प्रदेश ५ का जिल्लामा क्वारेन्टिनहरु खाली हुँदै

    • स्वास्थ्य पेज

  • २९ असार २०७७, सोमबार

बिनोद गौतम
नेपालगन्ज २९, असार ।
प्रदेश ५ का क्वारेन्टिनहरु खाली हुँदै गएका छन् । वैशाखदेखि मध्य जेठसम्म कोरोना संक्रमणको ‘हटस्पट’ बनेको प्रदेश पाँचमा भारतबाट आउनेको संख्या घट्दै जानु र क्वारेन्टिनमा बसेकाहरु घर फर्किएसँगै खाली हुँदै गएका हुन् ।

जेठ तेस्रो साता ४० हजार रहेका क्वारेन्टिनमा अहिले पाँच हजार जना छन् । पहिलो पटक गत वैशाख १७ गते एकैदिन रुपन्देही र बाँकेमा संक्रमण देखिएको थियो ।पहाडी जिल्लामा पनि संक्रमण दर घटेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रहेका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले बताउँनुभयो । रोजगारी वा अरु कामले भारत गएकाहरु फर्कने क्रम घटेको र क्वारेन्टिन बसाई पूरा गर्नेहरु बढेकाले संक्रमण दर ८.६४ प्रतिशतमा झरेको उहाँको भनाइ छ ।

प्रदेश ५ मा हालसम्म ४८ हजार ०८९ जनाको पीसीआर टेष्ट गर्दा ३ हजार ९६६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितमध्ये ३ हजार २०६ जना निको भएर घर फर्केका छन् भने ७६७ जना उपचारमा छन् । कोरोना संक्रमित १३ जनाको मृत्यु भएको छ ।प्रदेश ५ मा कोरोना संक्रमित निको हुने दर ८० प्रतिशत हाराहारी रहेको प्रवक्ता चौधरीले बताउनुभयो ।

प्रदेश ५ मा अहिले पाँच हजार २५५ जना क्वारेन्टिनमा छन् । १२ जिल्लामध्ये सबैभन्दा धेरै गुल्मीका ३१५ क्वारेन्टिनमा सबभन्दा बढी ९१९ र रुकुम पूर्वका ३१ वटा क्वारेन्टिनमा सबभन्दा कम ५२ जना छन् ।त्यसैगरी, बाँकेका ११२ क्वारेन्टिनमा १८१ जना, बर्दियाका १४६ क्वारेन्टिनमा ५३७ जना, कपिलवस्तुका १६३ क्वारेन्टिनमा २६५ जना, अर्घाखांचीका २१० क्वारेन्टिनमा ३६० जना छन् ।
रुपन्देहीका ५४ क्वारेन्टिनमा ६६५, पाल्पाका १९० क्वारेन्टिनमा ६१५, नवलपरासीका ५४ क्वारेन्टिनमा ३१६, दाङका २१३ क्वारेन्टिनमा ४५२, प्युठानका २२७ क्वारेन्टिनमा ५६१ र रोल्पाका ६७ क्वारेन्टिनमा ३३२ जना छन् । अहिले पनि प्रयोगशालामा नमुना पुगेको २६ सय २ वटा स्वाबको रिपोर्ट आउन बाँकी छ । प्रदेश ५ मा १३ जना मृतकमा कोरोना संक्रमण देखिएको थियो ।

  • २९ असार २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech