स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै नमुना बन्दै डुडुवा गाउँपालिका

७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउन ज्येष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम सुरु गर्दैछ । खास ६५ वर्षमाथिकै ज्येष्ठ नागरिकलाई लक्षित गरि यो कार्यक्रम सुरु गरिएको भएपनि तत्कालिन अवस्थामा ७५ वर्षमाथिका नागरिकलाई लक्षित गरि यो कार्यक्रम सुरु गर्न लागिएको छ ।


    • स्वास्थ्य पेज

  • ८ पुष २०७७, बुधबार

नेपालगन्ज ८, पुष ।
बाँकेको डुडुवा गाउँपालिका स्वास्थ्य सेवा प्रवाहका दृष्टिकोणले जिल्लाकै नमुना पालिका बन्दै गएको छ । यो पालिकाले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिएको छ । स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले पालिका आफैले दुई वटा स्वास्थ्य इकाइ स्थापना गरेको छ ।

६ वटा वडा रहेको यो पालिकामा ५ वटा स्वास्थ्य संस्था र एउटा आधारभूत स्वास्थ्य सेवा केन्द्र रहेका छन् । वडा नं. १ को पाजा र वडा नं.५ को डलैपुरमा स्वास्थ्य इकाइ स्थापना गरिएको हो । उक्त इकाइमा नर्सिङस्टाफ, अहेव र कार्यालय सहयोगी गरी तीन जना छन् । यहाँका स्थानीयलाई केन्द्रबाट स्वास्थ्य सेवा लिन अपायक परेपछि त्यही नै स्वास्थ्यकर्मी खटाएर स्वास्थ्य इकाइ स्थापना गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिनुभयो ।

यो पालिकाको अभियान नै छ घरघरमा स्वास्थ्य भन्ने रहेको छ । यहाँका स्वास्थ्यकर्मीहरु घरघरमै नागरिकको स्वास्थ्य अवस्था बुझ्न जानेका छन् । स्वास्थ्य संस्थाले सरकारले तोकेका ३७ देखि ४२ प्रकारका औषधि निशुल्क त वितरण गर्छन् नै । तर पालिका आफ्नै लगानीमा ७७ प्रकारका औषधि नागरिकलाई निशुल्क दिने गरेको छ । डुडुवा गाउँपालिकामा तीन वटा प्रयोगशाला समेत स्थापना गरिएको छ ।

यी प्रयोगशालाबाट नागरिकहरुले अहिले निशुल्क सेवा लिइरहेका छन् । हिरमिनिया, वेतहनी र कम्दीमा प्रयोगशाला स्थापना गरिएको हो । पालिकासँग आफ्नै एम्वुलेन्स छ । अर्को एम्वुलेन्स थप्ने तयारी भइरहेको छ । ज्येष्ठ र गर्भवतिहरुले निशुल्क एम्वुलेन्स सेवा पाएका छन् ।

यहाँका स्वास्थ्य संस्थाले गम्भीर खाले विरामीलाई नेपालगन्ज रिफर गर्ने गरेका छन् । त्यहाँबाट विरामी आएपछि त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी अहेव मनोन करौतीलाई दिइएको छ । ‘गाउँपालिकाबाट आउने विरामीले सहज तरिकाबाट सेवा पाउन भनेर नेपालगन्जमा पनि सेन्टर बनाइएको हो उहाँले भन्नुभयो–‘मनोज जीले त्यसको सहजिकरण गर्नु हुन्छ ।’ यहाँ चेकजाँच गरिसकेपछि चिकित्सकले लेखिदिइको औषधि पालिका आफैले उपलब्ध समेत गराउने गरेको उहाँले बताउनुभयो ।

ज्येष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष

७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउन ज्येष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम माघबाट सुरु हुँदैछ ।  खास ६५ वर्षमाथिकै ज्येष्ठ नागरिकलाई लक्षित गरि यो कार्यक्रम सुरु गरिने एपनि तत्कालिन अवस्थामा ७५ वर्षमाथिका नागरिकलाई लक्षित गरिएको छ ।

यो पालिकामा ७५ वर्ष माथिका ८ सय २५ जना छन् । तीमध्ये एकजना १ सय १२ वर्षका छन् भने तीन जना १ सय ५ र दुई जना १ सय ४ वर्ष उमेर समूहका छन् । उनीहरुको स्वास्थ्य अवस्थाबारे बुझ्ने, औषधि उपचार दिने र काउन्सिलिङ गर्नका लागि अहेव र नर्सिङ स्टाफ घर–घर जाने छन् ।

एउटा वडामा तीन–तीन जना खटाइने छ । ‘यस्तो अवस्थामा उनीहरुलाई मनोसामाजिक परामर्श निकै आवश्यक पर्छ, पालिकाका स्वास्थ्य शाखा प्रमुख भन्नुहुन्छ–‘स्वास्थ्यकर्मी घरघरमै पुगेका उहाँ (ज्येष्ठ) नागरिकहरुलाई परामर्श दिनु हुनेछ ।’ ज्येष्ठ नागरिकका लागि २४ सैं घण्टा स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । उनीहरुलाई पोषणयुक्त हर्लिक्स, चेवनप्रास, सर्वतपिठोसमेत पालिकाले दिने गरेको छ ।

३७ हजार स्वास्थ्य कार्ड बाँडियो
योपालिकाले अहिलेसम्म करिव ३७ हजार स्वास्थ्य कार्ड बाँडेको छ । स्वास्थ्यमा सबै पहुँच सुनिश्चित गर्न र स्वास्थ्य सेवा प्रवाहमा सहजता होस् भन्ने उद्देश्यले पालिकाले स्वास्थ्य कार्ड वितरण गरिरहेको हो । अझै २४ हजारको हाराहारीमा स्वास्थ्य कार्ड बाँड्ने तयारी पालिकाको छ । स्वास्थ्य कार्ड बनाउँदा पैसा लाग्दैन् । स्वास्थ्य कार्डप्रति प्रेरित गर्न पालिकाले स्वास्थ्य कार्ड लिनेलाई मात्रै स्वास्थ्य सेवा निशुल्क दिने तयारी गरेको छ ।

 

 

 

 

  • ८ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech