बाँकेको खजुरा स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल बनाइने

    • स्वास्थ्य पेज

  • १७ कार्तिक २०७७, सोमबार

नेपालगन्ज १७, कात्तिक ।
बाँकेको खजुरा गाउँपालिकामा रहेको खजुरा स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालकारुपमा विकास गरिने भएको छ । त्यसका लागि गाउँपालिकाले सोमवारदेखि जग्गा सर्वेक्षणको काम सुरु गरेको पालिका अध्यक्ष किष्मत कुमार कक्षपतिले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ शैय्याको अस्पताल निर्माण गरिने विभिन्न स्थानीय तह र स्तरोन्नती हुने १ सय २२ वटा अस्पताल टुंगो लगाउने क्रममा बाँकेको खजुरा स्वास्थ्य केन्द्र पनि परेको हो । स्थानीय तह र स्वास्थ्य संस्थाको टुंगो लगाएसँगै मन्त्रालयले ती सबै अस्पतालका लागि बजेट पनि अख्तियारी गरिसकेको छ ।

अर्थ मन्त्रालयले बजेट पठाउनका लागि स्वीकृती दिइएसँगै खजुराले १८ करोड ६ लाख ८२ हजार रुपैयाँ पाएको छ । आवाससहित भवन निर्माणको काम गर्ने गरी तयारी सुरु गरिएको अध्यक्ष कक्षपतिले बताउनुभयो । उहाँले डेढ बर्षभित्रै काम सम्पन्न गरेर सेवा दिने गरी मंसिर १५ गते शिलान्यास कार्यक्रमको तयारी गरिएको पनि बताउनुभयो ।

पहिलो चरणमा विभिन्न स्थानीय तहका १ सय २२ वटा अस्पताल छनोट गरेर ती अस्पताललाई १५ शैय्याका अस्पतालमा स्तरोन्नती गर्ने काम अगाडि बढाइएको स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका तथ्यांक अधिकृत सुर्यबहादुर खड्काले जानकारी दिनुभयो ।

यसअघि मन्त्रालयले १५ शैय्याका अस्पताल बनाउनका लागि विभिन्न स्थानीयत तहका अस्पतालहरुलाई सूचीकृत गरेको थियो । अस्पताल सूचीकृत गरेपछि त्यसको सम्भाव्यता अध्ययन गर्न भवन विभागलाई जिम्मेवारी दिइएको थियो ।

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech