चिकित्सकहरु भन्छन्–‘सजगता नपनाएर विद्यालय खोले स्थिति भयावह हुन सक्छ’

    • स्वास्थ्य पेज

  • ९ मंसिर २०७७, मंगलवार

तस्विरः गोर्खा बोर्डिङ स्कुल कोहलपुर

 

प्रियास्मृति ढकाल–
नेपालगन्ज ९, मंसिर ।

कोरोना महामारीका कारण लामो समयदेखि बन्द भएका विद्यालय खुल्नेक्रममा छन् । सरकारले विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहले आफ्नो निर्णयअनुसार विद्यालय खोल्ने तम्तयारीमा छन् । बाँकेका स्थानीय तहले पनि विद्यालय खुलाउने निष्कर्षसहित धमाधम निर्णय गरिरहेका छन् ।

भाइरसको जोखिम थप चुलिदै गइरहेका बेला विद्यालय खोल्दा त्यसको असर कस्तो पर्ला ? चिकित्सकहरु भन्छन्–‘ सर्तकता र सजगताको पूर्वतयारी विना विद्यालय खोल्दा स्थिति भयावह हुन सक्छ ।’ त्यसको उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन् । कर्णाली प्रदेशको हुम्लामा यो वर्षको शैक्षिक सत्र नै रद्ध गरिएको छ । केही दिन विद्यालय खुलेका थिए । विद्यार्थीहरुलाई भाइरस संक्रमण बढ्न थालेपछि हुम्लाका विद्यालय बन्दमात्र गरिएन् चालू शैक्षिकसत्र नै रद्ध गरिएको छ ।

त्यहाँ एउटै विद्यालयका ३३ छात्रछात्रामा भाइरस संक्रमण देखा पर्यो । नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका फिजिसियन डा आसिम किदवाई भन्नुहुन्छ–‘विद्यालय बन्द गरिनु पर्छ भन्ने मान्यतामा त म छैन् तर सावधानी नअपनाएर विद्यालय खोलिए स्थिति जटिल हुन सक्छ ।’ माक्सको अनिवार्य प्रयोग, ह्रयाण्डवास, सामाजिक दुरी र कक्षा कोठाका बेन्चमा फेसशिल्ड अनिवार्य गराउन सकियो भने जोखिम केही कम हुने उहाँको भनाइ छ ।

भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा राजेश मण्डल पनि सावधानी नअपनाएर विद्यालय संचालन गरे त्यसले भयावह स्थिति निम्त्याउन सक्ने जोखिम देख्नुहुन्छ । ‘विद्यालयका भौतिक संरचनाहरुलाई नै स्वास्थ्य सुरक्षाको मापदण्डअनुकूल बनाउन जरुरी देखिन्छ उहाँले भन्नुभयो–‘एकजनालाई संक्रमण फैलिने वित्तिकै सबै बालबालिकालाई संक्रमण फैलिन सक्ने जोखिम हुन्छ ।’

पि.टि खेल्दा हुने जमघट, धारा र सौचालय प्रयोग गर्दा विद्यार्थीको भिडभाड हुने भएकाले यसमा अत्यन्तै सजगता अपनाउनु पर्ने उहाँको सुझाव छ । तर स्वास्थ्य सुरक्षाको मापदण्ड पालनाको सवालमा नेपालीहरु गैरजिम्मेवार छन् । अहिलेपनि न मास्क न त सेनिटाइजर, न भौतिक दुरी । कुनैको पनि प्रभावकारी पालना हुन सकेको छैन् । यस्तो अवस्थामा विद्यालयहरुमा कसरी सम्भव होला ? नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादव भन्नुहुन्छ–‘स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर विद्यालय संचालन गर्न गाह्रो छ ।’ कैयौं विद्यालयका भवनहरु जिर्ण छन् ।

कक्षा कोठाको यसैपनि अभाव छ । कक्षा कोठामा झ्याल छैनन् । यस्तो अवस्थामा विद्यार्थीहरु कोच्चिएर कक्षा कोठामा बस्न बाध्य छन् । ‘कसरी भौतिक दूरी कायम गर्ने ?’–अध्यक्ष यादवको भनाइ छ । यस्तो जोखिमकाबीच अभिभावकहरुले बालबालिकालाई विद्यालय पठाउँदा केही भैहाल्यो भने जिम्मेवारी कस्ले लिने ? न सरकारले जिम्मेवारी लिने भनेको छ, न त स्थानीय तह आफैले । न विद्यालय नै जिम्मेवारी लिन तयार छन् । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल भन्नुहुन्छ–‘एकैपटक धेरैमा संक्रमण देखियो भने यहाँका अस्पतालले थेग्न असम्भव छ ।’

यसैपनि अहिलेको अवस्थामा कोभिड विशेष अस्पताल संचालनमा रहेका भेरी र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आईसीयू र भेन्टिलेटरको अभाव भइरहेको छ । त्यसैमाथि बालबालिकाहरुमा भाइरस संक्रमण देखिन थाल्यो भने र अवस्थामा जटिलता आयो भने आईसीयू र भेन्टिलेटर अभावमै ज्यानको जोखिम देखिन्छ ।

फिजिसियन डा किदवाई भन्नुहुन्छ–‘हामीसँग उपचारात्मक संरचनाहरु निकै कम छन् ।’ उहाँको यो भनाइ पनि धितालकै भनाइसँग मेल खान्छ । डा मण्डलपनि विद्यार्थीहरुमा लक्षण चिन्हसहितको संक्रमण दर बढ्यो भने र अक्सिजन नै दिनु पर्ने अवस्था आयो भने थेग्न गाह्रो हुने बताउँनुहुन्छ ।

अहिलेसम्को अवस्था हेर्दा बालबालिकाहरुमा भाइरस संक्रमणले बढी नच्यापेको भएपनि उनीहरुका कारण घरपरिवारमा रहेका ज्येष्ठ नागरिकहरुलाई सार्ने जोखिम उच्च हुने र त्यसले अर्को भयावह अवस्था ल्याउन सक्ने चेतावनी डा किदवाईको छ । ‘बालबालिकामा संक्रमणको दर कमै देखिएको छ डा किदवाईले भन्नुभयो–‘तर विद्यालयमा बालबालिकाकालाई संक्रमण भइहाले उनीहरुबाट घर परिवारमा सर्ने सम्भावना उच्च हुन्छ । त्यसको असर घरका वुवाआमादेखि हजुरवाआमालाई पर्न जान सक्छ ।’

अहिलेसम्मको मृत्युदर हेर्ने हो भने जेष्ठ नागरिक र रोगीहरु नै भाइरस संक्रमणबाट मृत्युवरण गरेको देखिन्छ । बाँकेमा अहिलेसम्म ३ हजा ७ सय ४७ जनामा भाइरस संक्रमण देखिएको छ । तीमध्ये १० बर्ष मुनिका बालबालिकाको संख्यामात्रै एक सयको हाराहारीमा छ । धन्न् अहिलेसम्म भाइरस संक्रमणसँग बाँकेमा एकजना बालबालिकाले पनि हारेका छैनन् ।

विद्यालय खोल्ने हतारो गर्नु भन्दापनि विद्यालयलाई स्वास्थ्य सुरक्षाका हिसावले पूर्णरुपमा तयार नगरेसम्म बालबालिकालाई भाइरस संक्रमणको जोखिमबाट बचाउँन महाभारत हुने चिकित्सकहरु बताउँछन् ।

  • ९ मंसिर २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech