सरकारले भोलिदेखि ‘हटस्पट’मा एन्टिजेन परीक्षण गर्ने

एन्टिजेन परीक्षणले सक्रिय संक्रमणको अवस्थालाई संकेत गर्दछ।


    • स्वास्थ्य पेज

  • ४ पुष २०७७, शनिबार

काठमाडौं ४, पुष ।
सरकारले कोरोना भाइरस संक्रमणको ‘हटस्पट’सहित सहरी क्षेत्रमा आइतबारदेखि एन्टिजेन परीक्षण गर्ने भएको छ। पहिलो चरणमा बढी संक्रमण देखिएका सहरी क्षेत्रमा ३ लाख जनाको परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ एवं कोभिड–१९ फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठले यसलाई सहरी क्षेत्रमा व्यापक रूपमा अघि बढाइने जानकारी दिनुभयो। कोरोना संक्रमणको दोस्रो लहर आउन सक्ने आकलन भइरहेका बेला मन्त्रालयले एन्टिजेन परीक्षण गर्न लागेको हो।

‘नयाँ संक्रमित पत्ता लगाउन र संक्रमणको सम्भावित महामारी नियन्त्रणका लागि एन्टिजेन परीक्षण गर्न लागिएको हो’, श्रेष्ठले भन्नुभयो, ‘संक्रमण पुष्टि भएका व्यक्तिलाई तत्कालै आइसोलेसनमा राखिनेछ।’ यो विधिबाट परीक्षण गरेको आधा घण्टाभित्र परिणाम आइसक्नेछ।

उहाँका अनुसार यसका लागि विश्व स्वास्थ्य संगठनले १ लाख र युनिसेफले ५० हजार किट सहयोग गरेका छन्। थप किट खरिद गर्ने प्रक्रिया पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ। पुसभित्र ३ लाख र माघमा ३ लाखको एन्टिजेन परीक्षण गर्ने लक्ष्य छ ।

के हो एन्टिजेन ?
एन्टिजेन परीक्षणका लागि नाक, घाँटीबाट स्वाब लिनुपर्छ। स्वाबमा भाइरसको मात्रा धेरै भए मात्रै संक्रमण देखाउन सक्छ। परीक्षणबाट शरीरमा कोरोना भाइरसको प्रोटिन पत्ता लगाउन सकिन्छ। एन्टिजेन परीक्षणले सक्रिय संक्रमणको अवस्थालाई संकेत गर्दछ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनका अनुसार एन्टिजेन परीक्षणबाट शरीरमा भाइरस छ÷छैन थाहा पाउन सकिन्छ। यो विधिमा प्रयोगशालाको आवश्यकता नपर्ने उहाँको भनाइ छ। ‘एन्टिजेन विधिबाट परीक्षण गर्दा सरल र सहज हुन्छ’, डा पुनले भन्नुभयो, ‘शरीरमा भाइरसको प्रोटिन हेर्न सकिन्छ।’ पीसीआरको तुलनामा एन्टिजेन परीक्षण सस्तो पर्छ।

 

  • ४ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech