बैतडीमा अस्थायी कोभिड अस्पताल संचालनमा ढिलाई

    • स्वास्थ्य पेज

  • १५ कार्तिक २०७७, शनिबार

 

बैतडी १५, कात्तिक ।
बैतडीका ९ वटा स्थानीय तहमा सञ्चालन हुने भनिएका अस्थायी कोभीड अस्पताल सञ्चालनमा आउन सकेका छैनन्। स्थानीय तहहरुले अस्थायी कोभीड अस्पतालका सञ्चालनका लागि प्रक्रिया सुरु गरेका भएपनि सञ्चालन भने भएका छैनन् ।

स्थानीय तहहरुमा अस्थायी कोभीड अस्पताल निर्माणका लागि १० लाखका दरले बजेट पठाइएको छ। बैतडीमा दशरथचन्द नगरपालिका बाहेकका सबै स्थानीय तहमा ५ बेडका अस्थायी कोभीड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालयले जनाएको छ। ती अस्पतालमा एकजना चिकित्सक, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगीको दरबन्दी भएपनि चिकित्सक भने पाइएका छैनन्।

धेरैजसो स्थानीय तहहरुले दोस्रो पटकसम्म आवेदन खुला गर्दासमेत चिकित्सक नपाएको बताएका छन्। अस्थायी कोभीड अस्पताल सञ्चालनका लागि दुईपटक डाक्टरको लागि आवेदन खोलेको भएपनि कसैको आवेदन नपरेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयो ।

कोरोना भाइरसको जोखिम बढ्दै गएकाले कोरोनाका बिरामीहरुको उपचारका लागि अस्थायी कोभीड अस्पताल निर्माणको अवधारणा ल्याइएको हो। अस्थायी कोभीड अस्पातल सञ्चालनका लागि आएको १० लाख बजेटमध्ये स्थानीय तहहरुले ५ लाख बेड लगायतका सामग्री खरीदमा खर्च गर्नुपर्नेछ भने ५० हजार बराबरको औषधि खरिद गर्नुपर्नेछ।

यी अस्पताल तीन महिनाका लागि सञ्चालन गर्नुपर्ने भएकाले स्थानीय तहमै भएका स्वास्थ्य संस्थाहरुमा यी अस्पतालहरु सञ्चालन गर्नुपर्ने छ।

  • १५ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech