कान्ति अस्पतालमा एमआइएस-सीबाट १३ वर्षीय बालकको मृत्यु

कोरोना भाइरस संक्रमणमुक्त भएर पनि लामो समयसम्म ज्वरो आउने, आँखा र जिब्रो रातो हुने, झाडापखाला लाग्ने, टाउको दुख्ने तथा छालामा खटिरा आउने जस्ता समस्या देखिन थालेमा एमआइएस सी को लक्षण सम्झिनुपर्छ ।


    • स्वास्थ्य पेज

  • ६ पुष २०७७, सोमबार

काठमाडौं ६, पुष
‘मल्टिस्टिम इन्फ्लेमेटोरी सिन्ड्रोम (एमआइएस-सी)बाट नेपालमा एकजना बालकको ज्यान गएको छ । काठमाडौंको कान्ति बाल अस्पतालमा ४ दिनअघि ती बालकको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

कोरोना संक्रमण भई निको भएका ती बालकमा एमआइएस-सीको समस्या देखिएको कान्ति बाल अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार १३ वर्षीय ती बालकमा श्वासप्रश्वासमा समस्या थियो भने मुटुले रगत प्रवाह गर्न नसक्ने अवस्थामा अस्पताल ल्याइएका थिए ।

‘सम्भवत नेपालमा एमआइएस-सीका कारण मृत्यु हुने यो पहिलो बालबालिकाको केस भएको डा पौडेलको भनाइ छ । कान्ति अस्पतालमा उपचार गर्न आएका अन्य ५ बालबालिकामा पनि एमआइएस-सीको लक्षण देखिएको थियो । कोरोना भाइरससंगै जोडिएर आएको यो रोग किन लाग्छ भन्ने यकीन नभएको डा पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कान्तिमा उपचारका लागि आएका २ देखि १३ वर्ष उमेरका बालबालिकालाई यस्तो जटिलता देखिएको छ । कोरोना भाइरस संक्रमणमुक्त भएर पनि लामो समयसम्म ज्वरो आउने, आँखा र जिब्रो रातो हुने, झाडापखाला लाग्ने, टाउको दुख्ने तथा छालामा खटिरा आउने जस्ता समस्या देखिन थालेमा एमआइएस सी को लक्षण सम्झिनुपर्छ ।

डा पौडेलले अस्पतालमा आएकामध्ये दुई बच्चामा उच्च ज्वरो, एकमा रक्तअल्पता, हार्ट फेलियर, श्वास प्रश्वासमा समस्या रहेको बताउनुभयो । उहाँका अनुसार १ जना बालक अहिले उपचारमा रहेका छन् भने ३ जनालाई उपचारपछि घर पठाइएको छ ।

  • ६ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech