दादको उपचार कहाँ गराउने ?

कुनै पनि रोगको सहि उपचार हुन सहि निदान (Diagnosis), सहि औषधि, सहि मात्रामा सहि आबश्यक अवधिसम्म प्रयोग गर्नुपर्छ । छालामा जे आए पनि ‘दाद’ भन्ने चलन र आफै डाक्टर बन्ने चलनले गर्दा ढुसीले गराउने पैसे दादहरूको उपचार दिनप्रतिदिन चुनौतिपुर्ण बन्दै गइरहेको छ ।


    • डा बद्री चापागाई

  • ११ पुष २०७७, शनिबार

अघिल्लो लेखमा हामीहरूले दाद भनेको के हो, उकुच/एक्जिमाले गराउने भैंसे दाद र ढुसीको संक्रमणबाट  हुने पैसे दादको बारेमा परिचय र त्यसका प्रकारको बारेमा चर्चा गर्यौं । यस लेखमा पैसे दादको उपचार, यसको उपचार किन चुनौतिपुर्ण बन्दै गइरहेको छ र गलत उपचार गर्दा हुन सक्ने हानीको बारेमा चर्चा गर्नेछौं । 

 

दादको उपचार कहाँ गराउने ?

हामीकहाँ छालारोगको उपचारमा हेल्चक्र्याँइ गर्ने बानी छ ।’जाबो दादको लागि  पनि किन डाक्टरलाई के देखाउनु पर्यो ?’ भनेर आफुखुसी औषधि पसलहरूबाट मलम मागेर लगाउने चलन, चिकित्सकलाई जचाँउन लाज मान्ने परिपाटीले गर्दा बिरामीहरू गलत औषधि प्रयोग गरिरहेको भेटिन्छ ।

यसो गर्दा एक त रोग फैलिने, औषधिहरूले काम नगर्ने तथा छालामा बिभिन्न प्रकारका साइड एफेक्टहरू देखा पर्ने हुन्छ । आफुखुसी औषधिको प्रयोग गर्दा ‘गाग्राको पैसा घैंटाले खान्छ’ भने झै पटक पटकको औषधी र मलम खरिदमा विशेषज्ञ चिकित्सकलाई देखाएर औषधि गर्नु भन्दा धेरै महँगो पर्न गैसकेको हुन्छ ।  

नेपालगंज आसपासको क्षेत्रमा विभिनन्न छाला रोग विशेषज्ञहरु हुनुहुन्छ । भेरी अस्पताल, नर्सिङ होम – नेपालगंज तथा कोहलपुर मेडिकल कलेज, कोहलपुरमा अनुभवी छालारोग विशेषज्ञहरू कार्यरत हुनुहुन्छ । वहाँहरूसँग परामर्श गरेर उपचार गराउँदा आफ्नो रोगको सहि पहिचान त हुन्छ नै, गलत औषधिको प्रयोगबाट हुने आर्थिक भार तथा शारिरिक साइड इफेक्टबाट पनि जोगिन सकिन्छ । 

हेलच्क्र्याँइ कसरी भैरहेको छ ?

कुनै पनि रोगको सहि उपचार हुन सहि निदान (Diagnosis), सहि औषधि, सहि मात्रामा सहि आबश्यक अवधिसम्म प्रयोग गर्नुपर्छ । छालामा जे आए पनि ‘दाद’ भन्ने चलन र आफै डाक्टर बन्ने चलनले गर्दा ढुसीले गराउने पैसे दादहरूको उपचार दिनप्रतिदिन चुनौतिपुर्ण बन्दै गइरहेको छ ।

पैसे दाद ढुसीले गराउने हुँदा यसमा Antifungal औषधिहरू मात्र प्रयोग गर्नुपर्छ । बजारमा आमरूमा चलनचल्तीमा रहेका दादका ‘रामवाण’ भनिने मलमहरू विभिन्न औषधिका खिचडी हुन । यस्ता मलममा ढुसीनाशक (Antifungal), ब्याक्टेरिया मार्ने औषधि (Antibiotics) र छालाको सुन्निने प्रकृया कम गराउने (Corticosteroids) हरूको मिश्रण हुन्छ। यी मध्ये सबैभन्दा धेरै हानी Topical Corticosteroids हरूले गर्छन् ।यस्ता मिश्रित खाले मलमहरूका बजारमा उपलब्ध ब्रान्डहरूमा Sonaderm, Quadriderm, Cloben-G, Eclospan, Castor-NF, Clobate-GM, Miclogenta, Topderm, Clobate-GM, Cloderm-GM, Beclotime आदि धेरै प्रयोग गरिएको पाइन्छ ।

यस्ता मिश्रण मलमहरूको पैसे दादमा लगाउँदा Steoids (Clobetasol, Beclomethasone) ढुसीको बिरुद्धमा शरीरको प्रतिक्रिया कम गरेर रातोपना र चिलाउने लक्षणमा तत्कालिन रुपमा चामत्कारिक सुधार ल्याए पनि केहि दिनमा पहिलेको भन्दा झन ठूलो घेरा देखा पर्छ। यी केमिकलले लाक्षणिक राहत मात्र दिने हुन, किटाणुलाई मार्न दिन्नन।

अझ भनौं यस्ता खिचडी मलम लगाउनु भनेको आगो निभाउनको निम्ति एकातिरबाट पानी खन्याए जस्तो हो भने अर्को तिरबाट त्यसमा पेट्रोले छर्के जस्तो हो । यसो गर्दा आगो निभ्ने संभावनै रहँदैन । बरु ढुसीका जिवाणुहरूमा औषधि बिरुद्धको प्रतिरोधात्मक क्षमता (Antimicrobial Resistance) बिकास हुन्छ। अत: मलमको मात्र प्रयोग गरे निको हुने सामान्य किसिमका दादमा खाने औषधि प्रयोग गर्नुपर्ने र सामान्य खाले खाने औषधि प्रयोग गरे हुने किसिमका दादमा महँगा र कडा खाले खाने औषधि (Oral Antifungals) प्रयोग गर्नुपर्ने अवस्था  सृजना भएको छ । 

कडा औषधिको प्रयोग गर्दा तिसँग हुने साइड इफेक्टको समस्या एकातिर छ भने त्योसँग बढ्ने आर्थिक बोझको पाटो पनि विकराल हुँदै गइरहेको छ ।

गलत उपचारका जोखिमहरू

‘डाक्टरकोमा गयो भने फोकटमा औषधि भिडाउँछन्, Derobin वा जालिम लोसन लगाउनु, दादको रामवाण हुन्छ’ । साथिभाइहरू बिचको छलफलमा धेरै सुनिने विचार हो यो  । हुन त यी क्रिम/लोसनको पनि आफ्नै उपयोगिता होला, तर  मनपरि यस्ता क्रिम/लोसन लगाउँदा हुने जोखिम माथिका फोटामा देखाइएको छ । काछ वा स्तनको मुनी यस्ता औषधि लगाउँदा त्यसले छाला जलाइदिन सक्छ । यसले गर्दा बिरामीलाई निकै पीडा त हुन्छ नै उपचारको लागत पनि बढ्न पुग्छ भने छालामा स्थायी  किसिमको दाग समेत हुन सक्छ । 

Triple Combination (खिचडी औषधि) को प्रयोगले  अनुहारमा रौं बढ्ने, डन्डीफोर आउने, छाला पातलो हुने, घाममा जाँदा धेरै रातो हुने वा पोल्ने र दादको स्वरुमा परिवर्तन भएर निदान गर्न गाह्रो हुने हुन सक्छ । 


दादको गलत औषधिको मनपरि प्रयोगले  छाला च्यातिएको अवस्था (Striae atrophicans)

निको हुन किन गाह्रो त ?

माथि  नै चर्चा गरियो, गलत औषधिको मननपरि प्रयोगले जिवाणुहरुमा औषधिको बिरुद्ध प्रतिरोधात्मक क्षमता बिकास हुँदै गइरहेको छ । हिजो सामान्य धुप बाल्दा भाग्ने लामखुट्टेलाई अचेल तिनै धुपले छुन्न । तरकारीमा हिजो सामान्य विषादी प्रयोग गर्दा पनि मर्ने किरा फट्यांग्राहरू मार्न आज निकै कडा विषादी प्रयोग गर्नु पर्ने भएको छ । पैसे दादको उपचार पनि यस्तै समस्या देखिन थालेको छ ।

औषधिको पुरा कोर्ष नखाने, सिमावर्ती गाउँहरूमा ‘झोला छाप’ डाक्टरहरुबाट गलत उपचार लिने र मेडिकलहरूबाट मनपरि  मलम लगाउनु औषधि बिरुद्ध जीवाणुमा प्रतिरोधात्मक क्षमता बिकास हुनुका प्रमुख कारण हुन् । साथै समय अनुसार कुन औषधि प्रभावकारी भैरहेको छ भन्ने जानकारी राख्नु आबश्यक हुन्छ । बिदेशमा ‘कल्चर र सेन्सिटिभिटी’ गरेर  जिवाणु  अनुसार औषधि लेख्ने गरिन्छ तर हामीकहाँ त्यो सुविधा उपलब्ध छैन ।

अत: चिकित्सकको अनुभव आधारमा यो निर्क्यौल गर्ने गरिन्छ । लामो अवधिको उपचार गर्नु चिकित्सकको रहर भन्दा पनि रोग अनुसारको वाध्यता हो । उपचारको खर्च बढ्नुमा केहि हदसम्म हाम्रै आफ्नै हेल्चक्र्याँइ नै जिम्मेवार छ । भनिन्छ नि –  A stitch in time saves nine अर्थात उध्रेको लुगा बेलैमा सिलायो भने केहि टाँकाले नै पुग्छ, यदि पुरै च्यातियो भने धेरै सिलाउनु पर्छ । 

 


Nabintech