वर्षायाममा सर्पदंशको जोखिम र जोगिने उपाय

    • स्वास्थ्य पेज

  • ३० असार २०७७, मंगलवार

वर्षायामसँगै सर्पदंशका बिरामी बढेका छन् । गर्मी बढेपछि सर्पहरू जमिनबाट बाहिर निस्कने गर्छन् । विषालु सर्पको डसाइबाट तराई क्षेत्रका बासिन्दा बढी प्रभावित हुन्छन् । नेपालगन्जको भेरी अस्पतालमा सर्पदंशका विरामीहरु बढ्दै गएका छन् । अस्पतालले दिएको जानकारी अनुसार बैशाख अन्तिमसातादेखि असार अन्तिम सातासम्म १ सय ४५ जना सर्पदंशका विरामी उपचारका लागि आएका छन् । ति मध्ये ४५ जना बिषालु सर्पले टोकेका विरामी रहेको उपचारमा संलग्न चिकित्सक पारश पाण्डेले जानकारी दिनुभयो । नेपालमा सर्पदंश पनि जनस्वास्थ्यको मुख्य समस्या हो ।

कसरी जोगिने ?

– खुला ठाउँ र भुइँमा नसुतौँ । झुल टाँगेर मात्र सुत्ने गरौँ ।

– घर र खेलमैदानवरिपरि सफा राख्नुपर्छ । झाडी, ढुंगा, हिलो र पातको थुप्रो हटाउनुपर्छ ।

– राति अँध्यारोमा हिँड्दा सजग बनौँ । बत्ती बालेर वा लठ्ठी टेकेर मात्र हिँड्ने गरौँ ।

– ढुंगा या अन्य वस्तु थुपारिएको ठाउँमा काम गर्दा सजगता आवश्यक छ ।

– खेतबारी वा बाहिर काम गर्दा शरीर पूरै छोपिने लुगा लगाउने गरौँ ।

– बालबालिकालाई सर्प बस्न सक्ने ठाउँबारे सचेत गराउनुपर्छ । विषालु सर्पको डसाइबारे उनीहरूलाई जानकारी दिनुपर्छ ।

– सर्पले डसिहालेमा सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्थामा पुयाउनुपर्छ ।

– कतिपयमा डसेको ठाउँवरिपरि सुन्निन्छ । रक्तश्राव हुन सक्छ । फोका उठ्ने र संक्रमण पनि हुन सक्छ ।

– विषालु सर्पले डस्दा बान्ता हुने, आँखाको परेला उठाउन गाह्रो हुने, स्वादमा भिन्नता आउने, नाडी छिटोछिटो चल्ने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छन् ।

– विषविहीन सर्पले डस्दा पनि आत्तिएर हृदयाघात हुने, छिटो–छिटो सास फेर्ने, डसेको ठाउँमा घोचेकोजस्तो महसुस हुने, हातखुट्टा बाउँडिने वा नचल्ने, बेहोस हुने लक्षण देखिन्छन् ।

  • ३० असार २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech