प्रदेश एकमा १०० शैय्याको विशिष्टीकृत कोभिड अस्पताल संचालनमा

पछिल्लो समय लक्षणसहितका संक्रमितहरु बढ्दै गइरहेकाले एकीकृत उपचारको आवश्यकतालाई महसुस गर्दै आईसीयु, भेन्टिलेटर र अक्सिजन लगायतका आवश्यक स्वास्थ्य पूर्वाधारसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो।


    • स्वास्थ्य पेज

  • ६ पुष २०७७, सोमबार

विराटनगर ६, पुष ।
लक्षणसहितका कोरोना संक्रमितको उपचारका लागि प्रदेश १ सरकारले विस्तार गरिरहेको थप १ सय शैय्याको विशिष्टीकृत कोभिड अस्पताल सञ्चालनमा आएको छ । विराटनगर–१० स्थित कोभिड–१९ उपचार केन्द्रको पछाडि उत्तरपट्टीको खाली संरचनामा विस्तारित कोभिड अस्पताल सञ्चालनमा आएको हो ।

प्रदेश सरकार र नागरिक केयर सेन्टरको कुल ९ करोड रूपैयाँ लगानीमा अस्पताल संचालनमा आएको हो । पछिल्लो समय लक्षणसहितका संक्रमितहरु बढ्दै गइरहेकाले एकीकृत उपचारको आवश्यकतालाई महसुस गर्दै आईसीयु, भेन्टिलेटर र अक्सिजन लगायतका आवश्यक स्वास्थ्य पूर्वाधारसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको नागरिक केयर सेन्टर कार्यकारिणी समितिका अध्यक्ष पवन शारडाले बताउनुभयो ।

अस्पतालमा लक्षणसहितका संक्रमितहरुको उपचारका लागि ३५ वटा एच.डी.यु बेड, ६५ वटा जनरल आईसीयु बेड, ४ वटा क्यानुला सिस्टम, ८० वटा पेसन्ट मोनिटर, ७५ वटा फाइभ फङसन इलेक्ट्रीक बेड, ४ वटा इसीजी, ६ वटा पोर्टेबल भेन्टिलेटर र ३ वटा सक्सन मेसिनलगायतका आवश्यक स्वास्थ्य पूर्वाधारहरू जडान गरिएको छ ।

यसबाहेक हालको कोभिड अस्पताल पछाडि दक्षिणपट्टीको खाली संरचनामा पनि थप १ सय शैय्याको कोभिड अस्पताल विस्तार गरिने योजना रहेको प्रदेश सरकारले जनाएको छ । स्वीस सरकारबाट ४ करोडको सहयोगमा दक्षिणतर्फको संरचनामा पनि थप १ सय शैय्याको कोभिड अस्पताल विस्तार गरिने प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।

हाल प्रदेश सरकारद्धारा सञ्चालित कोभिड अस्पताल २ सय बेड क्षमताको भएको छ । आगामी २ महिनाभित्र थप १ सय शैय्या विस्तार गरेर कुल ३ सय शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याउने प्रदेश सरकारको योजना छ ।

  • ६ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech