‘एचआइभी परीक्षण गराई संक्रमितको खोजी गरौं’

    • डा संकेत रिसाल

  • १६ मंसिर २०७७, मंगलवार

डा. संकेत रिसाल, कोरोना फोकलपर्सन, भेरी अस्पताल नेपालगन्ज ।

डा संकेत रिसाल
बरिष्ठ फिजिसियन तथा एचआइभी फोकलपर्सन भेरी अस्पताल नेपालगन्ज ।

आज विश्व एड्स दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एचआइभी एड्स विरुद्धका जनचेतनामुलक कार्यक्रमको आयोजना गरि दिवस मनाउन लागिएको हो । पछिल्लो समय एचआइभी संक्रमितलाई हेर्ने दृष्टिकोणमा सकारात्मक बन्दै गएको छ । भेरी अस्पताल नेपालगन्जमा वि.स २०६१ सालमा एचआइभी परामर्श केन्द्र स्थापना गरिएको छ ।

सरकारले स्थापना गरेको यो परामर्श केन्द्रमा अहिलेसम्म १ हजार ४ सय ४४ जनाले संक्रमितले सेवा लिएका छन् । ४ सय ८२ जनाले अहिलेपनि नियमित औषधि लिइरहेका छन् । यो अवधिमा १ सय ५० संक्रमितले ज्यान गुमाएका छन् । पिएमटिसिटी कार्यक्रम अर्थात संक्रमित आमाबाबुबाट स्वास्थ बच्चा जनाउने कार्यक्रम पनि छ । अहिलेसम्म ११ संक्रमित आमाबाबुबाट जन्मिएका बच्चामा एचआएचभी संक्रमण देखिएको छैन् । एआरटी सेन्टरमा दुईजना कर्मचारी छन् । विभिन्न एनजियो तथा आइएनजियोहरुले ठूलो सपोर्ट गरेका छन् ।

के हो एचआइभी एड्स ?
एचआइभी एक प्रकारको भाइरस हो भने एड्स त्यस्तो अवस्था हो, जहाँ मानवमा शरीरको रोगसँग लड्ने क्षमता (प्रतिरोधात्मक शक्ति) ह्रास भएर अन्य रोग देखिन्छ । एचआइभी संक्रमित व्यक्ति एड्सको अवस्थामा पुग्नका लागि दशौँ वर्ष लाग्छ । समयमै पहिचान भई उपचार भएमा एड्सको अवस्था आउँदैन । एचआइभी संक्रमणको कारण शरीरको रोगसँग लड्ने फेलुलर इम्युनिटी (सिडी४ कोषिका) ह्रास गराउँदछ ।

यो कम भएको अवस्थामा टिभी, पिसिपी निमोनिया, क्रिप्टोकोकल मेनिन्जाइटिस, क्रोनिक डायरिया, मुख तथा घाँडीको संक्रमण हुने र विभिन्न किसिमका सोलिड क्यान्सर, रक्तकोषिकाका क्यान्सरहरु देखिन्छन् । कुनै व्यक्तिलाई एचआइभी संक्रमण भइसकेपछि त्यसको कारणले एड्सको अवस्थामा पुग्न १० औँ वर्ष लाग्न सक्छ । यसबीचमा मानिस विनालक्षणको हुने गर्छ । मानिस स्वस्थ देखिन्छ । यस अवधिमा विवाह गर्न सक्छ, अन्य पार्टनलाई एचआइभी संक्रमण गराउन सक्छ ।

रूप–रङ हेरेर एचआइभी छ कि छैन थाहा हुँदैन । जबसम्म हामीले रगतको परीक्षण गराउँदैनौँ, तबसम्म एचआइभी छ कि छैन थाहा हुँदैन । एचआइभी नामक भाइरसका कारण शरीरको रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति कमजोर भइसकेको अवस्थामा केही अवसरवादी रोग, अवसरवादी क्यान्सर भएको अवस्था नै एड्स हो ।

एचआइभी सार्ने मुख्य कारणमध्ये नेपालमा ७६ प्रतिशत असुरक्षित यौनसम्पर्कबाट सर्ने गरेको अनुसन्धानले देखाएको छ । त्यसैगरी, ड्रगमा फसेका मानिसले सुई आदान–प्रदान गरेको अवस्थामा र कहिलेकाहीँ गुणस्तरहीन किटबाट रगत परीक्षण गर्दा पनि एचआइभी हुने सम्भावना रहन्छ । एचआइभीका कारण धेरै मृत्यु भइरहेको छ जसको मुख्य कारण मानिसले आफ्नो स्ट्याटस थाहा नपाउनु हो । नेपाल सरकारसँग औषधि खुवाउन सक्ने क्षमता छ ।

नेपालका सयको हाराहारी एआरटी साइडबाट देशभर औषधि उपलब्ध छ । तर पनि बिरामीको समयमा पहिचान नहुनु प्रमुख समस्याका रूपमा रहेको छ । जो व्यक्तिले एचआइभीसम्बन्धी जोखिमपूर्ण व्यवहार रहेको छ, उसले जाँच गराउनुपर्छ । तर, त्यसो गरेको पाइँदैन । केही समयका लागि वैदेशिक रोजगारीमा जाने व्यक्ति, स्वास्थ्यबारे राम्रो जनचेतना नभएका व्यक्ति एचआइभी संक्रमणको जोखिम भए पनि परीक्षण नगरिएका कारण अवसरवादी रोग लागेर अस्पताल आउने संख्या धेरै छन् ।

महिला यौनकर्मी दिदी–बहिनी, माइग्रेन्ट लेबर वर्कर, उनीहरुको परिवारका सदस्य, ड्रग प्रयोग गर्ने व्यक्ति, पुरुष समलिंगीहरु, यौनिक अल्पसंख्यक, गर्भवती महिलामा एचआइभी पहिचान तथा उपचारमा केन्द्रित गर्न जरुरी छ । यिनै वर्गका मानिसलाई तालिम दिएर एचआइभी परीक्षण गराई संक्रमितको खोजी गर्ने काम सुरु गर्न नितान्त आवश्यक देखिन्छ । एचआइभी एड्स संग रहेको लाञ्छनाविभेद, अशिक्षाको कारणले एचआइभी जोखिममा भएतापनि एचआइभी परीक्षण गर्न डराउछन् ।

एचआइभी संक्रमित पत्ता लागेपनि लुकेर बस्ने गर्दछन् । समाजको हेलाको कारणले औषधि खान छोड्ने र ड्रग जाने, रक्सी धेरै पिउने जस्ता कार्यहरु गर्ने गर्दछन् । तर यो क्रममा तुलनात्क परिवर्तन भने आएकै छ । कुनै बेला एचआइभी संक्रमित भन्ने वितिकै मानिसहरु झस्किन्थे । तर अहिले संक्रमित आफै खुल्नेक्रम बढेको पनि छ । यो एकदमै सकारात्क हो ।एकजना पार्टनरबाहेक अन्यसँग यौनसम्पर्क गर्नुहुँदैन । कोही व्यक्तिको पार्टनर खोज्ने बानी छ भने प्रत्येकपटक यौनसम्पर्क गर्दा कण्डमको सही प्रयोग गर्नुपर्छ ।

ड्रग लिने मानिसले सकेसम्म ड्रगको प्रयोग नगर्ने र नगरी नछोड्ने हो भने पनि सफा सुईको प्रयोग गर्नुपर्छ र साथीभाइबीच सुई आदान–प्रदान गर्नुहुँदैन । आफूमा एचआइभी संक्रमण छ कि छैन भनेर प्रत्येक आमाले एचआइभी परीक्षण गराउनुपर्छ । संक्रमण भइहालेको अवस्थामा तुरुन्तै एचआइभी संक्रमणविरुद्धको औषधि प्रयोग गर्नुपर्छ ।

एचआइभी संक्रमितलाई निन्दा गर्नु हुदैन । एचआइभी भएको व्यक्ति तपाईंसरह बाँच्न सक्छ । जबसम्म हामी संक्रमितलाई लाञ्छना गलाउँछौँ, विभेद गर्छौैं, त्यतिवेलासम्म ऊ बाँचेर पनि मरिरहेको हुन्छ । एचआइभी एड्सको कारणले मानिस मर्दैन, समाजबाट पाएको लाञ्छना र भेदभावका कारणले मरिरहेको हुन्छ । एचआइभी संक्रमण लामो समयसम्म औषधि खाएर जीवन व्यवस्थापन गर्न सकिने रोग हो । एचआइभी संक्रमण सामान्य रोग हो, जुन छुँदा, सँगै बस्दा, जुठो खाँदा सर्दैन ।

 

डा. रिसालसँग गरिएको भिडियो कुराकानी हेर्न तलको लिंक क्लीक गर्नुहोस् ।

 

 

  • १६ मंसिर २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech