वीरका कर्मचारीको आन्दोलन ३१ दिन पुग्यो, भोलीबाट थप आन्दोलनको घोषणा

    • स्वास्थ्य पेज

  • ३ मंसिर २०७७, बुधबार

काठमाडौं ३, मंसिर ।
वीर अस्पतालका कर्मचारीहरुले थालेको आन्दोलन महिना दिन पूरा भएपनि रोकिएको छैन् । दैनिक नारा जुलुस गर्न थालेको ३१ दिन पुग्दा पनि उनीहरुको माग सम्वोधन हुन सकेको छैन् । मंसिर ४ गतेदेखि वीर अस्पतालमा न्याम्स पदाधिकारी अस्पताल प्रवेश निषेधको कार्यक्रम उनीहरुले सार्वजनिक गरेका छन्। यो क्रम मंसिर १२ गतेसम्म चल्नेछ।

डाक्टर, नर्स सहितका कर्मचारीहरु दैनिक एक घन्टा धर्नामा बस्छन्। अनि पदाधिकारी विरुद्धको नारा जुलुस गर्छन्। हातमा कालो पट्टी बाँधेर पम्पलेट सहित धर्नामा बस्नु वीर अस्पतालका कर्मचारीको दैनिकी जस्तै बनेको छ। १० बजे पुगेर अस्पतालमा हाजिर गरी काममा लाग्नुपर्ने कर्मचारीहरु बिहान साढे १० देखि साढे ११ बजेसम्म धर्नामा बस्छन्।

यसलाई दैनिक बनाउनु उनीहरुको रहर नभई बाध्यता हो। यसरी दैनिक नारा जुलुस सहित धर्ना दिन थालेको बुधबार ३१ दिन पूरा भएको छ। तर वीर अस्पतालका आन्दोलित कर्मचारीहरुले अस्पतालको सेवामा भने बाधा पुर्‍याएका छैनन् न त बिरामीलाई मर्कामा पारेका छन्।

कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरु कात्तिक २ गतेदेखि आन्दोलनमा छन्। पटकपटक ध्यानाकर्षण गराउँदा पनि उनीरुको माग सम्बोधन हुन सकेको छैन।

नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेको बताउनुभयो । माग सम्वोधन नभएपछि थप विरोधका कार्यक्रम सार्वजनिक गरिएको पनि उहाँको भनाइ छ ।

  • ३ मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech