भेरी अस्पतालमा पीसीआर परीक्षणका लागि सिफारिसपत्रमा किर्ते गरेको आरोपमा तीनजना पक्राउ

    • स्वास्थ्य पेज

  • २६ कार्तिक २०७७, बुधबार

तस्विर : फाइल

नेपालगन्ज २६, कात्तिक ।
भेरी अस्पताल नेपालगन्ज परिसरबाट बुधवार दिउँसो प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पीसीआर परीक्षणका बिषयमा अनुसन्धान गर्नु परेको भन्दै अस्पतालको सुरक्षार्थ खटिएका तीनजना कर्मचारीलाई पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा सुरक्षा गार्ड विवेक अधिकारी, बद्री खनाल र बासुदेव जोशी रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अहिले अनुसन्धान सुरु भइरहेको बाँकेका एसपी ओम बहादुर रानाले जानकारी दिनुभयो । पीसीआर परीक्षणका लागि सिफारिसपत्रमा किर्ते गरेको पक्राउ परेकामाथि प्रारम्भिक आरोप छ । यद्यपी प्रहरीले यसबारे गहिरिएर अध्ययन गरिरहेको जनाएको छ ।

तीन दिन अघि सरकारले सरकारी अस्पतालमा निशुल्क कोरोना परीक्षण गर्न भनिसकेको छ । त्योभन्दा अघि विपन्न समुदायका नागरिकहरुको कोरोना परीक्षण निशुल्क भनेपनि अन्यको भने रकम लिने गरिएको थियो । त्यस्तै कोरोनाको परीक्षण गर्नै पर्ने लक्षण चिन्ह देखिएका विरामीको पनि निशुल्क परीक्षण भेरीमा हुँदै आएको थियो । तर निशुल्क परीक्षणका लागि मेसुले हस्ताक्षर गर्नुपथ्र्यो ।

अस्पतालका निमित्त मेसु डा सुमन अर्यालका अनुसार, निशुल्क परीक्षणको सिफारिसमा सुरक्षागार्डहरुले बदमासी गरेको हुन सक्ने भएपनि यसबारे अस्पताल पनि अनुसन्धानमा जुटेको स्वास्थ्य पेजलाई बताउनुभयो । अस्पतालका प्रयोगशाला सहायक इन्चार्ज प्रचण्ड गौतमले पीसीआर परीक्षणका सवालमा शंका नगर्न आग्रह गर्नुभएको छ ।

स्वास्थ्य पेजसँग टेलिफोनमा कुरा गर्दै उहाँले भन्नुभयो-‘हामीले हाम्रो इथिक्समा रहेर काम गरिरहेका छौं, कोरोना पीसीआर रिपोर्ट नेगेटिभलाई पोजेटिभ गराउने गरेको सुनियो त्यो निराधर छ ।’ भेरी अस्पतालले अहिलेसम्म ४७ हजार ८ सय १९ जनाको स्वाब परीक्षण गरिसकेको छ । त्यसमा ३ हजार ९ सय ७३ जनामा पोजेटिभ देखिएको छ ।

  • २६ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech