रुकुम पश्चिमको स्वास्थ्यचौकी बन्यो गाउँपालिका अस्पताल

    • स्वास्थ्य पेज

  • ६ पुष २०७७, सोमबार

रुकुम पश्चिम ०६, पुष ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको केन्द्र सिम्लीमा भाडाको घरमा सञ्चालित स्वास्थ्यचौकीलाई गाउँपालिकाले अस्पतालको रुपमा स्तरोन्नति गरी डाक्टरबाट उपचार सेवा प्रवाह गरिरहेको छ ।

एचएको नेतृत्वमा प्रसूति गृह सञ्चालनमा समेत समस्या भएपछि ७ नम्बर वडाको छोटेबगरमा स्वास्थ्यचौकी सारेर सिम्लीमा अस्पताल बनाइएको हो । प्रसूति गृह पनि सञ्चालनमा ल्याइएको छ भने अस्पताल एकान्तमा भएकाले सबैको रोजाइमा परेको छ । अस्पताल सञ्चालनमा आएको १० महिनामा झण्डै ६ हजार जनाले उपचार सुविधा लिएका छन् । १ सय ५४ जनालाई प्रसूति सेवा दिइएको अस्पतालले जनाएको छ ।

अहिलेसम्म ५ हजार ७ सय ५७ जना बिरामीले उपचार पाएको अस्पताल व्यवस्थापक कर्णबहादुर बुढाथोकीले बताउनुभयो । ‘ओपीडी, आकस्मिक, आइपीडी, ल्याब, एक्सरे, प्रसूतिलगायत सेवा चौबीसै घण्टा प्रवाह गरेका छौं,’ उहाँले भन्नुभयो, ‘फार्मेसी स्थापनाको तयारी गरिएको छ ।’ उहाँका अनुसार ११ वटै वडाका बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता टरेको छ । अस्पतालमा एक मेडिकल अधिकृतसहित १७ जना स्वास्थ्यकर्मीले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

अस्पताल सञ्चालनमा आएपछि गाउँमै भरपर्दो उपचार पाइरहेको सानीभेरी गाउँपालिका–३ का डिलबहादुर विकले बताउनुभयो । ‘ससाना अप्रेशनका लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ,’ उहाँले भन्नुभयो, ‘अस्पतालमा सुरुदेखि नै डाक्टरले उपचार गर्दा मनोवैज्ञानिक रुपमा पनि बलियो भएका छौं ।’

अस्पतालमा महिला तथा स्त्रीरोग, श्वासप्रश्वास, घाउ र चोटपटकका बिरामी धेरै आउने गरेको डा कविन बस्नेतले बताउनुभयो । स्वास्थ्य चौकीको भवन संघीय सरकारको बजेटमा बनाइएको हो । भवन निर्माण भएपछि गाउँपालिकाले उपकरण र जनशक्ति व्यवस्थापन गरी अस्पताल बनाएको थियो ।कार्यपालिकाबाट निर्णय गराइ अस्पताल सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताउनुभयो ।

‘विद्युत्‌को केन्द्रीय प्रसारण लाइन जडान, फार्मेसी सञ्चालन र अस्पतालका लागि अर्को भवन निर्माणको प्रक्रियामा छौं,’ उहाँले भन्नुभयो, ‘बहुवर्षीय ठेक्काअनुसार अत्याधुनिक भवन बनाउन लागिएको हो ।’ उहाँका अनुसार अस्पतालको नयाँ भवन निर्माणका लागि १८ करोड रुपैयाँ संघीय सरकारले विनियोजन गरेको छ ।

  • ६ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech