रुकुम पश्चिमका चार स्थानीय तहले पालिकामै बनाए अस्पताल

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०७७, सोमबार

रुकुम पश्चिम २४, कात्तिक ।
रुकुम पश्चिम का चार स्थानीय तहले आफ्नै लगानीमा अस्पताल स्थापना गरेका छन् । आठबीसकोट र चौरजहारी नगरपालिकासहित सानीभेरी र त्रिवेणी गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएका हुन् । संविधानमा नगरपालिकामा २५ र गाउँपालिकालमा १५ शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने उल्लेख छ । स्थानीय तहहरुले त्यसैअनुसार अस्पताल स्थापना गरी उपचार सेवा प्रवाह गरिरहेका हुन् । आठबीसकोट नगरपालिकाले २०७५ असोज १२ गतेदेखि नगर अस्पताल सञ्चालनमा ल्याएको थियो ।

९ नम्बर वडाको राडीस्थित स्वास्थ्यचौकीलाई नगर अस्पतालमा स्तरोन्नति गरिएको हो । २५ शय्याको अस्पताल बनेपछि स्थानीयले ३ वर्षदेखि चिकित्सकीय सेवा पाइरहेको नगरप्रमुख गोर्खबहादुर केसीले बताउनुभयो । सानीभेरी गाउँपालिकाले २०७६ फागुन १ गतेदेखि अस्पताल सञ्चालनमा ल्याएको थियो । ७ नम्बर वडाको छोटेबगरमा चिकित्सकसहित १८ स्वास्थ्यकर्मीले २४ सै घण्टा उपचार गरिरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले बताउनुभयाए । १५ शय्याको उक्त अस्पतालको संरचनाअनुसार अहिले १० बेड राखिएको छ ।

चौरजहारी नगरपालिकाले पनि सहिद स्मृति नगर अस्पताल सञ्चालनमा ल्याएको छ । १० नम्बर वडाको सहिद स्मृति मैदानमा ५ शय्याको अस्पताल सञ्चालनमा आएको हो । अस्पतालमा चिकित्सकसहित २२ स्वास्थ्यकर्मीले उपचार थालेका छन् । अस्पतालले २४ सै घण्टा आकस्मिक सेवाको साथै प्रयोगशाला, डिजिटल एक्सरे, फार्मेसी, इसीजीलगायत उपचार सुरु गरेको नगरप्रमुख विशाल शर्माले बताउनुभयो ।

  • २४ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech