्व प्रदान गरिदिओस् भन्ने अभिलाशा राखिराखेको हुन्छ। कतिपय व्यक्तिले आत्महत्या गर्नुपूर्व सोको पूर्व संकेत पनि दिने गरेको पनि पाइन्छ।

कसैले नैराश्यले भरिएको कुरा गर्ने, मर्ने वा नबाँच्ने कुरा गरेको सुनियो भने त्यसलाई जिस्केको नठानी गम्भीरतापूर्वक लिनुपर्छ। तपाईं हाम्रो कोही परीक्षामा असफल भएको अवस्थामा, कुनै कुराको कारण पिर परेको वा समस्याले ग्रसित पारेको अवस्था भएको, झगडा गरेर रिसाएको अवस्था भएको लगायतमा त्यसलाई सहज ढंगले लिन मिल्दैन। दिमागको एउटा कुनामा जे पनि हुन र गर्न सक्छ भन्ने ठानेर उनीहरुको क्रियाकलापलाई सूक्ष्म तवरबाट विचार पुर्‍याइरहनु अनिवार्य छ। त्यस्ताले जतिखेर पनि जे पनि गर्न सक्छन्।

पश्चिमी मुलुकहरुमा धेरै वर्ष अगाडिदेखि आत्महत्याको रोकथामको निम्ति र सोबाट पीडित व्यक्तिलाई सेवा पुर्‍याउनको निम्ति सरकारी र गैरसरकारी स्तरमा विभिन्न समाजसेवी संस्थाहरु कार्यरत छन्। ती संस्थाहरुले चौबीसै घन्टा टेलिफोनको हटलाइनमार्फत सल्लाह प्रदान गर्ने र आवश्यकता अनुसार घरदैलोमा पुगेर उचित सल्लाह र उपचार प्रदान गर्ने गर्छन्।

त्यस्ता संस्थाहरुले एकपल्ट आत्महत्याको असफल प्रयास गरिसकेको व्यक्तिलाई विशेष ध्यान पुर्‍याउने गरेको र त्यस्ता व्यक्तिको बाँच्ने इच्छालाई विभिन्न क्रियाकलापको माध्यमद्वारा प्रवल गराउन आवश्यक उपाय गर्ने गरेका छन्। हाम्रो पूर्वीय सभ्यतामा विशेषतः आध्यात्मिक र बुध्द दर्शनमा त्यस्ता व्यक्तिहरुको अवचेतन अवस्थालाई खोलेर उपचार गर्ने ज्ञानको माध्यमद्वारा सोच्ने ढंगमा परिवर्तन ल्याउन सकिन्छ। हाम्रो देशमा त्यस प्रकारका उपायको अबलम्वन गर्न सकिन्छ, जो अनिवार्य र अपरिहार्य पनि छ।


Nabintech