सिमिकोट विमानस्थलबाट दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

    • स्वास्थ्य पेज

  • ५ मंसिर २०७७, शुक्रबार

 

हुम्ला ५, मंसिर ।

जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमिकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई हुम्ला प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जना जिल्लामा कार्यरत स्वास्थ्यकर्मी नभए पनि साथीको विवाहका लागि बिहीबार बिहान सुर्खेतबाट पीसीआर  परीक्षणबिनै सदरमुकाम सिमिकोट पुगेका हुन् ।

जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पीसीआर परीक्षण नै नगरी सिमिकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो। कालिकोट र जाजरकोट स्थायी घर भएका उनीहरु पीसीआर परीक्षण नगरी जिल्ला भित्रिएपछि जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो।

सिमिकोट विमानस्थलमा स्थापना गरिएको हेल्थ डेस्कमा जाँचका क्रममा पीसीआर रिपोर्ट माग्दा नदिएपछि पीसीआर नगरी आएको थाहा हुने बित्तिकै विमानस्थल सुरक्षाका लागि खटिएको प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालये जनाएको छ ।

नियन्त्रणमा लिइएका दुवैलाई अहिले सिमकोट गाउँपालिकाको सिमसारमा रहेको शिल्पकला भवनमा राखिएको छ ।आज उनीहरुको एन्टिजेन टेस्ट किटबाट कोरोना परीक्षण गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । निजी लगानीमा एन्टिजेन टेस्ट किटबाट परीक्षण गरी नेगेटिभ आए गन्तव्यमा पठाउने र पोजेटिभ आए स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टिनमा राखिने भएको छ ।

 

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech