कोरोना अपडेटः नेपालमा थप एकको मृत्यु

    • स्वास्थ्य पेज

  • २ श्रावण २०७७, शुक्रबार
कोरोना अपडेटः नेपालमा थप एकको मृत्यु

काठमाडौं ०२, साउन ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको राजविराज नगरपालिका–१ का ७३ वर्षका एक पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

मन्त्रालयले ती पुरुषमा लामो समयदेखि डाइविटिज र मुटुको समस्या रहेको जनाएको छ। असार ३१ गते बेलुकी खोकी, ज्वरो तथा स्वास प्रश्वास लगायतका स्वास्थ्य समस्या देखिएपछि उनी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना भएका थिए।

उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखिएकोमा बिहीबार राति उपचारका क्रममा मृत्यु भएको हो।यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० पुगेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ४ सय ४५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएको बताउनुभयो। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको कुल संख्या ११ हजार ५ सय ३४ पुगेको छ।

  • २ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech