स्वास्थ्य सामग्री खरिदमा स्वास्थ्यमन्त्री र सल्लाहकारको हात रहेको सांसदहरुको आरोप

    • स्वास्थ्य पेज

  • ८ असार २०७७, सोमबार

काठमाडौं ०८, असार ।
कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सामग्री खरिद कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र सल्लाहकारको भूमिका शंकास्पद देखिएको सांसदहरुले आरोप लगाएका छन्। संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा सांसदहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री, विज्ञ सल्लाहकार र मन्त्रालयका अधिकारीहरुको भूमिका माथि आशंका गर्दै प्रश्न उठाएका छन्।

समितिले सोमबार प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी, स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहसँग स्वास्थ्य सामग्री खरिद कार्यमा भएको अनियमितताका विषयमा छलफल गरेको छ। छलफलमा सांसदहरुले स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूहलाई दिन मन्त्री र विज्ञ सल्लाहकारले गरेको हतारोले पनि अनियमितता भएको स्पस्ट हुने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद विरोध खतिवडाले गत चैत १२ गते दिनभर हतामा बैठक गरेर काम गरेको देखिएकाले मन्त्री र सल्लाहकारलाई आशंका गर्ने ठाउँ देखिएको बताउनुभयो । उहाले १२ गते राति नै बैंकलाई, कम्पनीलाई, समूहलाई पत्राचार गरी काम गरिएको र पछि फेरी ठेक्का नै रोकेर क्यान्सिल गर्ने कार्यले अनियमितता भएको स्पस्ट हुने बताउनुभयो। सांसद खतिवडाले ओम्नी समुहले ल्याएको स्वास्थ्य सामग्रीको गुणस्तर जाँच्नको लागि समेत ३/४ वटा कम्पनीलाई छनौट गरी पत्राचार भएको देखिएको तर ति संस्थाले सामग्रीहरु गुणस्तरीय छ भनेर जवाफ दिएको कतै नभेटिएको बताउनुभयो। नेकपाकै सांसद धर्मशीला चापागाईंले अनियमितताको आरेप आरोपका लागि मात्रै नलगाइएको बताउनुभयो।

उहाँले महामारीका बेला अनियमितता गरेको कुरा आउँदा जनताले राम्रो नसोचेको भन्दै अनियमितता गर्ने छुट कसैलाई नभएको बताउनुभयो। नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले मन्त्रीका सल्लाहकारको भूमिका गअिरो सन्देहपूर्ण देखिएको बताउनुभयो । उहााले मन्त्रीका सल्लाहकारले गरेको निर्णयको जिमेवारी मन्त्रीले नै लिनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले राजन केसीले चैत ९ गते मनोनित भएका सल्लाहकारलाई खरिद प्रक्रियाको संयोजक नियुक्त गर्न नै कानून विपरित भएको बताउनुभयो । उहाँले यहि अनियमितताको विषय बाहिर आउने डरले तत्कालिन सचिव र डिजिलाई सरुवा गरिएको हुनसक्ने आशंका समेत व्यक्त गर्नुभयो ।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले स्वास्थ्य सामग्री खरिद कार्यमा खरिद ऐनको धज्जी उठाएको बताउनुभयो। उहाँले मन्त्रीदेखि सचिव, कानूनी सल्लाहकार, विज्ञ सल्लाहकार सबैको मिलेमतो रहेको बताउनुभयो। स्वास्थ्य सचिव लक्ष्मण अर्यालले आफू भर्खरै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आएकाले खरिद प्रक्रियाको क्रममा भएका गतिविधिका सम्बन्धमा आफुलाई कुनै जानकारी नभएको बताउनुभयो ।

  • ८ असार २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech