द्रुत गतिमा फैलिने नयाँ प्रकारको भाइरसको जोखिममा नेपाल

बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस ७० प्रतिशतभन्दा बढी द्रुत गतिमा सर्नेे अनुसन्धानबाट देखिएको छ । छोटो समयमा धेरैभन्दा धेरै मानिस संक्रमित हुने हुन्छ । बेलायतमा सेप्टेम्बरदेखि सुरु भएको देखिन्छ । संक्रमितमध्ये दुईतिहाइ संक्रमित नयाँ प्रकारको भाइरसबाट भएको भनिएको छ । तीव्र गतिमा फैलिएकाले बेलायतका लागि मात्र होइन, सबै देशका लागि चुनौती र चिन्ताको विषय हो । 


    • दिनेश गौतम

  • १६ पुष २०७७, बिहीबार

बेलायतमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ प्रकार (भेरियन्ट) देखिएको छ । भाइरसको नयाँ प्रकार द्रुत गतिमा फैलिएसँगै धेरै देशले बेलायतमाथि हवाई प्रतिबन्ध लगाएको छ । बेलायतमा लकडाउनसमेत गरिएको छ । बेलायतमा देखिएको नयाँ प्रकारको भाइरसको असर नेपालमा कस्तो पर्छ ? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, डा. पुनसँग शिलापत्रका पत्रकार दिनेश गौतमले गरेको कुराकानीको सम्पादित अंश :

बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस कस्तो हो ?

कोरोना भाइरस आरएनए भाइरस हो । यसलाई नयाँ ‘भेरियन्ट’ पनि भनिन्छ । नयाँ देखिएको भाइरस सुरुमा देखिएको भन्दा फरक हो । अर्थात् भाइरस म्युटेड (उत्परिवर्तन) भएको भनेर बुझ्नुपर्छ । बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस ७० प्रतिशतभन्दा बढी द्रुत गतिमा सर्नेे अनुसन्धानबाट देखिएको छ । छोटो समयमा धेरैभन्दा धेरै मानिस संक्रमित हुने हुन्छ । बेलायतमा सेप्टेम्बरदेखि सुरु भएको देखिन्छ । संक्रमितमध्ये दुईतिहाइ संक्रमित नयाँ प्रकारको भाइरसबाट भएको भनिएको छ । तीव्र गतिमा फैलिएकाले बेलायतका लागि मात्र होइन, सबै देशका लागि चुनौती र चिन्ताको विषय हो ।

भाइरस म्युटेड (उत्परिवर्तन) हुनुको कारण नि ?

भाइरस परिवर्तन भइरहने नै हो । कारण के हो भन्नेबारे अहिले नै भन्न सकिने अवस्था छैन । तर, संक्रमण हुँदा मानिसभित्र नै परिवर्तन भएको त होइन भन्ने प्रश्न उठेको छ । मानिसको इम्युन सिस्टम कमजोर भएका कारण भाइरसमा परिवर्तन भएको हुन सक्छ ।

भाइरस म्युटेड भएको कसरी थाहा पाउने त ?

नेपालमा पनि संक्रमण देखिएको ११ महिना बित्यो । भाइरसको स्थिति के छ, जिन सिक्वेन्सिङ गरेर हेर्नुपर्ने हुन्छ । हाम्रोमा भाइरसको स्थिति के छ ? भाइरसमा कस्तो परिवतर्न भइरहेको छ ? भ्याक्सिनले काम गर्छ कि गर्दैन भनेर हेर्नका लागि जिन सिक्वेन्सिङ गर्नुपर्ने हो । सुरुदेखि नै जिन सिक्वेन्सिङलाई निरन्तरता दिनुपर्छ भन्दै आइएको हो । जिन सिक्वेन्सिङ गरेको भए भ्याक्सिन बनाउनेदेखि रणनीति बनाउनसम्म काम लाग्थ्यो ।

नायाँ भाइरसको असर नेपालमा पर्छ कि पर्दैन ?

अहिले पनि नेपालमा संक्रमण निरन्तर छ । मानिसले बेवास्ता गरेको देखिन्छ । स्वास्थ्यको मापदण्ड पालना गरेको देखिँदैन । भारतमा पनि नयाँ प्रकारको देखिएको शंका छ । भारतमा देखियो भने नेपाल पनि अछुतो रहँदैन । सेप्टेम्बरदेखि बेलायतबाट कति मानिस ओहोरदोहोर गरिसके होलान् ? कहाँकहाँ पुगे होलान् ? नेपालमा पनि बेलायतबाट आएका होलान् । यसमा विशेष ध्यान दिनुपर्ने हुन्छ । नेपालको विमानस्थल खोलिएको छ । विमानस्थल व्यवस्थित गरेन भने गाह्रो दिन आउँछ ।

नयाँ भाइरसमा लक्षण देखिन्छ कि देखिँदैन ?

सुरुको चरणमा लक्षण नदेखिने र पछि लक्षण देखिने देखिएको थियो । त्यसैले पहिले नै भाइरसमा उत्परिवर्तन भएको त होइन भन्ने प्रश्न नउठेको होइन । कतै मौसममा आएको परिवर्तन वा भाइरस आफैँ परिवर्तन भएको यो अनुसन्धानको विषय हो । तर, प्राकृतिक रूपमा नै आरएनए भाइरस हरेक महिना समयअनुसार म्युटेसन भएको अनुसन्धानले पनि देखाएको छ । नेपालमा भाइरस रैथाने भएर घुमिरहँदा के भएको छ ? लक्षण देखिएको छ छैन ? यी सबै हेर्नुपर्नेे हुन्छ ।

नयाँ प्रकारको भाइरस नेपालमा देखियो भने सामना गर्न सकिन्छ त ?

सुरुमै व्यवस्थापन गर्न कठिन भएको थियो । नयाँ भाइरस आयो भने व्यवस्थापन गर्न गाह्रो पर्छ । त्यसैले पहिले कहाँ कमी भयो ? अब के गर्ने ? त्यो हेरेर व्यवस्थापनको काम अगाडि बढाउनुपर्छ । नागरिकको तर्फबाट पनि उत्तिकै भूमिका हुन्छ । अब भाइरस छैन । भाइरस सकियो भन्ने सोच्नु भएन । मुख्य कुरा जनस्वास्थ्यको मापदण्ड पालना नै हो । मास्क लगाउने, हात धुने, दूरी कायम गर्ने, परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउनैपर्छ ।

कतिपय खोप अन्तिम चरणमा पुगेका छन् । नयाँ प्रकारको भाइरस देखिएपछि खोपमा असर पर्छ कि पर्दैन ?

जसलाई टार्गेट गरेर खोप बनाएको हो, त्यसमा समस्या आउने हो कि भन्ने छ । वैज्ञानिहरूलाई पनि यही विषयको चिन्ता हो । फ्लू भाइरसमा वर्षेनि खोप लगाएको हुन्छ । यसले पनि शतप्रतिशत काम गरेको हुँदैन । फ्लूको भाइरस पनि परिवर्तन भइरहन्छ । तर, कोरोना भाइरस र फ्लू फरक हो । हरेक समयमा फ्लूको खोपमा कम्पोनेन्ट परिवर्तन गरिएको हुन्छ । कोरोना भाइरसमा परिवर्तन भइरहयो भने भ्याक्सिनलाई चुनौती दिने त होइन भन्ने छ ।

एकातिर कोरोनाको महामारी छ । अर्कोतिर सरकारले चुनावको घोषणा गरेको छ, यसले कस्तो असर पर्छ ?

पछिल्ला दिनमा राजनीतिक सरगर्मी बढेको छ । सरकारले चुनाव गर्ने भनेको छ । यो चुनावका लागि उपयुक्त समय होइन । कोरोना संक्रमण कम भएको देखिए पनि माथि उकालो लाग्ने जोखिम उत्तिकै छ । भ्याक्सिनले उत्साहित त बनाएको छ । तर, हाम्रो घरदैलोमा कहिले आउने हो, थाहा छैन । बेलायतमा देखिएको भाइरस नेपालमा पनि नआइपुग्ला भन्न सकिन्न । यो समयमा कोरोना नियन्त्रण र व्यवस्थापनमै ध्यान दिनुपर्छ ।

  • १६ पुष २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech