गाईभैसीमा देखियो कोरोनाजस्तै ‘लम्पी स्किन’ रोग

    • स्वास्थ्य पेज

  • ४ पुष २०७७, शनिबार

चितवन ४, पुष ।

चितवनमा गाईभैसीमा लाग्ने सरुवा भाइरल रोग लम्पी स्किन देखिएपछि छुट्टै (आइसोलेसन सेड)मा राख्न पशुविज्ञले सुझाब दिएका छन् ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले २ हजार बढी गाइभैसीमा ‘लम्पी स्किन’ संक्रमण देखिएपछि बिरामीलाई समुहबाट अलग राख्न सुझाएको हो ।

विज्ञ केन्द्रका अनुसार राप्तीमा १ हजार ७३, खैरहनीमा ७ सय, कालिकामा ४ सय, रत्ननगरमा १ सय गाइभैसीमा संक्रमण भएको छ ।यो भाइरल रोग लागेमा पशुका शरीरमा बिमिरा, गिर्खा आउने, ज्वरो आउने, सिँगान–र्याल आउने, खुट्टा सुनिने, दूध उत्पादन कम हुने जस्ता लक्षण देखापर्छन् । यो रोगले पशु मर्न पनि सक्छन् ।

विज्ञ केन्द्रका प्रमुख दयाराम चापागाईले भाइरल रोग भएकाले बिरामी गाईभैसीलाई छुट्टै आइसोलेसनमा राखेमा संक्रमण फैलिने सम्भावना कम हुने बताउनुभयो ।‘बिरामी पशुलाई सकेसम्म करिब १० मिटर पर अलग गोठमा राखौँ’, उहाँले भन्नुभयो, ‘संक्रामक रोग भएकाले एकबाट अर्को पशुमा सर्न सक्छ ।’उहाँका अनुसार लामखुट्टे, झिँगा, डाँठ, उपियाँ किर्नाले रोगी पशुलाई टोकेर निरोगीलाई टोक्दासमेत सर्ने सम्भावना हुन्छ ।

पशु विकास तथा प्रविधि प्रसार शाखाका पशु विकास अधिकृत रामचन्द्र आचार्यले लम्पी स्किन रोग ७ देखि १४ दिनसम्म रहने भएकाले सो अवधिसम्म बिरामी पशुलाई अलग राख्नुपर्ने बताउनुभयो ।

छालामा आएका बिमिरा बढेर फुटेर बग्ने पिप, ¥याल, सिँगान एक पशुबाट अर्कोमा सर्न नदिन अलग राख्नुपर्छ । ‘अहिलेसम्म भ्याक्सिन छैन, लक्षणका आधारमा उपचार गर्नुपर्छ’, आचार्यले भन्नुभयो, ‘गोठ निर्मलीकरण गर्नुपर्छ, बायोसेफ्टीका काम गर्नुपर्छ ।’

उहाँका अनुसार लम्पी स्किन देखा परेका गोठमा किटनाशक विषादी छर्ने, घाउमा मलम लगाउने, इन्जेक्सज, पोटास,फिनेल लगायतका १३ प्रकारका औषधि किसानलाई वितरण गरिएको छ । छालामा आएका बिमिरा बढेर फुटेर बग्ने पिप, ¥याल, सिँगान एक पशुबाट अर्कोमा सर्न नदिन अलग राख्नुपर्छ ।

कोरोना जस्तै लम्पी स्किन

लम्पी स्किन नेपालमा भित्रिएको नौलो रोग हो । चितवनमा पहिलो पटक साउन ८ गते राप्ती–८ मा देखिएको थियो । भारतमा यो रोग गतवर्षनै देखिएको थियो ।

पशुमा लम्पी स्किन रोग भए नभएको पत्ता लगाउन पिसिआर वा एलाइजा विधिबाट स्वाब वा रगत परीक्षण गर्नुपर्छ । चितवनमा १६ वटा पशुमा परीक्षण गर्दा लम्पी स्किन रोगनै भएको पत्ता लागेको छ ।

केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला काठ्माण्डौमा पठाइएको स्वाब परीक्षणमा लम्पी स्किननै भएको पुष्टी भएपछि सोही आधारमा यकिन गरिएको हो ।

‘सुरुमा नमुना पठाउँदा लम्पी स्किननै भएको पुष्टी भयो, सोही लक्षणका अन्य बिरामी पशुमा पनि त्यही रोग लागेको ठम्याउन गारो भएन’, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख दयाराम चापागाईले बताउनुभयो ।

भरतपुरमै रहेको पंक्षी ल्याव र रामपुरमा रहेको ल्यावमा एलाइजा र पिसिआर मेसिन भएपनि केमिकल नहुदा परीक्षणका लागि काठ्माण्डौ पठाउनुपरेको बताउनुभयो ।

रामपुरमा रहेको राष्ट्रिय गाइ अनुसन्धान कार्यक्रममा हाल १ सय ९२ गाईहरु छन् । जसमध्ये ५ वटालाई लम्पी स्किन रोग लागेको छ ।

‘लक्षण मिलेकाले परीक्षणनै गरेका त छैनौँ’, प्राविधिक अधिकृत डा यज्ञराज पाण्डेले भन्नभयो, ‘२ वटा किट आइसेकेको छ, छिटै परीक्षण गरेर अध्ययन गर्नेछौँ ।’

उहाँले बिरामी गाईभैसीलाई करिब एक महिना छुट्टै राख्नुपर्ने बताउनुभयो । उहाँले बिरामी रहेका ५ गाईलाई आइसोलेसन सेड (अलग गोठ) मा राखिएको बताउनुभयो ।

उहाँका अनुसार रोगप्रतिरोधि क्षमता रहेका गाईभैसी यो रोगबाट मर्ने सम्भावना हुन्छ । एक सय मध्ये १ देखि ५ वटासम्म मर्नसक्छ । लम्पी स्किन लागेपनि विस्तारै एन्टीवडी उत्पादन भएमा रोग निको हुन्छ ।

  • ४ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech