चिसोमा बालबालिका र बृद्धबृद्धालाई बढी केयर गर्न चिकित्सकहरुको सुझाव

चिसोको समयमा विशेषतः बालबालिका तथा बृद्धबृद्धाहरु बिरामी हुने दर ह्वात्तै बढ्ने गर्छ ।


    • स्वास्थ्य पेज

  • १२ पुष २०७७, आईतवार

डा संकेत रिसाल

नेपालगन्ज १२, पुष ।
न्यूनतम तापक्रम झर्दै गएपछि चिसो बढ्नेक्रममा छ । चिसोको समयमा विशेषतः बालबालिका तथा बृद्धबृद्धाहरु बिरामी हुने दर ह्वात्तै बढ्ने गर्छ । भेरी अस्पताल नेपालगन्जका बरिष्ठ फिजिसियन डा संकेत रिसालका अनुसार मुख्यगरी बालबालिकामा निमोनिया, रुघाखोकी जस्ता समस्या देखापर्छन् । बृद्धबृद्धालाई

फोक्सोको संक्रमण र श्वास प्रस्वासको समस्या देखिन सक्छ । प्राय सबै उमेरका नागरिकलाई हृदयघात तथा रुघाखोकीको समस्या हुने गरेको छ । रुघाखोकीको मुख्य कारण भनेको भाइरल संक्रमणनै मानिन्छ ।

चिसोको समयमा श्वासप्रश्वासको वृद्धवृद्धाहरुको लागि निकै ठूलो समस्या हो । चिसोको कारण हल्का काम गर्दा पनि दम बढ्छ । धेरै दम बढेमा त्यसले मुटुमा पनि असर गर्ने र मुटुको समस्या पनि थपिने बताइन्छ । यस खालको कुनै समस्या देखिए तत्काल चिकित्सकसँग परामर्श गर्नु जरुरी हुन्छ । यो समयमा शरीरलाई न्यानो राख्दा संक्रमणबाट बच्न सकिने डा रिसालको सुझाव छ ।

यस्तै निमोनिया मानिसको छातीमा हुने एक प्रकारको संक्रमण हो । यो रोग बालबालिका र बृद्धाबृद्धमा बढी देखिन्छ । अन्य समयमा पनि हुने निमोनिया चिसोको समयमा बढी हुने गरेको पाईन्छ । यो समयमा निमोनिया भएका व्यक्ति ,बालबालिका र बृद्धबृद्धाहरुलाई बढीमात्रमा ध्यान दिनु पर्ने हुन्छ । अझ योपालिका कोरोना भाइरस संक्रमणको समेत महामारी कायमै रहेकाले श्वासप्रश्वासमा समस्या देखिए तत्काल नजिकैको अस्पतालमा जान उहाँको सुझाव छ ।

चिसो याममा उच्चरक्तचाप भएकाहरु बढी सचेतक रहनुपर्ने हुन्छ । मुटुरोग विषेशज्ञहरुको अनुसार चिसो मौसममा उच्च कोलेस्टारल, उच्चरक्तचाप बढ्ने हुन्छ । यो समयमा सामान्य रक्तचाप भएपनि रक्तचाप तलमाथि भईरहने हुन्छ । उच्चरक्तचाप भएका व्यक्तिले रक्तचाप नियमित जाँच गर्नुपर्ने हुन्छ ।

चिकित्सकहरुको भनाई अनुसार चिसोको समयमा भाइरल फ्लु लागेका मानिसहरुबाट टाढा रहनु पर्छ । जाडोमा झोलिलो र तातो खानेकुरा खानाले स्वास्थ्यलाई बढी फाइदा हुन्छ । घरबाट बाहिर निस्कन परे शरिर छोप्ने कपडा लगाउन पनि चिकित्सकहरुको सुझाव छ ।

 

  • १२ पुष २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech