क्वारेन्टिन र आइसोलेसन खाली हुँदै

    • स्वास्थ्य पेज

  • १५ असार २०७७, सोमबार

नेपालगन्ज १५, असार ।
बाँकेमा अधिकांश क्वारेन्टिन र आइसोलेशन सेन्टर खाली भएका छन् । ७१ वटा क्वारेन्टिन र नौवटा आइसोलेशन सेन्टर खाली भएको जानकारी जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, जिल्लामा एक सय १४ वटा क्वारेन्टिन र १४ वटा आइसोलेशन सेन्टर थिए । त्यसमध्येमा अहिले ४३ वटा क्वारेन्टिन र पाँचवटा आइसोलेशन सेन्टरमा मात्रै सञ्चालनमा छन् । श्रेष्ठले ४३ वटा क्वारेन्टिनमा ५ सय ९८ जना बसेको जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकामा दुईवटा क्वारेन्टिन रहेकोमा एउटा खाली भएको छ भने महेन्द्र बहुमुखी क्याम्पसमा ६६ जना बसिरहेका छन् । कोहलपुर नगरपालिकामा १३ वटा क्वारेन्टिनमा २ सय २२ जना बसेका छन् । तीनवटा खाली भएको छ । खजुरा गाउँपालिकामा १२ वटा क्वारेन्टिनमा एक सय ३५ जना बसेका छन् । दशवटा क्वारेन्टिन खाली भएको छ । जानकी गाउँपालिकाको आठवटै क्वारेन्टिन खाली भएको छ । बैजनाथ गाउँपालिकामा ११ वटा क्वारेन्टिनमा एक सय ३० जना बसेका छन् । ११ वटा क्वारेन्टिन खाली भएको छ । डुडुवा गाउँपालिकाको एउटा क्वारेन्टिनमा पाँचजना बसेका छन् । सातवटा क्वारेन्टिन खाली भइसकेको छ । नरैनापुर गाउँपालिकाको तीनवटा क्वारेन्टाइनमा ३१ जना बसेका छन् । १४ वटा क्वारेन्टिन खाली भएको छ । राप्तीसोनारी गाउँपालिकामा दुईवटा क्वारेन्टिनमा नौजना बसेका छन् । १६ वटा क्वारेन्टिन खाली भएको छ । जिल्लामा १४ वटा आइसोलेशन सेन्टर बनेका छन् । त्यसमध्येमा नौवटा खाली भएको छ । अहिले आइसोलेशनमा ३३ जना बसिरहेका छन् ।
क्वारेन्टाइनमा बसेकालाई आरडीटी गर्दै घर पठाउने गरिएको छ । आरडीटी जाँच गर्दा पोजिटिभ देखिएकालाई मात्रै पीसीआर जाँच गर्ने गरिएको छ । पीसीआर जाँचमा पोजिटिभ देखिएकालाई पनि १४ दिन आइसोलेशन सेन्टरमा राखेर घर पठाउने गरिएको छ । भारतबाट फर्किने नेपालीको संख्या घटेकाले क्वारेन्टिनमा बस्ने कम भएका छन् । जिल्लामा ३ सय ५२ जना कोरोना संक्रमित भएकोमा ३ सय १७ जना निको भएर घर गइसकेको कोरोनाका फोकलपर्सन श्रेष्ठले जानकारी दिनुभयो । बाँकेमा कोरोनाले दुईजनाको मृत्यु भएको छ ।

  • १५ असार २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech