कोरोना संक्रमणबाट बाँकेमा सैनिकका बुवासहित तीनजनाको मृत्यु

बाँकेमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।


    • स्वास्थ्य पेज

  • १५ पुष २०७७, बुधबार

तस्विरः फाइल

नेपालगन्ज १५, पुष ।
कोरोना भाइरस संक्रमणबाट उपचारका क्रममा बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । दुईजना बाँकेकै हुन भने एकजना बर्दियाको भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका सूचना अधिकारी तेज वलीले जानकारी दिनुभयो ।

भेरी अस्पताल नेपालगन्जमा दुई जना र एकजनाको सैनिक अस्पताल नेपालगन्जमा मृत्यु भएको सूचना अधिकारी वलीले बताउनुभयो । सैनिक अस्पतालमा नेपालगन्ज उपमहानगरपालिका-२० राँझाका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि ती पुरुषको गएको सात गते भेरी अस्पतालमा कोभिड परीक्षण गरिएको थियो । उनको आठ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

उनलाई त्यसैदिन सैनिक अस्पतालमा भर्ना गरेर रोगको प्रकृति अनुसार उपचार सुरु गरिएको थियो । तर विरामीको अवस्थामा सुधार नआएपछि आज विहान ६ः ३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी सैनिक जवानका वुवा भएको खुलेको छ ।

यस्तै भेरी अस्पतालमा उपचारका क्रममा कोहलपुर नगरपालिका-२ का ७३ वर्र्षीय पुरुषको मंगलवार राती मृत्यु भएको छ । पाँच गते कोरोना पुष्टि भएका ती पुरुषको उपचारका क्रममा राती १०ः२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना पुष्टि भएलगत्तै उनलाईनेपालगन्ज मेडिकल कलेज कोहलपुरको कोभिड आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । तर स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई त्यहाँबाट रिफर गरेर भेरी अस्पताल पठाइएको थियो । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।

यस्तै भेरी अस्पतालमै उपचारका क्रममा बर्दिया ठाकुरबाबा नगरपालिका-९ की ८५ वर्षीया महिलाको पनि मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि ती महिला १२ गते अस्पताल भर्ना भएकी थिइन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको त्यसैदिन पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो ।

रोगको प्रकृति अनुसार सबै प्रकारको उपचार गर्दा गर्दै उनको गएराती १०ः २५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ७७ जनाको मृत्यु भएको छ ।

  • १५ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech