कोरोना भ्याक्सिनका लागि आठवटा समिति गठन

    • रासस

  • २० मंसिर २०७७, शनिबार

 

काठमाडौं २०, मंसिर ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापनका लागि द्रुत कार्य योजना पारित गर्दै आठ वटा समिति गठन गरेको छ । विभिन्न देशले बनाएका कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रभावकारी हुँदै गएको र प्रयोगमा आउने देखिएपछि मन्त्रालयले नेपालमा पनि खोप भित्र्याउन, भण्डारण गर्ने, प्रयोगमा ल्याउन तथा उचित व्यवस्थापनका लागि द्रुत कार्य योजना पारित गर्दै समिति गठन गरेको हो।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै कोरोना भारसविरुद्धको भ्याक्सिनको व्यवस्थापनका लागि विभिन्न आठवटा क्षेत्र पहिचान गरी समिति गठन गरिएको छ। मन्त्रालयले खोप व्यवस्थापनका लागि छुट्टै सचिवालयको व्यवस्थापन समेत गर्ने भएको छ। उक्त सचिवालयको संयोजक स्वास्थ्य सेवा विभागका महानिर्देशक हुने भएकाले डा दिपेन्द्ररमण सिंह संयोजक बन्नुभएको छ ।

मन्त्रालयले बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा श्यामराज उप्रेतीको संयोजकत्वमा खोप व्यवस्थापन प्राविधिक तयारी समिति बनाएको छ। यस्तै स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक चूडामणि भण्डारीको संयोजकत्वमा पूर्वाधार विश्लेषण तथा आवश्यकताको आकलन गर्ने समिति बनाइएको छ। यो समितिले खोप भण्डारण गर्न आवश्यक पूर्वाधार कस्तो हुनुपर्छ ? हाल नेपालमा भण्डारणको अवस्था के कस्तो छ ? कोरोना भ्याक्सिनलाई भण्डारण गर्न कस्तो कोल्ड चेन चाहिन्छ? कसरी भण्डारण प्रभावकारी बनाउने लगायथका विषयमा काम गर्ने छ।

अनुगमन नियमन, अनुसन्धान तथा क्लिनिकल व्यवस्थापन गर्न मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा विकास देवकोटालाई जिम्मेवारी दिइएको छ । मन्त्रालयका नीति योजना अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनीलाई खोप कोष सञ्चालन समिति र सार्वजनिक सूचना प्रभाव संयोजक तोकिएको छ।

यस्तै मन्त्रालयले कोरोना भ्याक्सिन नेपाल भित्रिएपछि उक्त खोप कसलाई लगाउने भन्ने विषयमा प्राथमिकता निर्धारण गर्न अर्को समिति बनाएको छ। मन्त्रालयले उपचारात्मक सेवा महाशाखाका निर्देशक डा तारानाथ पोखरेलको संयोजकत्वमा समिति बनाएको छ।

मन्त्रालयले परिवार कल्याण महाशाखाका प्रमुख डा भीमसिंह तिंकरीको संयोजकत्वमा परिचालन योजना समिति बनाएको छ। नेपालले कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिइने योजना बनाएको छ। कोभिडको भ्याक्सिन १५ वर्षभन्दा माथिका व्यक्तिहरुलाई मात्र दिइने छ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख एवं कोभिड भ्याक्सिन खोप सल्लाहकार समितिका सदस्य सचिव डा झलक शर्मा गौतमले अहिले विश्वमा बनिरहेका कोभिड विरुद्धको भ्याक्सिन १४ वर्षमुनिका बालबालिकालाई ट्रायल नगरिएको बताउनुभयो ।
यो उमेर समूहमा कोरोना भाइरसको संक्रमणदर, अन्यलाई सार्न सक्ने क्षमता, असर र मृत्युदर कम छ। अर्थात् यो समूह अन्य उमेर समूहभन्दा कम जोखिममा पर्ने भएकाले विश्वमा यो उमेरलाई खोप दिइने छैन।नेपालमा फाइजरको खोप आउने सम्भावना नभए पनि अन्य थर्ड फेजमा ट्रायल भइरहेका खोपहरु आउने छन्।

 

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech