के हो ‘पैसे दाद’ ?

अंग्रेजीमा भनिने कतिपय रोगका आधिकारिक नेपाली नाम छैनन् । सतह भन्दा थ्याप्चो परेर माथी उठेका छालाका विभिन्न अवस्थाहरू, जसलाई आँखा चिम्लेर पनि छामेर महशुस गर्न सकिन्छ, त्यस्तो अवस्थालाई अंग्रेजीमा Plaque (प्लाक) भनिन्छ । दाद त्यसैको ठाडो अनुवाद भएको अनुभूति मेरो १० बर्षे यस विषयको करिअरमा भएको छ ।


    • डा बद्री चापागाई

  • ४ पुष २०७७, शनिबार

डा बद्री चापागाई

नेपालगंज वरिपरिका विविध गतिविधि पोस्ट हुने फेसबुकको एउटा पेज छ – नेपालगंज ग्यालरी । यसका धेरै जसो पोस्टहरू  उति सारो पछ्याउन नपाएपछि बेलाबखत चाखलाग्दा पोस्टहरू र आफूलाई कसैले ट्याग गर्दा आउने नोटिफिकेसनले गर्दा बेलाबेलामा म यो पेजमा डुल्ने गर्छु । 

यस पेजमा आवधिक  चुनावको शैलीमा एउटा जिज्ञासा प्राय पोस्ट हुने गर्छ । नेपालगंजमा छालाको उपचार कहाँ हुन्छ ? हुन त तराइको ठाउँमा छालासम्बन्धि समस्याहरू अलि बेसी नै हुने गर्छन् तर पनि अरू विज्ञता र विशेषज्ञको भन्दा यस विषयमा बेसी नै पोस्ट आउने गरेको मैले महशुस गरेको छु ।

विशेषज्ञको कुरा गर्दा आआफ्नो अनुभव र रोजाइ अनुसार सिफारिस आउनु सामान्य हो । तर छालाको रोगको बारेमा चर्चा गर्दा त्यसमा आउने विभिन्न कमेन्ट पढ्दा भने जनमानसमा रहेका विभिन्न भ्रम साथै जान्नै पर्ने कुरामा समेत निकै दुविधा रहेको महशुस गरि  आफ्नो तर्फबाट केहि प्रष्ट पार्नु  वाञ्छनिय हुने ठानी यो जमर्को गर्दैछु । 

आज हामी  ‘दाद’ को बाेरेमा केहि चर्चा गर्नेछौं । 

पहिलो कुरो – अंग्रेजीमा भनिने कतिपय रोगका आधिकारिक नेपाली नाम छैनन् । सतह भन्दा थ्याप्चो परेर माथी उठेका छालाका विभिन्न अवस्थाहरू, जसलाई आँखा चिम्लेर पनि छामेर महशुस गर्न सकिन्छ, त्यस्तो अवस्थालाई अंग्रेजीमा Plaque (प्लाक) भनिन्छ । दाद त्यसैको ठाडो अनुवाद भएको अनुभूति मेरो १० बर्षे यस विषयको करिअरमा भएको छ । यस्ता प्लाकहरू ढुसीको संक्रमण (Fungal Infection), विभिन्न किसिमका एक्जिमा (Eczema), छालाका अन्य रोग – सोरियासिस, लाइकन प्लानस मा देख्न सकिन्छ । तर हामीहरू सबैलाई एउटै डालोमा राखेर दाद भन्ने गर्छौं । 

गाउँठाउँमा भैंसे दाद र पैसे दाद भनेर त्यसलाई केहि वर्गिकृत गर्ने प्रयास पनि भएको भेटिन्छ । जनावरहरूमा हुने थ्याप्चो किसिमको (सुख्खा रोटी जस्तो) दाद मानिसलाई भएमा भैंसे दाद (भैंसीमा पनि देखिने भएर हो कि) भनिन्छ जुन एक्जिमासँग मिल्दोजुल्दो हुन्छ । चिकित्सा विज्ञानका किताबहरू नेपाली लेखकका नहुने भएर होला चिकित्सहरू अंग्रेजी नै पदावली प्रयोग गर्छन् । तर जनमानसमा यसलाई उकुच भनिएको भेटिन्छ । उकुच शब्द आफै ‘उक्लचिनु’बाट आएको भान हुन्छ, जसको अर्थ हुन्छ – एक पटक  निको भइसकेको घाउखटिरा, रोग आदि फेरि उल्टिनु, घाउखटिरा छिटै निको नभएर गहिरिंदै र फराकिंदै जानु। 

अर्को हन्छ, पैसे दाद। जसरी सिक्काहरू गोलो हन्छन् अनि तिनको बिट विचको सतहभन्दा माथि उठेको हुन्छ त्यस्ता दादलाई ‘पैसे दाद’ भनिएको हुन सक्छ । ढुसीको संक्रमण (Fungal Infection) बाट हुने यस्ता दादहरू Dermatophytes वर्गका ढुसीले गराउने हुने हुँदा यसलाई Dermatophytosis पनि  भनिन्छ । 

भाषिक अस्पष्टता र जनमानसले जानी नजानी मेडिकल पदावली प्रयोग गर्न खोज्ने हाम्रो समाजमा यी  दुबै अवस्थालाई एउटै डालोमा हालेर  ‘दाद’ भन्ने गरिएको छ।

के हो ‘पैसे दाद’ ?

नेपालगंज लगायत नेपालको तराइ भेग जहाँको मौसम उष्ण तथा पसिनाले गर्दा ज्यानको अवस्था अधिकांश समय आर्द्र रहने गर्छ, त्यहाँका मानिसहरूको छालामा ढुसीको संक्रमण हुनु सामान्य हो । जसरी चिसो कोठामा ढुसी लाग्न सक्छ, धेरै दिनसम्म घाममा नराख्दा अचारमा ढुसी पलाउन सक्छ, चिसो लुगामा ३-४ दिन पछि छिर्केबिर्के ढुसी पलाउन सक्छ वा धेरै  दिनको बासी तरकारी/फलफुलमा ढुसी पलाउन सक्छ, मानिसको शरीरमा पनि पसिनाको कारणले हुने आर्द्रताको कारणले ढुसी पलाउन सक्छ । फरक यति हो मानिसमा भने यसको कारणले अत्यन्त असहज किसिमको चिलाइ उत्पन्न गर्छ । 

दादाका प्रकार – 

क) Tinea capitis (कपालको रौंको संक्रमण)

ख) Tinea barbae (दारीको संक्रमण)

ग) Tinea faciei (अनुहारको संक्रमण)

घ) Tinea corporis (ज्यानको बाँकी छालाको संक्रमण)

ङ) Tinea cruris (काछको संक्रमण)

च) Tinea manuum (नाडी भन्दा पर हातको संक्रमण)

छ) Tinea pedis (खुट्टाको संक्रमण)

ज) Tinea unguium (नङको संक्रमण)

क) Tinea Capitis 

यो प्राय बच्चाहरूमा देखिन्छ ।  कपालको रौं झर्छ भने भएका रौं पनि सजिलै तान्न मिल्ने गरि कमजोर हुन्छन् । कपालमा चायाँ जस्तो धुलो जम्मा भएको हुन सक्छ ।

यदि संक्रमण अन्य भागमा पनि भएको भए अन्य ठाउँमा पनि ‘दाद’ फेला पर्न सक्छ । जिवाणु अनुसार यस्तो संक्रमणमा सुन्निने अवस्था (Inflammation) हुन वा नहुन पनि सक्छ । Inflammation भएमा पिपका फोकाहरू  देखिन सक्छन भने टाउकोको प्रभावित भाग गिलो वा  थलथले हुन सक्छ । 

यस्तो संक्रमण भएमा टाउकोको पछाडीको भागमा बाथ आइ गिर्खाहरू सुन्निन सक्छन् । यस्तोलाई ब्याक्टेरियाको संक्रमण ठानी एन्टिबायोटिकहरू दिएको भेटाइन्छ । तर ढुसीले संक्रमण गरेकोमा एन्टिबायोटिक दिएर ठिक हुने कुरा भएन । उपयुक्त उपचार नभएका यो संक्रमण निको हुँदा दाग बन्न सक्छ र बच्चाको टाउकोमा रौं नउम्रिन सक्छ । अत: भविष्यमा बच्चाको टाउकोमा रौं नहुने दाग बन्न नदिन यसको समयमै सहि उपचार अपरिहार्य हुन्छ । 

ख) Tinea barbae (दारीको संक्रमण)

यो वयस्कहरुमा हुन्छ । रौंहरू सजिलै तान्न मिल्ने गरि कमजोर भएका हुन्छन् भने दाग पनि बनेको हुन सक्छ । यस्तो संक्रमण भएको व्यक्तिमा शरीरको अन्य भागमा पनि ढुसीको संक्रमणले गराएका ‘दाद’ फेला पर्न सक्छन् । 

ग) Tinea faciei  (अनुहारको संक्रमण)

दारीजस्तो कडा रौं नभएको अनुहारको अन्य भाग वा महिलाको अनुहारमा यस्तो संक्रमण हुन्छ । धेरै चिलाउने भएको हुनाले यसलाई अन्य किसिमको एलर्जी ठानी Steroids को प्रयोगले गर्दा यस्ता दादहरू पहिचान गर्न कैलेकाहिं हम्मे पर्न सक्छ ।

महिलाहरूल पोतो हटाउन वा गोरो बन्न विभिन्न किसिमका Steroid मिश्रित मलमहरू लगाउनाले छालाको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएर यस्ता संक्रमणको निम्ति अनुकुल अवस्था बन्न सक्छ । एलर्जी ठानि यस्तो दादहरूमा Steroids को प्रयोग गर्दा एक त रोगको पहिचान नै कठिन हुन पुग्छ भने तेस्ता औषधिको प्रयोगले डन्डीफोर निकाल्ने, छाला पातलो बनाउने, घाममा जाँदा अनुहार रातो हुने वा अधिक रौं पलाउने संभावना रहन्छ । 

घ) Tinea corporis (ज्यानको बाँकी छालाको संक्रमण)

विशिष्टकृत विभिन्न ठाउँहरूको नामअनुसार हुने संक्रमण बाहेक शरीरको अन्य ठाउँमा  हुने संक्रमणलाई उपरोक्त नामले चिनिन्छ । लेसुरुमा ससाना दानाबाट  सुरु हुने यस्तो दाद बिस्तारै फैलिदैं जान्छ । 

शरीरको रोग प्रतिरोधात्मक क्षमताले प्रभावित भागको विचबाट यो संक्रमण हट्दै जान्छ  भने डढेलो फैलिए जस्तै घेरा भने चाक्लो हुँदै जान्छ । प्रभावित भाग र सामान्य छालाको बिचमा यसले प्रष्ट सिमाना तय गरेको हुन्छ । छालाको यस प्रकारको संक्रमणलाई अन्य किसिमका दादबाट पहिचान गर्ने यो नै मुख्य तरिका हो । तर चिकित्सकको सल्लाह बेगर विभिन्न किसिमका Steroids मिश्रित मलमको प्रयोगले यी दाद फैलिदै जान्छन् । 

ङ) Tinea cruris (काछको संक्रमण)

अधिकांश समय गर्मी हुने तराइको मौसममा केहि समयबाहेक हाम्रो शरीर पसिनाले भिजेकै रहन्छ । कम्मर भन्दा माथिको शरीरबाट निस्कने पसिना बग्दै हाम्रो काछमा पुग्छ । अत: बर्खामा खहरेमा पानी बगे जस्तै काछको खोल्सामा पसिनाले गर्दा हाम्रा भित्री वस्त्रहरू चिसो भैराख्छन् । यस्तोमा ढुसीको संक्रमण हुने संभावना ज्यादा रहन्छ ।

पसिनाले पाछेको वा बोलीचालीको शब्दमा भन्दा काछ लागेकोमा हामीले मेडिकलहरूबाट चिकित्सको सल्लाह बिनै किनेर लगाउने Steroids मिश्रित विभिन्न मलमले यस्ता संक्रमणको जोखिमलाई बढाउँछन् । संक्रमणको जोखिम मात्र बढाउने होइन यस्ता मिश्रणयुक्त मलमले ढुसी फैलिनको निम्ति उर्बर अवस्थाको सृजना गर्छन् । 

च) Tinea manuum (नाडी भन्दा पर हातको संक्रमण)

पानी धेरै चलाउनु पर्ने व्यक्तिहरू, गृहणीहरू वा होटेलमा भाँडा माझ्दा धेरै समय पानीमा खेल्ने कामदारहरूलाई यस्तो संक्रमणको जोखिम ज्यादा हुन्छ । प्रायजसो हातका कापमा सुरु  भएर यो संक्रमण प्राय हातको माथिल्लो सतहतिर फैलिन्छ ।

तर कैलेकाहिं हत्केलातिर पनि फैलिंदा हातको एलर्जी भनेर झुक्किंदा यसको उपचार गलत हुन पुग्छ । गलत मलम लगाउँदा त्यसको कारण एलर्जीमा जस्तै फोका समेत निस्किने हुँदा धेरै स्वास्थ्यकर्मी यसको सहि पहिचानबाट चुक्छन् । 

छ) Tinea pedis (खुट्टाको संक्रमण)

लामो समयसम्म बुट जुत्ता लगाउनु पर्ने पेशा भएका व्यक्तिहरु (आर्मी, पुलिस, कलकारखानाका मजदुर) र पानीमा खुट्टा डुबाइराख्ने पेशा भएका व्यक्तिहरू (कुचीचर, धोबी) आदिहरू यो यस्तो संक्रमणबाट धेरै प्रभावित हुन्छन् ।

खुट्टाको कान्छी औंला र साहिंली औंलाको बिचमा सेतो हुने, बिबिरा निस्कने, छाला जाने र अत्यन्त चिलाउने यसका प्रमुख लक्षण हुन् । संक्रमण फैलिंदै गएमा पाइताला वा खुट्टाका नङ समेत प्रभावित हुन सक्छन् । 

ज) Tinea unguium (नङको संक्रमण)

यदि ढुसीले नङमा संक्रमण गरेमा नङको पाता मोटो हुने, नङ तलको मासुबाट  छुट्टिने, नङको मुनी सेतो हुने र यो क्रम धेरै चलिराखेमा नङको स्वरुपमै परिवर्तन हुने गर्छ ।

छालाको अन्य संक्रमणमा भन्दा यस्तोमा औषधि लामो समयसम्म चालु राख्नुपर्छ, हातको नङको हकमा कम्तिमा ६ महिना र खुट्टाको नङ प्रभावित भएमा अझ त्यो भन्दा पनि लामो समय ।  

आगामी श्रंखलामा हामी – 

  • ढुसी वाला दादको उपचारमा ध्यान दिनु पर्ने कुराहरू
  • गलत उपचार गर्दा हुने हानीहरू 
  • यसको उपचार किन चुनौतिपुर्ण हुँदै गइरहेको छ ?
  • यो संक्रमण हुन नदिन वा दोहोरिन नदिन अपनाउनु पर्ने उपायहरूको बारेमा चर्चा गर्नेछौं

            (डा बद्री चापागाई भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट डर्मटोलोजिष्ट हुनुहुन्छ)

  • ४ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech