बाँके र बर्दियाका थप ४० जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २४ जेष्ठ २०७७, शनिबार
बाँके र बर्दियाका थप ४० जनामा कोरोना पुष्टि

नेपालगन्ज २४, जेष्ठ ।
भेरी अस्पताल, नेपालगञ्जले ४० जनामा कोरोना पुष्टि गरेको छ । अस्पतालले दिएको जानकारी अनुसार, कोरोना पुष्टि हुनेमा बाँकेका १२ जना र बर्दियाका २८ जना रहेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नंम्बर १, धम्बोझीकी ४१ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । लकडाउनको अवधिमा घरमै रहेकी र आवश्यक काम पर्दामात्रै बाहिर निस्किने गरेकी महिलामा कोरोना देखिएको हो । उनी ज्वरो आएपछि आफै भेरी अस्पतालमा गएकी थिइन् ।

अस्पतालले स्वाव लिनुका साथै सामान्य उपचार गरेर घर पठाइदिएको थियो । पछि रिपोर्ट आउँदा पोजिटिभ देखिएपछि आज नै आइसोलेसन अस्पताल लगिएको छ । उनको घरमा आमा र छोरामात्रै छन् । केही दिनअघि बाणिज्य बैंकमा पेन्सन बुझ्न गएर आएपछि उनलाई ज्वरो आएको थियो । यो बीचमा उनी एक आयुर्वेदिक पसल र दूध लिन डेरीमा गएकी थिइन् ।

ती महिलाका अनुसार, बैंकबाट आएको केही समयपछि ज्वरो आएको थियो । श्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसपछि उनी अस्पताल पुगेकी थिइन् । जिल्लामा अहिलेसम्म भारतबाट आएका वा उसको सम्पर्कमा भएका व्यक्तिलाई मात्रै कोरोना लागेको पाइएको थियो । ती महिलालाई भने कामविशेष बाहिर निस्किदा कोरोना सरेको पाइएको छ । अस्पतालले पुष्टि गरेका जिल्लाका अरु संक्रमितमा खजुराका आठ जना र बैजनाथ गाउँपालिकाका तीन जना छन् । खजुरा गाउँपालिकाको वडा नम्बर ४ का सात जना र एकजना वडा नम्बर ५ का छन् । बैजनाथ गाउँपालिकाको वडा नम्बर ६ का दुई जना र वडा नम्बर २ का एकजना रहेका छन् ।

बाँकेमा कोरोना संक्रमित २ सय ६७ जना संक्रमित पुगेका छन् । त्यसमा ४२ जना कोरोना जितेर घर फर्किसकेका छन् । भेरीमा शनिबार पुष्टि भएका २८ जना बर्दियाका छन् । बर्दियाको ११ जना गुलरिया, ५ जना बाँसगढी, तीन जना बढैया, चार जना मधुवन र ५ जना राजापुरका छन् । भेरी अस्पताल, नेपालगञ्जले एक बजे संक्रमितको लिष्ट सार्वजनिक गरेको हो ।

 

  • २४ जेष्ठ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech