कोभिड–१९ र हाम्रो आकस्मिक स्वास्थ्य सेवा

    • स्वास्थ्य पेज

  • २० जेष्ठ २०७७, मंगलवार

डा.बच्चुकैलाश कैनी

अहिले विश्व कोभिड–१९ को संक्रमणले आक्रान्त छ । कोभिड–१९ का कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर पर्न सुरु भइसकेको छ र अझै केही वर्ष असर पर्ने निश्चित छ । यो असर कति ठूलो हुन्छ भन्ने अहिले नै भन्न नसकिने भए पनि दीर्घकालीनरूपमा विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, व्यापार, व्यवसाय, स्वास्थ्य आदि थुप्रै क्षेत्रमा नकारात्मक असर पर्ने भने पक्का छ ।

नेपाल जस्तो सानो मुलुक पनि यो असरबाट अछूतो रहने कुरा भएन । अझ नेपाल धेरै कुरा, जस्तै– प्रविधि, उधोगधन्दा, व्यापार, व्यवसाय आदिमा परनिर्भर छ । साथै, मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले ओगटेको छ । यो अवस्थामा कोभिड–१९ पछि नेपालको अवस्था कोभिड–१९ पहिलेको जस्तो हुने छैन । अझै नेपालको स्वास्थ्य सेवाको कुरा गर्ने हो भने कोभिड–१९ पछि धेरै कुरामा ध्यान दिनुपर्ने र स्वास्थ्य सेवाको व्यवस्थापन फरक ढंगले गर्नुपर्ने देखिन्छ । यस अर्थमा कोभिड–१९ नेपालको स्वास्थ्य सेवा, विशेषगरी आकस्मिक स्वास्थ्य सेवाको समग्र मूल्यांकन गर्ने र व्यापक सुधार गर्ने मौका पनि हो ।

कोभिड–१९ जस्तो महामारीको व्यवस्थापन गर्दा स्वास्थ्य सेवा र आकस्मिक सेवाको निकै ठूलो भूमिका हुन्छ । महामारीमा बिरामीको चाप सामान्य भन्दा धेरै हुने र बिरामीलाई तत्काल उपचार गर्नुपर्ने अवस्था आउने हुनाले आकस्मिक स्वास्थ्य सेवा निकै व्यवस्थित र सवल हुनु आवश्यक हुन्छ । बेलायतमा कोभिड–१९ बाट संक्रमित १६ हजार ७ सय ४९ जना बिरामीमा गरिएको एक अध्ययनअनुसार कोभिड–१९ का संक्रमित कुल बिरामीमध्ये करिब सत्र प्रतिशतलाई सघन वा उच्च निर्भरता हुने शैयामा भर्ना गर्नुपर्ने अवस्था छ । कोभिड–१९ को संक्रमणबाट अस्पताल भर्ना भएका नब्बे प्रतिशत भन्दा बढी बिरामीले आकस्मिक सेवाको उपयोग गर्नुपरेको तथ्यांक आएको छ ।

कोभिड–१९ जस्तो महामारी र आपत्विपत्का बेला कुन सेवा कसले सञ्चालन गर्ने र स्रोत र साधनको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा प्रस्ट पार्न सरोकारवाला सबैको सहभागितामा निर्देशिका तयार पारी लागु गर्नुपर्छ ।

दैवीप्रकोप, आपत्विपत् र महामारी कुनै पूर्वसंकेतबिना आकस्मिकरूपमा आइपर्ने र तत्काल त्यही क्षणमा व्यवस्थापन गर्नुपर्ने कुरा हुन् । तसर्थ पनि आकस्मिक सेवाको व्यवस्थापनका लागि समयमा पर्याप्त स्रोत र साधनको व्यवस्था गर्नुपर्ने हुन्छ । महामारीको अवस्थामा चुस्त व्यवस्थापन र समयमा काम नगरे मानिसको ज्यान जाने सम्भावना हुन्छ । साथै, एकपटक आकस्मिक सेवा उपयोग गर्नैपर्ने बिरामीको दीर्घकालीनरूपमा पनि धेरै कुरा, जस्तै– मानसिक र शारीरिक स्वास्थ्यसँग सम्बन्धित कुराको व्यवस्थापन गर्नुपर्ने हुन्छ । तसर्थ पनि आकस्मिक सेवामार्फत अल्पकालीनरूपमा बिरामीलाई छिटो सेवा र समग्र स्वास्थ्य सेवामार्फत दीर्घकालीन व्यवस्थापन गर्नु नितान्त आवश्यक हुन्छ ।

आकस्मिक सेवा व्यवस्थापनको कुरा गर्दा मुख्यरूपमा तीन कुरामा ध्यान दिनुपर्ने हुन्छ । पहिलो, बिरामी जहाँ छ त्यहीँ वा घटनास्थलमा बिरामी वा प्रभावितलाई तत्काल सेवा दिनुपर्ने हुन्छ । यसअन्तर्गत बिरामी बस्ने वा घटना स्थलमा तत्काल उपचार, उपचारका लागि अरु स्वास्थ्य सेवा वा स्वास्थ्यकर्मीसँग समन्वय र प्रभावितलाई अस्पताल वा स्वास्थ्य संस्थामा लैजाने तयारी आदि पर्छन् ।

कोभिड–१९ संक्रमित बिरामीको तत्काल आकस्मिकरूपमा उपचार गर्नुपर्दा पनि यही कुरा लागु हुन्छ । तर यो सन्दर्भमा थप कुरा के हुन्छ भने बिरामीलाई आइसोलेसनमा राख्ने, परिवारका अरू सदस्यलाई संक्रमण हुनबाट जोगाउने र स्वास्थ्यकर्मीहरू पनि आवश्यक पिपिइ लगाएर जोगिनुपर्ने हुन्छ । तसर्थ कोभिड–१९ संक्रमित बिरामीको आकस्मिक सेवाका लागि व्यवस्थापन गर्दा थप सजगता अपनाउनुपर्ने हुनाले थप स्रोत र साधन व्यवस्था गर्नुपर्ने हुन्छ ।

दोस्रो कुरा भनेको प्रभावित वा बिरामीलाई अस्पताल वा स्वास्थ्य संस्थामा लैजाने यातायातको व्यवस्था र अस्पताल वा स्वास्थ्य संस्था नपुगेसम्म बाटोमा दिनुपर्ने सेवा र सुविधा पर्छन् । यो चरणको कुरा गर्दा आवश्यक एम्बुलेन्सको व्यवस्था, एम्बुलेन्समा आधारभूत उपकरण, जस्तै– अक्सिजनको व्यवस्था, रगतमा अक्सिजनको तह, ब्लडप्रेसर, ज्वरो नाप्ने उपकरण आदि र यी कुरा गर्न तालिम प्राप्त मान्छे हुनु राम्रो हो ।

तेस्रो कुरा भनेको बिरामी वा प्रभावितलाई अस्पताल वा स्वास्थ्य संस्थामा दिइने आकस्मिक उपचार, परीक्षण, निदान, अन्तरंग सेवा आदि पर्छन् । यसका लागि अस्पतालको तह र उपलब्ध हुने सेवाअनुसारका उपकरण, जनशक्ति, स्रोत र साधनको व्यवस्था हुनु जरुरी हुन्छ । कोभिड–१९ को व्यवस्थापनका लागि निजी, सरकारी वा सामुदायिक हरेक स्वास्थ्य संस्थामा छुट्टै वार्डको व्यवस्था, स्वास्थ्यकर्मीलाई तालिम र पिपिइलगायत आवश्यक उपकरण व्यवस्था गर्नुपर्ने हुन्छ ।

नेपालमा कोभिड–१९ बाट मर्ने पहिलो बिरामी जो भर्खरैको सुत्केरीसमेत थिइन्, उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेको, सुविधा सम्पन्न अस्पताल आउन समयमा नै एम्बुलेन्स नपाएको र एम्बुलेन्समा सामान्य अक्सिजन दिने व्यवस्थासमेत नभएको तथ्य बाहिर आएको छ । त्यसैगरी कोभिड–१९ बाट मर्ने दोस्रो बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स चालकले इन्कार गरेको, आइसोलेसनमा बसेको स्थलमा कुनै स्वास्थ्यकर्मीले रेखदेख र उपचार नगरेको र उनले कुनै उपचार नै नपाइ मर्नुपरेको तथ्य निकै लज्जास्पद मात्रै हैन, अमानवीय पनि हो । यो भयो कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेहरूको कथा । संक्रमण भएर अस्पतालमा बस्ने धेरैको कथा पनि यो भन्दा फरक छैन ।

यसले पुष्टि गर्छ नेपालमा कोभिड–१९ बाट संक्रमित बिरामीले आपत्कालीन र आकस्मिक उपचार पाउन सकेका छैनन् । त्यति मात्र हैन, आकस्मिक सेवा व्यवस्थापनका लागि माथि उल्लिखित तीनै चरणका सेवाका लागि उचित स्रोत र साधनको आवश्यक व्यवस्था छैन । तसर्थ अहिलेको बेला मात्रै हैन, हरेक दिन आउन सक्ने आकस्मिकताका लागि हरेक स्वास्थ्य संस्था र निकायले भविष्यका लागि सबै तयारी गर्नुपर्ने देखिन्छ । साथै सुविधा सम्पन्न सहरमा भएका सबै अस्पतालमा पनि आकस्मिक सेवामा व्यापक सुधार गर्नुपर्ने अवस्था छ ।

आकस्मिक सेवा दिन यी तीनै चरणको कुरा गर्दा अहिलेको कोभिड–१९ जस्तो महामारीका बेला मात्रै हैन, अरु बेलामा पनि नेपालको स्वास्थ्य सेवामा आकस्मिक सेवा व्यवस्थापन निकै कमजोर मानिन्छ । नेपालमा हरेक दिनजसो सवारी दुर्घटनामा परेर मान्छेले ज्यान गुमाएका समाचार आउँछन् । सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०१७–१८ मा मात्र १० हजार ९ सय ६५ वटा सवारी दुर्घटना भएका थिए । यो तथ्यांक हरेक वर्ष उकालो लाग्दैछ ।

यो अर्थमा सवारी दुर्घटना र यसका कारण स्वास्थ्य संस्थामा पर्ने बिरामीको चापको सजिलै अनुमान लगाउन सकिन्छ । यही अनुमानका आधारमा देशका विभिन्न प्रदेश र जिल्लामा आकस्मिक सेवा, स्वास्थ्य सेवा, उपकरण र जनशक्तिको व्यवस्थापन गर्न सकिन्छ । तर पनि सरकारी प्रयासबाट आकस्मिक सेवाका लागि उचित स्वास्थ्य सेवा, आवश्यक जनशक्ति, उपकरण, स्रोत र साधनको व्यवस्था हुन सकेको छैन । अहिले सडक दुर्घटनामा पर्नेहरूले उचित, सहज र सरल ढंगले समयमा नै उपचार र सेवा पाएका छैनन् भने अहिले देखिएको कोभिड–१९ का बिरामीले आकस्मिक स्वास्थ्य सेवा र अन्य उचित सेवा नपाउनु कुनै नयाँ कुरा हैन ।

अहिले नेपालको स्वास्थ्य सेवा संघीय र प्रादेशिक संरचनाअनुसार सञ्चालनमा आएको हुनाले कोभिड–१९ जस्तो महामारी र आपत्विपत्का बेला कुन सेवा कसले सञ्चालन गर्ने र स्रोत र साधनको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा प्रस्ट पार्न सरोकारवाला सबैको सहभागितामा निर्देशिका तयार पारी लागु गर्नुपर्छ । साथै हरेक स्थानीय सरकार वा निकाय र स्वास्थ्य संस्थाले आफ्नो स्तरमा कोभिड–१९ जस्तो महामारी र आपत्विपत्का बेला कसरी काम गर्ने र सेवाग्राहीलाई समयमा चुस्त र व्यवस्थित सेवा दिनका लागि स्थानीय निर्देशिका बनाएर लागु गर्नुपर्छ । बेलायतमा हरेक अस्पतालले अनिवार्यरूपमा महामारी वा आपत्कालमा भविष्यमा आउन सक्ने जोखिम न्यूनीकरण गर्न जोखिम मूल्यांकन गरी ‘आकस्मिकताका लागि कार्ययोजना’ अर्थात ‘इमरजेन्सी प्लानिङ’ बनाएर लागु गर्नुपर्ने नियम छ ।

दीर्घकालीनरूपमा कोभिड–१९ जस्तो महामारीका बेला आकस्मिकरूपमा बिरामीको व्यवस्थापन गर्न र महामारीसँग लड्नका लागि स्वास्थ्यकर्मीहरूलाई आवश्यक तालिमको व्यवस्था हुनुपर्ने देखिन्छ । त्यस्तो तालिम स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूको तह, ज्ञान, योग्यता र दक्षताअनुसार निर्धारण गर्नु उचित हुन्छ । कुनै तालिम सबैका लागि उत्तिकै उपयोगी हुन सक्छ भने कुनै केवल केही समूह वा वर्गका लागि उपयुक्त हुन सक्छ । जस्तै बेलायतमा हरेक अस्पतालमा काम गर्ने सबै कर्मचारीले जुन तह र जुन पदमा काम गरे पनि वा जस्तो योग्यता र दक्षता भए पनि केही तालिम, जस्तै– इन्फेक्सन कन्ट्रोल, ह्यान्ड हाइजिन वा हातको सरसफाइ, हेल्थ एन्ड सेफ्टी आदि तालिम कामको प्रकृतिअनुसार हरेक वर्ष वा दुई वा तीन वर्षको फरकमा अनिवार्य लिनुपर्ने हुन्छ ।

कोभिड–१९ को महामारीका बेला मात्रै हैन, स्वास्थ्य क्षेत्रमा समग्र सेवा र विशेष गरी आपत्कालीन सेवाको व्यवस्थापन गर्नका लागि स्वास्थ्य संस्था वा स्थानीय, प्रादेशिक र संघीय सरकारको नेतृत्व सबल, योग्य र सक्षम हुनु नितान्त जरुरी हुन्छ । कोभिड–१९ का बेला सबै स्वास्थ्य संस्था, निकाय र नेतृत्वदायी भूमिका लिने सबैको नेतृत्व र व्यवस्थापन शैलीको परीक्षण भइरहेको छ । यो महामारीले विश्वलाई नै ठूलो पाठ सिकाइरहेका बेला नेपाल जस्तो सीमित स्रोत र साधन भएको मुलुकले पाठ सिक्ने र एक्काइसौँ शताब्दी सुहाउँदो र हरेक नागरिकले गर्व गर्न सक्ने स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि भविष्यमा काम गर्ने अवसर दिएको छ । आशा छ, यो चुनौतीको घडीलाई अवसरमा बदल्न सबै सम्बन्धित निकाय, जिम्मेवार व्यक्ति र नेतृत्व वर्गमा सकारात्मक सोच र काम गर्ने प्रतिबद्धता आउनेछ ।

उनी क्विन एलिजावेथ अस्पताल, लन्डनमा वरिष्ठ व्यवस्थापक र आर्डेन विश्वविद्यालय, लन्डनमा स्वास्थ्य व्यवस्थापन विषयको सहप्राध्यापक हुन् ।


Nabintech