कञ्चनपुरमा कोरोना प्रभावः धमाधम विद्यालय बन्द, स्थानीय तहमा निषेधाज्ञा

    • स्वास्थ्य पेज

  • ५ पुष २०७७, आईतवार

महेन्द्रनगर ५, पुष ।
कञ्चनपुरमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन्। यहाँको बजार पूर्णरूपमा खुला रहेको र केही सातायता सरकारले स्थानीय तहलाई विद्यालय सञ्चालनको अनुमति दिएपछि तोकिएका मापदण्ड पुरा गरेर विद्यालय सञ्चालन भइरहेका थिए। तर, शिक्षक तथा विद्यार्थीहरुलाई एकसाथ कोरोना देखिएपछि केही विद्यालय पुनः बन्द भएका छन् ।

त्यसैगरी दुई दिनअघि भीमदत्त नगरपालिकाले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गरिएको जनाएको छ । आइतवारदेखि लागू हुने गरी दक्षिण क्षेत्रमा रहेको बेलौरी नगरपालिकाले एक हप्तासम्मका लागि नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ । शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले विद्यालय सञ्चालन कार्य ढाँचा, २०७७ अनुसार पालिकाबाट स्वीकृति लिएर विद्यालय सञ्चालन गर्न सकिने शिक्षा मन्त्रालयबाट निर्देशिका जारी भएको बताउनुभयो।

महामारीको स्थितिलाई मध्यनजर गर्दै बेलौरीमा सङ्क्रमण थप फैलिन नदिन र भिडभाड न्यूनीकरण गर्न आइतबारदेखि पुस ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बेलौरी नगरपालिकाले जनाएको छ ।नगर क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी सङ्घसंस्था, वित्तीय संस्था, शिक्षण संस्था, व्यवसाय, सीमा नाका र सवारी साधनको आवतजावत पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिनुभयो। औषधालय, आयल स्टोर तथा उखु किसानका उखु ढुवानी साधन भने खुला रहने बताइएको छ ।

त्यस्तै यहाँको दोधारा चाँदनी नगरपालिकामा पनि एक साताका लागि निषेधाज्ञा गरिएको छ । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि नगर क्षेत्र बन्द गर्ने निर्णय गरिएको नगरपालिका कार्यालयले जनाएको छ । सो अवधिमा अत्यावश्यक कामबाहेक सबै क्षेत्र पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताउनुभयो।

  • ५ पुष २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech