आईसीयू वेड अभावमा विरामीको मृत्यु

    • स्वास्थ्य पेज

  • १२ कार्तिक २०७७, बुधबार

रोशन भट्ट
धनगडी १२, कात्तिक ।
कैलालीको गौरीगंगा नगरपालिका-२ की १४ वर्षीया सरीता ओझालाई जन्डिसको समस्या थियो । गत आइतबार स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि धनगढी ल्याइयो । सुरुमा निसर्ग अपस्तालमा लगिएकोमा चिकित्सकले आईसियूमा राखेर उपचार गर्नुपर्ने बताए । तर अस्पतालले आईसियू खाली नभएको भन्दै अन्यत्र लैजान भन्यो । ओझालाई धनगढीकै माया मेट्रो, नवजीवन अस्पताल र सेती प्रादेशिक अस्पतालमा लैजादा समेत आईसियू खाली नभएको भन्दै भर्ना नलिएको उहाँका दाजु पवन ओझाले दुखेसो सुनाउनुभयो ।

‘सेती प्रादेशिक अस्पतालसहित धनगढीका निजी अस्पतालहरुले समेत आईसियुमा भर्ना गरेनन्’, उहाँले भन्नुभयो, ‘धनगढीमा आईसियू सेवा नपाएपछि नेपालगञ्ज लैजादै गर्दा बहिनीकोे बाटोमै ज्यान गयो ।’ सुदूरपश्चिममा अहिले प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा मात्र आईसियू सेवा उपलब्ध छ भने निजी क्षेत्रबाट सञ्चालित धनगढीको निसर्ग, माया मेट्रो र नवजीवन अस्पतालमा आईसियू सेवा छ । तर सीमित शैया हुँदा बिरामीको अकालमै ज्यान जाने गरेको छ ।

कोरोना महामारीपछि सेती अस्पतालमा आईसियू सेवा विस्तार भए पनि शैया सीमित हुँदा गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता कायमै रहेको सेती प्रादेशिक अस्स्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो । ‘जनरल वार्डमा ५ बेडको आईसियू सेवा उपलब्ध छ । तर उक्त बेडहरु खाली पाउन मुस्किल हुन्छ,’ उहाँले भन्नुभयो, ‘आईसियूमा राख्नु पर्ने विरामीहरु बढेपछि फिर्ता पठाउनु पर्ने बाध्याता छ ।’

कञ्चनपुरको महाकाली अस्पतालमा पनि कोरोना महामारीपछि आइसियु सञ्चालन भएको छ । तर कोरोना संक्रमित र अन्य बिरामीका लागि छुट्टाछुट्टै शैया व्यवस्थापन गरिएको छैन् । थप आईसियूका बेड थप्ने तयारी भए पनि ढिलाइ हुँदा गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता कायमै रहेको हो ।

‘महाकाली अस्पतालमा ६ बेडको आईसियू सेवा उपलब्ध छ,’ महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भन्नुभयो, ‘कोरोना र अन्य बिरामीहरुको लागि अलग–अलग भने छैन् ।’

कोरोना संक्रमणको अवस्था भयावह नभएकै बेला पनि गम्भीर प्रकृतिका बिरामीलाई आईसियूमा भर्ना लिन नसकिदा अकालमै ज्यान गुमानुपर्ने अवस्था सिर्जना भएको छ । तर प्रदेश सरकारले भने थप आईसियू र भेन्टिलेटर सेवा विस्तारमा उदासिनता देखाउँदा स्वास्थ्य समस्या जस्ताको त्यस्तै छ ।

तर प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले आईसियूको व्यवस्थापन कोभिड र जनरलका लागि अलग–अलग गरिएको बताउनुभयो । जस्का कारण जनरल वार्डतिरका विरामीलाई बेड नपाउने केही समस्या रहेको उहाँको भनाइ छ ।

 

  • १२ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech