सुदूरपश्चिममा कोरोना परीक्षण दर ह्वात्तै घट्यो

    • स्वास्थ्य पेज

  • ६ मंसिर २०७७, शनिबार

 

धनगढी ६, मंसिर ।

अछामको कमलबजार नगरपालिकाले स्थापना गरेको प्रयोगशाालामा पछिल्लो ३ दिनसम्म कोरोना परीक्षण भएन । स्वाब नहुँदा विहिबार, बुधबार र मंगलबार कोरोना परीक्षण हुन नसकेको हो । कुनैबेला २४ घण्टामा १ सय २८ जनाको परीक्षण हुने गरेको प्रयोगशालामा स्थानीय तहहरुले स्वाब संकलन गर्न छोडेपछि नमूना परीक्षण ह्वात्तै घटेको हो ।

परीक्षण हुन छाडेपछि प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीहरु फुर्सदिला बनेका छन् । भने, स्वाव नै संकलन नभएपछि जिल्लामा कोरोनाको जोखिम बढ्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । कमलबजार नगरपालिकाका स्वास्थ्य संयोजक चक्र विष्टले स्थानीय तहहरु संगै अन्य जिल्लाहरुबाट स्वाबको नमूना आउन छोडेको बताउनुभयो । ‘स्वाब नै नआएपछि परीक्षण नभएको उहाँको भनाइ छ ।

विहिबार नै सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा ४ सय ९२ जनाको मात्रै कोरोना परीक्षण भयो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३ सय ५८ जनाको परीक्षण भयो । जिल्ला अस्पताल बझाङमा ९७, डडेल्धुरा अस्पताल प्रयोगशालामा ३४ र बैतडी अस्पताल प्रयोगशालामा ३ जनाको मात्रै कोरोना परीक्षण भयो । एक प्रयोगशालामा दैनिक १ हजार नमूना परीक्षण गर्न सकिने क्षमता छ ।

जिल्ला अस्पताल बैतडीका मेसु डा बशन्तराज जोशीले पनि स्वाब आउन छोडेपछि परीक्षण घटेको बताउँनुभयो ।तर प्रदेश सरकारले स्थानीय तहहरुलाई कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको स्वाब संकलन गर्न निर्देशन दिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीको भनाइ छ ।

  • ६ मंसिर २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech