धनगढीको कोरोना अस्पताल विरामीले भरिभराउ

    • स्वास्थ्य पेज

  • २३ कार्तिक २०७७, आईतवार

धनगढी २३, कात्तिक ।

सेती प्रादेशिक अस्पताल मातहत रहनेगरी स्थापना गरिएको कोभिड अस्थायी अस्पतालका शैया संक्रमितले भरिएका छन् । जनरल वार्ड मात्र होइन् अस्पतालको सघन उपचार कक्ष आईसीयू पनि भरिएको छ भने ३ वटा भेन्टिलेटर मात्र खाली छ । १० शैयाको आईसीयू सेटअप रहेको अस्पतालले जनरल वार्ड समेत अक्सिजनको उपलब्धता हुनेगरी वैकल्पीक व्यवस्था गर्दै २० शैयाको बनाएको छ तर अस्पताल भर्ना भएका १७ जना संक्रमितलाई आईसीयूमा राखेपछि अब ३ वटा वैकल्पीक शैया मात्र खाली छन् ।

प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालका शैया संक्रमितले भरिएछि अब आउने संक्रमितलाई कसरी उपचार सेवा दिने भन्ने चुनौती अस्पताल सामू उभिएको छ । अहिलेकै अवस्थामा थप जटिल खालका संक्रमित आएमा भर्ना गर्न सकिने स्थिती नभएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो । आवश्यक परे सेती प्रादेशिक अस्पतालकै पूरानो भवनमै भएपनि व्यवस्थापन गर्ने तयारी भएको उहाँको भनाइ छ ।

अस्पतालमा सिमित जनशक्ति र आईसीयु तथा भेन्टिलेटर हुँदा गम्भीर संक्रमितले उपचार नपाउने स्थिती आएको छ । सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद जोशीले उपलब्ध पूर्वाधार र जनशक्तिले भ्याए सम्म संक्रमितलाई सेवा दिइरहेको बताउँदै थप शैया र उपकरण व्यवस्थापन गर्ने विषयमा माथिल्लो निकायसँग छलफल भइरहेको बताउनुभयो । सुदूरपश्चिममा धनगढीको कोभिड अस्थायी अस्पताल सहित विभिन्न १८ अस्पतालमा ३ सय १० आईसोलेसन वेड छन् ।

ती मध्ये अहिले सम्म ८४ जना अस्पताल भर्ना भएका छन् । अन्यत्रका अस्पतालमा तत्काल आईसीयू र भेन्टिलेटर सेवाको उपलब्धता नहुँदा उपचारका लागि सेती प्रादेशिक अस्पतालमै पठाउने गरिएको छ । तर सेतीमा समेत शैया भरिएपछि उपचारमा समस्या हुने देखिएको छ।

  • २३ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech