कोरोना संक्रमणः बाँकेका भन्दा बाहिरबाट आएका धेरैको मृत्यु

    • स्वास्थ्य पेज

  • ५ मंसिर २०७७, शुक्रबार

तस्विरः फाइल

 

नेपालगन्ज ५, मंसिर ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा विहीबार विहान तुलसीपुर उपमहानगरपालिका–६ दाङका कोरोना संक्रमित ५६ वर्षका पुरुषको उपचारका क्रममा मृत्युभयो । विहीबार तुलसीपुर–६ कै ८१ वर्षका पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्युभयो । यस्तै विहीबार नै अछाम तुर्माखाद–३ का २५ वर्षीय युवकको मेडिकल कलेज कोहलपुरमै मृत्यु भयो ।

एकैदिन तीनजनकोे मृत्यु भएसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका कोरोना संक्रमितको मृत्यु संख्या ४४ पुगेको छ । तीमध्ये १० महिला र ३४ पुरुष छन् । बाँकेमै मृत्यु भएकाहरुको संख्या भने अहिलेसम्म ३७ मात्र छ । त्यसमा १४ महिला र २३ पुरुष रहेका छन् । बाँकेमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ८१ जनाले ज्यान गुमाएका छन् । तीमध्ये धेरै जिल्ला बाहिरका छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार जिल्ला बाहिरबाट आउने विरामीहरु यहाँका अस्पतालहरुसँग समन्वयविना ल्याउँदा पनि समस्या भएको बताउनुहुन्छ ।

अहिलेसम्म सबैभन्दा धेरै दाङका १८ जना, बर्दियाका ८, कैलाली र कञ्चनपुरका ४–४ जना, सुर्खेतका ३, दैलेख र अछामका २–२ जना, दैलेख, रोल्पा र अर्घाखाँचीका १–१ जनाको उपचारका क्रममा बाँकेका विभिन्न अस्पतालमा मृत्यु भएको छ । तीमध्ये २६ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा, १७ जनाको भेरी अस्पताल नेपालगन्जमा र १ जनाको वेस्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरका उपनिर्देशक डा दिनेश श्रेष्ठ भन्नुहुन्छ–‘हामीसँग स्रोतसाधनको कमी छ । १५ वटा आईसीयू वेड रहेको अस्पतालमा सबै बेड अहिले संक्रमितले भरिभराउ छन् । अस्पतालसँग दुईवटा मात्र भेन्टिलेटर छ । गम्भीर संक्रमित आए उपचारै गर्न गाह्रो छ । दाङ, सुर्खेत र धनगढीलगायतका विरामी आउनेक्रम रोकिएको छैन् । टाढाबाट सिरियस विरामी ल्याउँदा त्यसैपनि जोखिम हुन्छ ।’
धेरै जस्तो संक्रमितहरु दाङ र सुर्खेतबाट रिफर भएर आउने गरेका छन् ।

दाङ र सुर्खेतमा कोरोना विशेष अस्पताल नै सरकारले संचालन गरेको छ किन त्यही उपचार नगरेर विरामी रिफर गरेको हो ? राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा सर्वेश शर्मा स्वास्थ्य पेजलाई भन्नुहुन्छ–‘ विरामीलाई हामीले रिफर गरेका होइनौं उहाँहरु स्वयम आफै जानु भएको हो ।’ ‘सुरुमा केही केसहरु हामीले रिफर गरेको हो, उहाँले भन्नुभयो–‘तर अहिले विरामी आफैले म नेपालगन्ज जान्छु भनेपछि हामीले रोक्न मिल्दैन् ।’

उपचार कहाँ गर्ने विरामीको अधिकार भएको उहाँको भनाइ छ । बेलझुण्डी अस्पतालमा ५ वटा आईसीयू र ३ वटा भेन्टिलेटर छन् । ती अधिकांश भरिभराउ छन् । ‘सकेसम्म हामीले विरामीहरुलाई रोगको प्रकृति अनुसार यही उपचार गरिरहेकै छौं कोरोना विशेष अस्पतालको कमाण्ड सम्हाल्दै आउनुभएका डा शर्माले भन्नुभयो–‘सुविधासम्पन्न अस्पतालमा उपचार लिन जान्छु भन्दा रोक्ने अवस्था हुँदैन् ।’
बेलझुन्डीमा प्लाज्मा थेरापीबाहेक संक्रमितको उपचारका लागि अन्य सबै प्रकारको सेवा दिने गरिएको उहाँको भनाइ छ । विगतदेखि नै दाङका विरामी उपचारका लागि नेपालगन्जको भर पर्ने गर्छन् । कोरोनाका विरामीमात्र होइन् अन्य रोगका विरामीपनि नेपालगन्ज अथवा कोहलपुरमै आउने गरेका छन् ।

भुगोलाका हिसावले पनि त्यसको असर परेको मेसु डा शर्माको बुझाइ छ । देउखरी क्षेत्रका मानिसहरु तुलसीपुर र घोराहीभन्दा कोहलपुर–नेपालगन्ज पायक पर्छ । ‘ठूला अस्पताल नेपालगन्जमै छन र सेवा प्रवाह बलियो पनि त्यहीको छ भन्ने मानसिकताले पनि विरामीलाई काम गरेको भएर संक्रमित विरामी नेपालगन्जमै जाँदा बाहिरी जिल्लाको मृत्युदर बढेको हो’ मेसु डा शर्माको थप भनाइ छ ।

डा श्रेष्ठ सरकारले निश्चित समयअवधिका लागि भएपनि स्रोतसाधन उपलब्ध गराउन सके मेडिकल कलेज कोहलपुरबाटै थप विरामीको उपचार दिन सकिने बताउनुहुन्छ । ‘हामीसँग मेनपावर छ, सरकारले कम्तिमा आईसीयू वेड र भेन्टिलेटर थप्दियोस् ।’ उहाँले बाहिरी जिल्लाबाट आउने विरामीलाई समन्वय गरेर मात्र आउन र पठाउन आग्रह गर्नुभएको छ । त्यसो गर्दा अस्पतालले तयारी समयमै गर्ने र विरामीले सहि समयमा उपचार पाउने बताउनुभयो ।

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech