किन मान्छेको निद्रा बिथोलिँदैछ ?

    • स्वास्थ्य पेज

  • २० जेष्ठ २०७७, मंगलवार

Close up of a woman sleeping on the bed

किन मान्छेको निद्रा बिथोलिँदैछ ? यसमा खराब जीवनशैली मुख्य कारण बनेको छ। केही समयअघि निद्राकै सम्बन्धमा एक सर्वेक्षण भएको थियो । जसअनुसार खासगरी यी पाँच कारणले निद्रा बिथोलिने देखिन्छ। चिन्ता, तनाव ९५४ प्रतिशत, पर्यावरण ९४० प्रतिशत, कार्य वा विद्यालयको सेड्युल ९३७ प्रतिशत, मनोरञ्जन ९३६ प्रतिशत र स्वास्थ्य कारण ९३२ प्रतिशत छ ।

निद्रा एक औषधि

शारीरिक स्वास्थ्य र तन्दुरुस्तीका लागि आवश्यक छ, पर्याप्त र गहिरो निद्रा । पोषिलो खाना, समुचित श्रम, नियमित व्यायाम, विश्रामजस्तै निद्रा पनि स्वस्थ्य जीवनकै एक अंश हो ।

निद्रा गहिरो हुनुपर्छ, पर्याप्त हुनुपर्छ । जब तपाईं गहिरो निद्रामा पर्नुहुन्छ, ब्युझिँदा शरीर चंगा हुन्छ। बेग्लै किसिमको ताजापन अनुभव गर्नुहुन्छ।

यद्यपि अहिले हामी बिहान उठ्नै सक्दैनौं। निद्रा खुले पनि ज्यान तङ्ग्रिँदैन । उठ्दा पनि शरीर भारी हुन्छ। भद्दा हुन्छ। निद्रा नपुगेजस्तो हुन्छ । बिहान उठ्नासाथ हाइ काड्न थाल्छौं । फेरि ओछ्यानमै पल्टन मन लाग्छ, किन ?

किनभने हामी पर्याप्त निदाउन सकेकै छैनौं । सामान्यतस् हामीले सातदेखि आठ घण्टासम्मको निद्रा लिनुपर्छ। तर, समयले मात्र पुग्दैन । निद्रा गहिरो हुनुपर्छ । यदि गहिरो निद्रा लिइएन भने के हुन्छ ?

अनिद्रा एक रोग

तपाईंको शरीर बोझिलो हुन्छ, आलस्य बढ्छ। अनिद्राले गर्दा तपाईंको दैनिकी खलबलिन्छ। त्यति मात्र होइन, यसले तपाईंको शरीरको कार्य सञ्चालनमा समस्या ल्याउँछ । तपाईं उच्च रक्तचाप, मधुमेहलगायत रोगी हुनुहुन्छ।

यदि गहिरो निद्रा लिन सक्नुभयो भने तपाईं तनावलगायत अनेकन समस्याबाट मुक्त रहनुहुनेछ। अहिले हामीमध्ये धेरै जनाको निद्रा खलबलिएको छ । हामी ओछ्यानमा त पल्टन्छौं, निद्रा लाग्दैन । शरीर थकित हुन्छ तर निद्रा लाग्दैन ।

यताउता कोल्टे फेर्दाफेर्दै निदाउँछौं । निदाउँदा पनि हामी गहिरो निद्रामा पुग्दैनौं । बेलाबखत हाम्रो निद्रा बिथोलिन्छ। अर्थात् हामी राम्ररी निदाउन सक्दैनौं। किन यस्तो हुन्छ ?

किनभने हामी बेचैन छौं । हाम्रो मन स्थिर छैन । अनेक सोच, विचार, रहर, सपना, आकांक्षाले मनमा उथलपुथल ल्याइरहन्छ । त्यस्तै ग्लानी, कुण्ठा, द्वेषले पनि हाम्रो मनमा आगो सल्काइदिन्छ । हामी शान्त रहनै सक्दैनौं। जबसम्म हामी शान्त रहन सक्दैनौं, निद्रा लाग्दैन ।

गहिरो निद्राका लागि

यसैले गहिरो निद्राका लागि पहिलो शर्त हो, मनमा शान्ति । मनलाई कसरी शान्त तुल्याउने त ? मन त चञ्चल छ । मन भोको छ, मन लोभी छ, मन इर्ष्यालु छ । पर्याप्त धन दौलतले, सुख सुविधाले मन शान्त हुँदैन । मनलाई शान्त तुल्याउने भनेको आफूले आफैँसँग चित्त बुझाउने हो । यसको सरल विधि चाहिँ योग, प्राणायाम र ध्यान हो ।

ध्यान विधिबाट हामी मनलाई शान्त तुल्याउन सक्छौं । आध्यात्मिक चेतले पनि मनलाई वशमा राख्न सकिन्छ। मनमा सकारात्मक भाव पैदा हुनुपर्छ । सकारात्मक, कृतज्ञ र प्रफुल्ल भएपछि मन स्थिर हुन्छ । मन स्थिर भएपछि हामी गहिरो निद्रामा पुग्न सक्छौं ।

यसैगरी समुचित श्रम पनि आवश्यक छ । हामी निष्कृय बस्छौं वा ऐश आराममा मात्र रुचि राख्छौं भने पनि हामीलाई गहिरो निद्रा लाग्दैन । शरीर भनेकै समूचित श्रम गर्नका लागि हो । जब हामी श्रम गर्छौं, शरीरले विश्रामको खोजी गर्छ। त्यही बेला हामी गहिरो निद्रा पाउन सक्छौं।

खानपानले समेत निद्रामा असर गर्छ । हामीलाई के लाग्छ भने मदिरापान गरेपछि निद्रा लाग्छ । तर, यसले क्षणिक निद्रा लागे पनि यो गहिरो हुँदैन । मदिरापान गर्नु पनि निद्रा बिथोल्नु हो । त्यसैगरी धेरै मसेलेदार वा शरीरले सजिलै नपचाउने खानाले पनि निद्रा बिथोलिन्छ ।

सात्विक खानपान, सकारात्मक सोच, सरल जीवनशैली आवश्यक छ, गहिरो निद्राको लागि ।

१, गहिरो निद्रा पाउनका लागि मुख्यतः मानसिक रुपमा स्वस्थ्य हुनु आवश्यक छ। सुत्नुअघि मनमा कुरा खेलाउने, चिन्ता लिनेजस्ता काम गर्नु हुँदैन ।

२, सुतेको बेला आयव्ययको हिसाब लगाउने, पारिवारिक समस्यामा घोत्लिने, नकारात्मक विचारहरू ल्याउने जस्ता कुराले पनि निद्रा बिथोलिन्छ। त्यसैले सुत्नुअघि यस्ता बिकारयुक्त विचारहरू मनमा ल्याउन हुँदैन ।

३, सुत्नुअघि त्यस्ता कुराहरू सोच्नु हुँदैन, जसले मनलाई दुखी तुल्याउँछ । अक्सर मानिस ओछ्यानमा पल्टिएर मनमा अनेक कुरा खेलाउन थाल्छन्, विगतका गल्तीहरू सम्झिन्छन्, भविष्यका बारेमा कल्पना गर्छन् । यसले पनि निन्द्रा बिथोल्छ । यस्ता कुराहरू सोचेर केही फाइदा छैन । दिनमा शरीर सक्रिय भएको बेला यस्तो काम गर्नुपर्छ, जसले आफूलाई सन्तुष्ट तुल्याउँछ ।

४, सुत्नुअघि मनलाई स्थिर, खुसी र सन्तुष्ट राख्नुपर्छ । भविष्यको कुरा सोचेर वा विगतका गल्तीहरुमा पछुतो गरेर केहि उपलव्धी छैन भन्ने कुरा बुझ्नुपर्छ ।

५, सुत्नुअघि धेरै खानेकुरा खानु ठिक होइन । यसले पेट भद्दा हुन्छ र राम्ररी निन्द्रा लाग्दैन । अधिक पानी वा झोलयुक्त पदार्थ सेवन गर्दा पनि पिसाब लाग्छ, जसले निद्रा बिथोलिदिन्छ। सुत्नुअघि हल्का एवं सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ ।

६, सुत्ने र उठ्ने समय तालिका नियमित हुनुपर्छ। निश्चित समय तालिकामा सुत्ने अभ्यास गरिएको छ भने त्यही समयमा निद्रा लाग्छ ।

७, शारीरिक रुपमा निष्कृय हुँदा पनि राम्ररी निद्रा लाग्दैन । त्यसैले दिनमा शारीरिक रुपमा सक्रिय रहनुपर्छ । त्यस्तै व्यायाम गर्नुपर्छ, हिँडडुल गर्नुपर्छ, सानोतिनो घरायसी काम गर्नुपर्छ ।

८, सुत्नुअघि हल्का खानेकुरा सेवन गर्ने, केही क्षण हिँडडुल गर्ने, हल्का व्यायाम गर्ने, प्रणायाम गर्ने, ध्यान गर्नेजस्ता सिलसिलाबद्ध क्रियाले पनि गहिरो निद्रा लाग्छ ।

९, ओछ्यान सजिलो हुनुपर्छ । साथै सुत्ने कोठाको वातावरण प्रतिकूल हुनुहुँदैन । राति चर्को ध्वनि आउने, हल्लीखल्ली हुनेजस्ता कुराले पनि निद्रा बिथोलिन्छ ।

१०, सुत्नुअघि चाखलाग्दो पुस्तक पढ्नुहोस् । मधुरो संगीत सुन्नुहोस् । यसले ध्यान अन्यत्र भङ्ग हुँदैन र निद्रा लाग्छ ।

केहि घरेलु विधि

राम्रो निद्रा पाउनका लागि केही घरेलु औषधि पनि उपयोगी हुन्छ । तर, पूर्ण रुपमा यसमै निर्भर हुनुहुँदैन । स्वस्थ्य दिनचर्यासँगै घरेलु विधि अपनाएपछि गहिरो निद्रा पाउन सकिन्छ ।

१ , काँचो प्याजको सेवन गर्नुपर्छ ।

२, पुदिनाको पात पानीमा उमालेर उक्त पानी सेवन गर्नुपर्छ ।

३, सुत्नुअघि मनतातो दूध पिउनुपर्छ ।

  • २० जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech