डाक्टरले संचालन गरेको मनै लोभ्याउने फनपार्क

    • स्वास्थ्य पेज

  • ९ कार्तिक २०७७, आईतवार

 

 

  समिरमान श्रेष्ठ

नेपालगन्ज ९, कार्तिक ।

टिचिङ अस्पताल महाराजगन्जबाट ५ बर्षअघि २०७२ सालमा एमबिबिएसको अध्ययन सकेपछि डा. ओम प्रकाश मिश्र आफ्नै गृहनगर नेपालगन्जको भेरी अस्पतालमा करारमा मेडिकल अधिकृतको रुपमा नियुक्त हुनुभयो । त्यतीबेलासम्म एमडी गर्छु भन्ने नै सोच थियो । पिजीको परीक्षा आयो । परीक्षा काठमाडौंमा थियो । अघिल्लो दिन मौसम क्लियर नै थियो । भोलीपल्ट दिउँसो परीक्षा भएकाले विहान प्लेनमा जाने सोच मिश्रको भयो ।

दिउँसो परीक्षा भएकाले विहान प्लेनमा गएपनि पुगिहाल्थे तर मौसम प्रतिकूलताका कारण प्लेन उडेन र मेरो परीक्षा रोकियो । परीक्षा दिन पनि पाइएन् । भेरीको दुईबर्षको करार अवधि पनि सकियो । त्यसपछि डा मिश्रको योजना नै फेरियो । पर्यटन क्षेत्रको विकास गरेर देशको आर्थिक विकासमा टेवा पुर्याउने । त्यही सोचका साथ उहाँको नेपालगन्ज उपमहानगरपालिका–१४ बालेगाउँमा ‘मेरो प्लानेट’ निर्माणको योजना बन्यो ।

त्यहाँ फनपार्क पनि होस् तर यहाँ बनेका भन्दा फरक, रेष्टुरेन्ट पनि होस् तर यहाँ खुलेका भन्दा फरक, सानो र ठूलो गोष्ठी, सेमिनार, बर्षगाँठ, विहेवारी गर्नलाई सभाहल पनि गराउने तर यहाँ संचालन भएका भन्दा फरक, एडभेन्चरको सेवा पनि दिने तर त्यसले रमाइलोपना महसुस गराइदिओस् । यही विशेषताका साथ मेरो प्लानेट बनाउने र आफ्नो नेतृत्वमा एकजनालाई जिम्मेवारी दिएर आफु अस्पतालतिरै लाग्छु भन्ने योजना लिएर अघि बढेका डा मिश्र अहिले यसैलाई व्यवसाय बनाएर यसैमा पुरै डुबिसक्नुभएको छ । ‘यो त ठूलो महासागर रहेछ उहाँले भन्नुभयो–‘यसैमा हराइसके ।

अवको लक्ष्य आन्तरिक तथा बाह्य पर्यटकहरुलाई कसरी भित्र्याउने र यहाँको पर्यटन प्रबर्धनमा टेवा पुर्याउने नै हो ।’ आला समातेर विरामी जाँच्ने डाक्टर अहिले मेरो प्लानेट मार्फत पर्यटकिय क्षेत्रको सम्भाव्यता खोज्न व्यस्त हुनुभएको छ । नेपालगन्जमा पर्यटकिय क्षेत्रको ठूलो सम्भावना छ । भारतसँग जोडिएको शहर छ । मानसरोवर दर्शनका लागि यो प्रवेशद्धार नै हो । नजिकै बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज छन् । डा मिश्रले भन्नुभयो–‘सबैभन्दा ठूलो कुरा भारतिय पर्यटकहरुलाई कसरी भित्र्याउन सकिन्छ भन्ने नै हो, यदी भारतिय पर्यटकहरुलाई भित्र्याउन सकिने अवस्था रहयो भने यसक्षेत्रमा पर्यटकिय सम्भावना थप मौलाएर जान्छ ।’

कैयौ देशले बाह्य पर्यटकहरुलाई भित्र्याउन विभाग नै खडा गरेका हुन्छन् । डा मिश्र नेपाल सरकारले पनि भारतीय पर्यटकहरुलाई नेपाल भित्र्याउन विभाग नै बनाएर योजना बनाउनु पर्ने सुझाव दिनुहुन्छ । करिव साढे तीन विघा क्षेत्रफलमा फैलिएको मेरो प्लानेटमा मनै लोभ्याउने फनपार्क छ । वाटरपार्क र स्काइ साइकिलिङले अझ रोमाञ्चक बनाउँछ । चारैतीर हरियाली बोटविरुवा छन् । पुरै प्रकृतिमय देखिन्छ । ‘हेर्नुहोस् यहाँ आएपछि एकछिन मन प्रफूल्ल हुन्छ डा मिश्रले भन्नुभयो–‘शान्त र रमणीय ठाउँ अहिले सबैलाई चाहिन्छ त्यो मेरो प्लानेटमा छ ।’

 

यो प्रोजेक्टमा अहिलेसम्म ३८ करोड खर्च भइसकेको छ । केही संरचनाहरु निर्माणाधिन छन् । लागत खर्च अझै बढ्ने देखिन्छ । तपाई डाक्टर पढेको मान्छे अस्पताल नै खोल्नु पर्ने ? स्वास्थ्य पेजको जिज्ञासामा मुसुक्क मुस्कुराएर भन्नुभयो–‘यहाँ विशेषज्ञ चिकित्सक धेरै हुनुहुन्छ र क्षमतावान पनि हुनुहुन्छ । म एउटा चिकित्सक नहुँदैमा विरामीको सेवा नै प्रभावित हुन्छ भन्ने हुँदैन ।  २  कक्षासम्म नेपालगन्जको जय बागेश्वरी स्कुल र ३ कक्षादेखि १२ सम्म भारतको लखउनमा पढ्नुभएका ३२ बर्षीय डा मिश्र भन्नुहुन्छ–‘नेपालको प्राथमिक स्वास्थ्य सेवा प्रभावकारी छ तर ठूला अस्पतालको अवस्था विजोग छ ।’

जनशक्तीको व्यवस्थापन हुन सकेको छैन् । उपकरणको अभाव त्यस्तै छ । व्यवस्थापन चुस्तदुरुस्त छैन् । यस्को सोझै प्रवाभ विरामीको उपचारमा पर्छ । एउटै चिकित्सकले सयौं विरामी हेर्नु पर्ने अवस्था छ । स्वास्थ्य क्षेत्रमा देखिएका कमजोरीबारे उहाँ भन्नुहुन्छ–‘सरकारी ठूला अस्पतालहरुमा व्यवस्थापकीय पाटो निकै कमजोर छ । राज्यले यसतर्फ सोच्न जरुरी छ ।

  • ९ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech