कोभिड भत्ता माग्दै जिरी अस्पतालका कर्मचारी आन्दोलित

    • स्वास्थ्य पेज

  • ६ पुष २०७७, सोमबार

दोलखा ६, पुष ।
कोभिड जोखिम भत्ता उपलब्ध नगराएको भन्दै दोलखाको जिरी अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन्। जिरी नगरपालिकाले कोरोना रोकथाम तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई भन्दा पनि गैर र सीमित स्वास्थ्यकर्मीले मात्र कोभिड भत्ता पाएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।

विरोध स्वरुप उनीहरुले पहिलो चरण अन्तर्गत सोमबारदेखि हातमा कालो पट्टी बाँधेर सेवा दिएका छन्। सोमबार विज्ञप्ति जारी गर्दै उनीहरुले आगामी तीन दिनभित्रमा पनि माग पुरा नभए आन्दोलनका अन्य कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘पहिलो चरणको भद्र आन्दोलनलाई सम्बन्धित निकायले बेवास्त गरेमा र आजको मितिले तीन दिन भित्रमा माग पुरा गर्ने ठोस निर्णय नगरेमा हामी अर्को चरणको कडा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुनेछौँ।’महामारीमा खटिनेभन्दा पनि जिरी नगरपालिकामा कार्यरत गैर, सीमित स्वास्थ्यकर्मी र अस्पतालका केही कर्मचारीलाई छानेर मात्र गुपचुप रुपमा कोभिड भत्ता उपलब्ध गराइएको उनीहरुको आरोप छ।

सरकारको निर्देशिका बमोजिम अस्पतालले आर्थिक वर्ष २०७६/७७ को जेठमा जिरी नगरपालिका समक्ष भत्ता उपलब्ध गराउन निवेदन बुझाएको थियो।आर्थिक वर्षको अन्तिमसम्म पनि भत्ता उपलब्ध नभएपछि सबै कर्मचारीहरुले असार मसान्तमा सामुहिक निवेदन दिदैँ भत्ता उपलब्ध गराई दिन आग्रह समेत गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

आफुहरुले पटक पटक आग्रह गरेपनि नगरपालिकाले सुनुवाई नगरी गैर र सीमित स्वास्थ्यकर्मीलाई मात्र कोभिड भत्ता उपलब्ध गराएको उनीहरुले बताएका छन्। वास्तविक जोखिम भएका र खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई अस्पतालले पेश गरेको अनुरोध पत्र अनुसार यथाशिघ्र जोखिम भत्ता उपलब्ध गराउन उनीहरुको माग छ।

  • ६ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech