गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना

    • स्वास्थ्य पेज

  • २४ जेष्ठ २०७७, शनिबार

पोखरा २४, जेष्ठ ।
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३–३ जना तथा बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिकामा १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकामा १८ र ४० वर्षका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ । कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुष कोरोना संक्रमित भएका छन् ।

नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ । उनीहरु भारतबाट आएर विनयत्रिवेणीकै क्वारेन्टाइनमा बसेको जनाइएको छ । उनीहरू तीनै जनालाई रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयमा ल्याएर राख्ने तयारी गरिएको नवलपुरका जनस्वास्थ्य प्रमुख केशव चापागाईंले जानकारी दिनुभयो ।

चापागाईंका अनुसार १७ दिनअघि नेपाल आएका उनीहरूको अवस्था सामान्य छ । यस्तै बागलुङको ताराखोला गाउँपालिकामा ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशक डा शर्माले जानकारी दिनुभयो ।

  • २४ जेष्ठ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech