कार्य सम्पादन मूल्यांकनमा बर्दिया अस्पताल लुम्बिनी प्रदेशमै उत्कृष्ट

    • स्वास्थ्य पेज

  • २७ कार्तिक २०७७, बिहीबार

नेपालगन्ज २७, कात्तिक ।
न्यूनतम सेवा मापदण्ड र कार्य सम्पादन मूल्यांकनमा बर्दिया अस्पताल लुम्बिनी प्रदेशमै उत्कृष्ट भएको छ । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत् १२ जिल्लामा रहेका १३ वटा अस्पतालमध्ये बर्दिया अस्पताल प्रदेशकै उत्कृष्ट भएको हो । यस्तै गुल्मी अस्पताल दोस्रो भएको छ भने रोल्पा अस्पताल तेस्रो भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको न्यूनतम सेवा मापदण्डमा बर्दिया अस्पताल उत्कृष्ट भएको अस्पतालका प्रमुख मेसु डा सुभाष पाण्डेले जानकारी दिनुभयो । सामाजिक विकास मन्त्री सुर्दशन बराल र सचिव महादेव पन्तले उत्कृष्ट अस्पतालहरुलाई सम्मानित गर्नुभएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञ टोली बनाएर अस्पतालको न्यूनतम सेवा मापदण्डको बर्षमा दुई पटक अनुगमन गर्ने गरेको छ । उक्त अनुगमनका आधारमा अस्पतालहरुलाई अंक दिने गरिएको छ । यसपाली कूल अंक सात सय राखिएको थियो । त्यसमा बर्दियाले ६२ प्रतिशत हासिल गरेको प्रमुख मेसु पाण्डेले बताउनुभयो ।

आर्थिक बर्ष २०७६/७७ मा अस्पतालले प्रवाह गरेको न्यूनतम सेवाको प्रभावकारिता, संघ र प्रदेश सरकारले अस्पताललाई पठाएको खर्चको अवस्था र योपालिका लकडाउनको अवधिमा अस्पतालले प्रवाह गरेको सेवालगायतका बिषयलाई समेत मूल्यांकन आधार बनाइएको थियो । बर्दिया अस्पताल लकडाउनको अवधिमा पूर्णरुपमा संचालनमा रहेर विरामीलाई सेवा दिएको थियो ।

अस्पतालले करिव ५० हजारलाई ओपिडी सेवा दिएको थियो भने करिव १० हजारलाई इर्मेजेन्सी सेवा दिएको प्रमुख मेसु पाण्डेले बताउनुभयो । यस्तै संघ र प्रदेश सरकारले अस्पताललाई पठाएको बजेट ९१ प्रतिशतले खर्च गर्न सफल भएको पनि उहाँले जानकारी दिनुभयो ।

जिल्लाको एउटामात्र यो अस्पतालमा डा पाण्डेको आगमनसँगै सेवा प्रवाहमा गुणस्तरीयता थपिएको बर्दियालीबासीको भनाइ छ । सबैको सहयोग र सहकार्यबाट बर्दिया अस्पताल उत्कृष्ट भएको भन्दै प्रमुख मेसु पाण्डेले सबैप्रति आभार प्रकट गर्नुभएको छ ।

  • २७ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech