कोरोना बीमा वापतको भुक्तानी लिनेको संख्या १४ हजार नाघ्यो

सोमबार साँझसम्म १४ हजार १८४ जनालाई १ अर्ब ३८ करोड ४८ लाख ७५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।


    • स्वास्थ्य पेज

  • ८ पुष २०७७, बुधबार

काठमाडौं ८, पुष ।
कोरोना बीमा वापतको रकम लिने संक्रमितहरुको संख्या १४ हजार नाघेको छ । बीमा समितिका अध्यक्ष राजुरमण पौडेलका अनुसार सोमबार साँझसम्म १४ हजार १८४ जनालाई १ अर्ब ३८ करोड ४८ लाख ७५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।

थप २ हजार ५२१ जना भुक्तानी पाउने प्रक्रियामा छन् । ३ हजार १११ जनाको फाइल भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) स्वीकृत हुने प्रक्रियामा छ । बिमक संघका अनुसार, ती फाइल आउनासाथ थप १ हजार ५५० जनाको फाइल ईडीसीडी पठाउने तयारी छ ।

बीमा कम्पनीहरुले निजी ल्याबका परीक्षण रिपोर्टहरु रुजु गर्न ईडीसीडी पठाउने गरेका छन् । रिपोर्ट सही भएको प्रमाणित भएर आएपछि कम्पनीहरुले भुक्तानी प्रक्रिया अघि बढाउँछन् । श्वास्थ्य मन्त्रालय मातहतका ल्याबमा गरिएको परीक्षण भने रुजु गराउन पर्दैन ।

तुलनात्मक हिसाबले भुक्तानी दर बढेपनि भुक्तानी नपाउनेको संख्या ठूलो छ । आवश्यक सबै कागजात बुझाएर पनि भुक्तानी नपाउनेको संख्या १२ हजार ४१३ छ ।  कोरोना बीमा रकमका लागि दावी पेश गरेका ७४ जनाले भने रकम नपाउने भएका छन् । बिमक संघका अनुसार, कसैको दोहोरो दाबी परेको र कतिपय मापदण्डसमेत नपुगेको कारण उनीहरुले भुक्तानी नपाउने भएका हुन् ।

दुई कम्पनीमा बीमा गरेको भए पनि कुनै एक कम्पनीबाट मात्रै भुक्तानी पाइन्छ । कतिपयले दुई कम्पनीमा बीमा गरेर दुबैतिर दावी पेश गरेको भेटिएको बिमक संघले जनाएको छ । संघका अनुसार, बीमा गरेको १५ दिनपछि कोरोना लागेको अवस्थामा मात्रै कोरोना बीमा दावी गर्न सकिने व्यवस्था छ । कतिपयले यो मापदण्ड पनि पूरा नगरेको संघको भनाइ छ ।

बिमक संघका अनुसार १ हजार ८९२ जनाले कागजात पूरा नगरी दाबी प्रस्तुत गरेको पाइएको छ । त्यस्ता फाइल सम्बन्धीत कम्पनीमा फर्काइएको संघले जनाएको छ ।

 

  • ८ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech