फागुन मसान्तभित्र बाँकेलाई पूर्ण खोप जिल्ला घोषणाको प्रतिबद्धता

२५५६ बालबालिका खोपबाट बञ्चित, खोपमा राज्यको लगानी ५५ प्रतिशत खेर


    • प्रियास्मृति ढकाल

  • ६ पुष २०७७, सोमबार

नेपालगन्ज ६, पुष ।

फागुन मसान्तभित्र बाँकेलाई पूर्ण खोप जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । लुम्बिनी प्रदेशका अधिकांश जिल्ला पूर्ण खोप सुरक्षित जिल्ला घोषणा भइसकेको अवस्थामा बाँकेलाई पनि तत्काल पूर्ण खोप सुरक्षित जिल्ला बनाउन सम्बद्ध सरोकारवालाहरुलाई नैतिक दवाव छ ।

जिल्लालाई पूर्ण खोप सुरक्षित जिल्ला घोषणा तथा दीगोपना योजना तयारी सम्बन्धि सोमवार नेपालगन्जमा आयोजित पालिकाका प्रमुख, प्रशासकिय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुखबीचको अभिमुखिकरण कार्यक्रममा फागुन मसान्तभित्र जिल्लालाई पूर्ण खोप सुरक्षित घोषणा गर्ने प्रतिबद्धता गरिएको हो ।

लुम्बिनी प्रदेशका चार जिल्ला अहिलेसम्म पूर्ण खोप सुरक्षित छैनन् । यसरी पूर्ण खोप सुरक्षित नहुने जिल्लाको सूचिमा बाँकेसहित बर्दिया, रुकुम पूर्व र कपिलबस्तु छन् । स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माका अनुसार, जिल्लालाई पूर्ण खोप सुरक्षित घोषणाका लागि सबै एक ढिक्का भएर प्रतिबद्धता जनाउनुभएको छ ।

बाँकेमा २५५६ बालबालिका खोपबाट बञ्चित
स्वास्थ्य कार्यालय बाँकेका अनुसार, जिल्लामा ठूलो संख्यामा बालबालिका खोपबाट बञ्चित रहेको पाइएको छ । जिल्लामा पाँच वर्ष मुनिका बालबालिकाको संख्या ६१ हजार ८ सय ३२ रहेको छ । त्यसमा २ हजार ५ सय ५६ जना बालबालिका नियमित खोपबाट बञ्चित भएका छन् । सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकामा १ हजार ४० जना बालबालिका खोपबाट बञ्चित भएको पाइएको छ ।

सबैभन्दा कम जानकी गाउँपालिकामा २९ जना बालबालिकामात्र खोप भन्दा बाहिर रहेको खोप अधिकृत शर्माले बताउनुभयो । नरैनापुरमा ३ सय ५६ जना, डुडुवा गाउँपालिकामा ३ ससय ३८, कोहलपुर नगरपालिकामा २ सय ९३ जना, खजुरा गाउँपालिकामा २ सय ४७, राप्तीसोनारीमा १ सय ८९ र बैजनाथ गाउँपालिकामा ९४ जना बालबालिका खोपबाट बञ्चि रहेको पाइएको छ ।

खोपले दैनिक २ बालबालिकाको ज्यान जोगाउन सकिन्छ 
नियमित र पूर्ण खोपका कारण दैनिक दुईजना बालबालिकाको ज्यान जोगाउन सकिने अध्ययनले देखाएको छ । उक्त अध्ययनबारे खोप अधिकृत शर्माले दिएको जानकारी अनुसार, पाँच वर्ष मुनिका बालबालिमा नियमित खोपले दैनिक दुईजना बालबालिकाको ज्यान जोगाउन सकिने छ ।

नियमित र पूर्ण खोपले महिनामा ५० जनाको ज्यान जोगिदा वर्षभरी ज्यान जोगिने बालबालिकाको संख्या ६ सय ५ रहेको छ । बाँकेमा नियमित र पूर्ण खोपको अभावमा एक वर्षमा २ हजार ४ सय १८ जनाको ज्यान जाने गरेको छ ।

बालबालिकालाई खोप किन आवश्यक ?
खोपले बालबालिकालाई रोगसँग लड्न प्रतिरक्षा प्रर्णाली बलियो बनाउँछ । खोप विभिन्न रोगहरुको सबैभन्दा शक्तिशाली, सुरक्षित र तागत प्रभावकारी गराउने उपाय हो । त्यस्तै बालबालिकालाई स्वस्थ्य राख्न, आयु बढाउन, उत्पादनशील गराउँदै गरीवि घटाउन पनि यसले ठूलो मद्दत गर्छ । औषत आयु बृद्धि, मृत्युदर र विरामी दरमा कमी तथा अपाङ्गता दरमा समेत कमी ल्याउँछ ।

कति प्रकारका खोप दिइन्छ ?
जन्मेदेखि १५ महिना उमेर समूहका बालबालिकालाई खोप दिने गरिएको छ । यो अवधिमा  १२ प्रकारका रोग विरुद्धको खोप दिने गरिएको छ ।
–क्षयरोग
–भ्यागुते
–लहरे खोकी
–धनुष्टङ्कार
–हेपाटाइटिस बी
–पोलियो
–निमोनिया
–मेनेनटाइटिस
–दादुरा
–रुवेला
–जापानिज इन्सेफ्लाइटिस
–रोटा भाइरस

बाँकेमा बर्सेनि खोपमा कति खर्च ?
बाँकेमा खोपका लागि ठूलो राज्यको ठूलो लगानी खर्च हुने गरेको छ । स्वास्थ्य कार्यालयका अनुसार एक वर्षमा खोपकै लागि ४१ करोडबढी रकम खर्च हुने गरेको पाइएको हो ।

विभिन्न १२ वटा खोपका लागि बाँकेमा ४१ करोड १० लाख ३५ हजार ६ सय २५ रुपैयाँ खर्च हुने गरेको छ । उक्त रकमको ५५ प्रतिशत खेर जाने गरेको तथ्याङ्कले देखाउँछ ।

खोप नियमित नभइदिँदा उक्त रकम खेर जाने गरेको हो । कुनै खोप एक दुई घण्टाभित्रै लगाउनु पर्ने हुन्छ । त्यस्तो अवस्थामा बालबालिका खोप लिन नआउँदा त्यो त्यसै खेर जाने गर्छ । राज्यले एउटा बालबालिकाका लागि ३० हजार तीन सय रुपैयाँ खोपमा मात्र लगानी गर्ने गरेको छ ।

  • ६ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech