रजस्वला र गर्भावस्थामा गर्न सकिने योगासन

    • स्वास्थ्य पेज

  • २४ असार २०७७, बुधबार

बिमला जोशी, 

पछिल्लो समयमा महिलाहरुले  घर धन्दाका अतिरिक्त विभिन्न कार्यालय, व्यापार व्यवसाय जस्ता विभिन्न कार्यहरुमा पनि व्यस्त रहेको देखिन्छ । यसरी दैनिक जीवनमा व्यस्त रहने महिलाहरु घरधन्दामा व्यस्त रहनुका साथै महिलाको जीवनका लागि आवश्यक प्राकृतिक अवसर (रजस्वला र गर्भाधान) ले गर्दा पनि कहिले काहिँ शारीरिक समस्याले अप्ठ्यारो परिरहेको देखिन्छ ।

विभिन्न पारिवारिक जिम्मेवारीसंगै रजस्वला तथा गर्भाधानजस्ता क्रियाले गर्दा महिलाहरु शारीरिक वा मानसिक रुपमा कमजोर हुदैं गइरहेका हुन्छन् । त्यसका साथै उमेर बढ्दै जाँदा विभिन्न पाठेघर समस्याहरु पाठेघरको क्यान्सर, स्तन क्यान्सर , घुडा खिइने, पेट दुख्ने, नशा च्यापिने जस्ता विभिन्न रोगहरु लागेका देखिन्छ ।

घरमा एउटा महिला अस्वस्थ हुनु भनेको एउटा पुरै घर अस्वस्थ हुनु हो किनकी नेपाली समाजमा प्रायः जसो एउटा महिलामाथि पुरै घर निर्भर रहेको देखिन्छ । विभिन्न शारीरिक एवम् मानसिक अप्ठ्यारोमा पनि महिलाहरु घरायसी काममा व्यस्त हुन्छन । झन् रजस्वला र गर्भावस्थामा उनीहरुको स्वास्थ्य अवस्था निकै कम्जोर भएको हुन्छ । यस्तो अवस्थामा महिलाहरुले विभिन्न योगादि कार्यहरु गरे भने घर परिवारका सदस्यहरुलाई पनि सिकाएर सबैलाई स्वस्थ राख्न सहयोग गर्न सक्छन् । योगासनका माध्यमबाट हाम्रो श्वास प्रश्वासलाई ध्यान दिएर गर्यौं भने हाम्रो शरीरका सम्पूर्ण स-साना कोषहरुमा अक्सिजनको मात्रा पुग्दछ र सम्पूर्ण प्रणालीहरुमा सन्तुलन आउछ र हामी स्वस्थ हुन् सक्छौं ।

किशोरावस्थामा पुगेपछि महिलाहरुमा शारीरिक परिवर्तन आउनुका साथै मासिक रजस्वला प्रक्रिया पनि सुरु हुन थाल्दछ । यस्तो अवस्थामा तल्लो पेट दुख्ने , कम्मर दुख्ने , जिउ लुलो हुने अथवा भारी हुने जस्ता समस्याहरु देखिन्छन् । यस्ता समस्याहरु कम गर्न पनि हामीले केही योगासनहरु गर्न सक्दछौ वा यस्ता पीडाबाट छुट्न पनि हामीले दैनिक रुपमा योगासनहरुको अभ्यास गर्नु पर्दछ ।  यस्ता योगासनहरु त धेरै हुन्छन तर सबै आसनहरु गर्नु पर्दछ भन्ने छैन । आसन गर्दा आफ्नो क्षमता , समय र उपयुक्त विधिलाई ध्यान दिएर गर्नु पर्दछ ्र यसरी योगासन गर्दा हामी शारीरिक र मानसिक स्वस्थता प्राप्त गर्न सक्दछौं ।

रजस्वलाको समयमा गर्न सकिने आसनहरु :

– उभिएर गर्न सकिने आसन : ताडासन

-बसेर गर्न सकिने आसन : सुखासन

– पल्टिएर गर्न सकिने आसनह : मकरासन

– अगाडि झुकेर गरिने आसन : पादहस्तासन

-मोडिएर गर्न सकिने आसन : मर्कटासन

– उत्तानो पल्टिएर गरिने आसन : विपरितकरणी शवासन

महिलाहरुले अर्को भोग्नु पर्ने महत्वपूर्ण अवस्था भनेको गर्भासन हो । यो एउटा महिलाहरुको विशेष अवस्था हो  । जुन बेला शरीरमा आइरहने परिवर्तनले मानसिक एवम् शारीरिक तनाव भइरहेको हुन्छ । त्यस्ता प्रकारका शारीरिक समस्याबाट मुक्त हुन र सहज रुपमा बच्चा जन्माउन तथा आमा र बच्चा दुवैको स्वास्थ्य अवस्थालाई स्वस्थ राख्न पनि केही योगासनहरु अपनाउन सकिन्छ ।

गर्भासनले योगासनको अभ्यास गर्दा सुरुदेखि नै योगाभ्यास गरिरहेको अवस्थामा गर्भावस्थाको सुरुदेखि अन्तिम अवस्थासम्म (४० हप्ता ) सामान्य योगासन गरेर निरन्तरता दिंदा कुनै शारीरिक असहजता आउदैन । योगाभ्यास गर्ने बानी नभएका गर्भवतीहरुले सुरुको ३ महिना सम्म योगासन गर्नु हुंदैन किन भने यो अवस्था निकै नै खतरायुक्त अवस्था मानिन्छ । यस्तो विशेष अवस्थाबाहेक गर्भवती महिलाले थोरैभन्दा थोरै समय निकालेर नियमबद्ध रुपमा निरन्तरता दिएमा बच्चा जन्माउन पनि कुनै सर्जरी नगरी सहज रुपमा बच्चालाई जन्म दिन सकिन्छ ।

– गर्भावस्थामा गर्न सकिने योगासनहरु :

– उभिएर गरिने आसनहरु : बिरभद्रासन ,ताडासन, नटराजासन ।

– बसेर गरिने आसन : पद्मासन, बद्धकोणासन जानुशिरासन ,सुखासन, मर्जरीआसन , पुतलीआसन ।

सुतेर गरिने आसन : मत्स्यासन , भुजंगासन ।

मौरीको रानोको रुपमा रहेको एउटा महिला स्वस्थ भएमा उसले आफ्ना घर परिवारका सबै सदस्यलाई स्वस्थ राख्न सक्छन । हामी महिलाहरुले पनि स्वस्थ रहनका लागि दैनिक रुपमा खान जसरी खान्छौं त्यसरी नै योग अभ्यासमा निरन्तरता दिनु अनिवार्य रहेको छ । यसरी योगाभ्यास गर्दा महिलाको जीवनमा भोग्नु पर्ने रजस्वला, गर्भावस्था जस्ता अन्य समस्याहरु समाधान हुन्छन र पाठेघरको समस्या , पेट दुख्ने , घुंडा खिइने, कम्मर दुख्ने जस्ता धेरै रोगहरुबाट बच्न सकिन्छ । योगासनको अभ्यासले गर्दा धेरै रोगहरुबाट बच्न सकिन्छ । योगासनको अभ्यासमा धेरै आसनहरु गर्नु पर्दछ भन्ने छैन आफ्नो समयको व्यस्थापन गरेर यी आसनहरुलाई नियमबद्ध रुपमा निरन्तर गरेमा गर्भाधान र रजस्वलाको बेला हुने विभिन्न समस्याहरुबाट छुटकारा पाउन सकिन्छ ।

  • २४ असार २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech