भारतमा एक लाख कोरोना संक्रमित निको भए

    • स्वास्थ्य पेज

  • २१ जेष्ठ २०७७, बुधबार

नेपालगन्ज, २१ जेष्ठ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसका एक लाख संक्रमित निको भएका छन् । अहिलेसम्म भारतमा एक लाख ३०३ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा करिब पाँच हजार संक्रमित निको भएका हुन् । पछिल्लो समय भारतमा संक्रमितका साथै निको हुनेको संख्या पनि बढिरहेको छ ।

भारतमा अहिलेसम्म समग्र संक्रमितको संख्या दुई लाख सात हजार ६१५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ९०९ नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पाँच हजार ८१५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २१७ जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा ७२ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिँदा दुई हजार ४६५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा २४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने १९७ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा पनि २२ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिँदा ५५६ जनाको मृत्यु भएको छ । गुजरातमा १७ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा एक हजार ९२ जनाको मृत्यु भएको छ ।

पश्चिम बंगालमा ६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा ३३५ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा आठ हजारभन्दा बढीमा संक्रमण देखिँदा २२२ जनाको मृत्यु भएको छ । बिहारमा चार हजार एक सयभन्दा बढी संक्रमित छन् भने २४ जनाको मृत्यु भएको छ ।

  • २१ जेष्ठ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech