रुपन्देहीमा कोरोनाबाट अनमीको मृत्यु

    • स्वास्थ्य पेज

  • २५ कार्तिक २०७७, मंगलवार

बुटवल २५, कात्तिक ।

रुपन्देहीमा कोरोना संक्रमणबाट एकजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य केन्द्रकी सिनियर अनमीको मृत्यु भएको हो । उनीसहित अरु २ जनाको पनि मृत्यु भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० की ४८ वर्षीया ती अनमीको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । रुपन्देहीमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु यो नै पहिलो हो ।

कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएपछि १८ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी उनको सोमबार राति १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा नारायण पोखरेलले बताउनुभयो ।

यस्तै सिद्धार्थनगर नगरपालिका–१२ का ७० वर्षीय पुरुषको पनि भीम अस्पताल भैरहवामा मृत्यु भएको छ । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनको मंगलबार बिहान ६ बजे मृत्यु भएको हो। संक्रमित पुरुष दमको दीर्घरोगी थिए ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ८९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ । कपिलवस्तुका ७९ वर्षीय संक्रमितको बुटवलमा मृत्यु

यसैगरी कपिलवस्तुका एकजना कोरोना संक्रमितको बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ का ७९ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

कात्तिक २३ गते बिहान १० बजे अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा भर्ना भएका उनको सोमबार दिउँसो २ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनको सोमबार राति ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताउनुभयो ।

योसँगै कपिलवस्तु जिल्लामा कोरोना संक्रमितको मृत्यु हुने संख्या १४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ ।

  • २५ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech