एकाविहानै स्वास्थ्य राज्यमन्त्री किन पुगे भेरी अस्पताल ?

    • स्वास्थ्य पेज

  • ८ मंसिर २०७७, सोमबार

नेपालगन्ज ८, मंसिर ।
भेरी अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने गरी बृह्रतर गुरुयोजना निर्माण गर्न अस्पताल विकास समितिले सरकारको ध्यानाकर्षण गराएको छ । सोमवार विहान अस्पताल निरीक्षणका लागि आउनुभएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई अस्पताल विकास समितिले तीन पृष्ठ लामो ध्यानाकर्षण–पत्र बुझाउँदै भेरीलाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने गरी बृह्रतर गुरुयोजना निर्माण गर्न माग गरेको हो ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमकै प्रमुख स्वास्थ्य केन्द्रका रुपमा भेरी अस्पताल भएकाले त्यसैअनुसार यसको स्तरबृद्धि गरेर प्रभावकारी सेवा प्रदान गर्नेगरी गुरुयोजना निर्माणमा समितिले जोड दिएको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका मेडिकल सुपरिटेन्डेन (मेसु) डा प्रकाश थापाले उक्त ध्यानाकर्षण–पत्र बुझाउनुभएको हो । राज्यमन्त्री रावतसँग समितिले तत्कालिन मागहरु सम्वोधनको पहल गरिदिन पनि अनुरोध गरेको छ ।

सरकारले तयार पारेको जोखिम भत्ता निर्देशिका–२०७७ बमोजिम जोखिम भत्ता, तलव भत्ता कै समयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई वितरणको व्यवस्था मिलाउन आग्रह गरेको छ । कोभिड संक्रमित विरामीहरुका लागि आवश्यक पर्ने ई.रेमडिसिभिर र ई.मेरोपेन्म जस्ता औषधि सहज र सुलभ ढंगले प्राप्त गर्ने गरी प्रयाप्त मात्रामा उपलब्ध गराउन पनि राज्यमन्त्री रावतसँग माग गरेको छ ।

यस्तै समितिले १५ बेडको आईसीयू र २५ बेडको एचडियूसहितको १४२ बेडको कोभिड आइसोलेसन र नन कोभिड अस्पताल संचालनका लागि जनशक्तिको व्यवस्थापन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिले त्यस्का लागि कोभिड आइसोलेसनतर्फ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट, मेडिकल अफिसर, स्टाफ नर्स, सरसफाईकर्मी, सुरक्षागार्ड, कम्प्यूटर अपरेटरसहित १ सय ४८ र जनरल (नन कोभिड) तर्फ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट, मेडिकल अफिसर, कम्प्यूटर अपरेटर, स्टाफ नर्स, अनमी, अहेव, सफाईकर्मी र सुरक्षागार्डगरी ७५ जना कर्मचारीको व्यवस्थापन गरिदिन माग गरेको हो ।

तत्कालका लागि सिटि स्क्यान, एमआरआई र अक्सिजन प्लान्टको व्यवस्था मिलाउन पनि समितिले सरकारलाई भनेको छ ।चिकित्सक आवास भवन, नर्सिङ आवास, अन्य प्राविधिक र प्रशासनिक आवास र विरामी कुरुवा घरका लागि पहल गरिदिन पनि राज्यमन्त्रीमार्फत समितिले ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण–पत्र बुझेपछि राज्यमन्त्री रावतले मागप्रति मन्त्रालय सकारात्मक रहेको बनाउनुभयो ।

राज्यमन्त्री रावतले अस्पतालको कोभिड आइसोलेसन वार्डको पनि निरीक्षण गर्नुभएको थियो । बनेको र बन्दै गरेको आइसोलेसन वार्डमा पुगेका मन्त्री रावतलाई अस्पतालका मेसु डा थापाले अस्पतालको अवस्था, समस्या र चुनौतिबारे जानकारी गराउनुभएको थियो । सुर्खेतबाट काठमाडौं जाने क्रममा राज्यमन्त्री रावतले भेरी अस्पतालको निरीक्षण गर्नुभएको हो ।

  • ८ मंसिर २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech