कोरोनाबाट एक सातामा मात्र १४९ जनाको मत्युु

    • स्वास्थ्य पेज

  • १८ मंसिर २०७७, बिहीबार

 

नेपालगन्ज १८, मंसिर ।

कोरोना भाइरस संक्रमणका कारण नेपालमा गएको एक सातामा मात्र १४९ जनाको मत्युु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार साँझसम्मको तथ्यांक अनुसार मंसिर ११ गतेदेखि बिहिवार देखि मंसिर १७ बुधवार सम्म १४९ जना कोभिड संक्रमित विरामीको मृत्यु भएको छ ।

मंसिर ११ गते २३ जना, १२ गते २३ जना, १३ गते १९ जना, १४ गते २५ जना, १५ गते २९ जना, १६ गते २१ जना र मंसिर १७ गते बुधवार ९ जना संक्रमितले ज्यान गुमाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जटिल प्रकृतिका बिरामी थपिँदै जादा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या बढेको चिकित्सकहरुको भनाई छ ।

होम आइसोलेसनबाट गम्भीर समस्या लिएर ढिलो अस्पताल पुग्नाले पनि यो समस्या आएको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कार्यरत फिजिसियन डा।प्रवेश पन्त बताउनुहुन्छ । कात्तिकमा संक्रमणका कारण दैनिक ज्यान गुमाउनेहरुको संख्या ११ देखि १२ जना सम्म थियो । मंसिर सुरु भएदेखि उक्त संख्यामा दोब्बरले बढेको छ ।

मंसिर १७ गते ९ जनाले मात्र ज्यान गुमाएको भएपनि त्यसअघि करिब २० जना भन्दा माथि नै विरामीहरुको मृत्यु भएको छ । मन्त्रालयको बुधवार साँझसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ७७९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

त्यस्तै सबैभन्दा कम कर्णाली प्रदेशमा २३ जना, प्रदेश–१ मा १९३, प्रदेश–२ मा १९६, गण्डकी प्रदेशमा १०४ र लुम्बिनी प्रदेशमा २०४ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । देशभर १६ हजार ५४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


Nabintech