दशैंमा कस्तो र कति मासु खाने ?

    • स्वास्थ्य पेज

  • ८ कार्तिक २०७७, शनिबार

नेपालगन्ज ८, कात्तिक ।

अपवादबाहेक नेपाली समाजमा मासुविनाको चाडबाड कल्पनासमेत गर्न सकिँदैन । हिन्दु धर्मावलम्बीको महान् चाड दशैंमा शाकाहारीबाहेक मासु नखाने कमै होलान् । नहुनेले ऋणसापट गरेरै भए पनि दसैंमा मासु खानैपर्छ भन्ने मान्यता राख्छन् ।

अन्य समय त छँदै छ तर चाडबाडमा मासु अत्यधिक खाने प्रचलन नयाँ होइन । तर, मासु कति, कसरी र कस्तो खाने भन्ने सन्दर्भमा नेपाली त्यति सचेत छैनन् । मासु खाए पुग्यो भन्नेको बाहुल्य छ । चाडबाडमा मासु खानै नहुने भन्ने होइन ।

कस्तो मासु खाने, कति र कसरी खाने भन्नेले अर्थ राख्छ । मासु भन्नासाथ खसी, बोका, भेडा, च्याङ्ग्रा, राँगा, सुँगुर, कुखुरा, हाँस र माछा बुझिन्छ । ‘रातोभन्दा सेतो मासु खान उपयुक्त हुन्छ ।

रातो मासु खानै हुँदैन भन्ने होइन तर मात्रा मिलाएर खान जान्नुपर्छ, भेरी अस्पताल नेपालगन्जका बरिष्ठ फिजिसियन तथा पेट, कलेजो रोग बिशेषज्ञ डा संकेत रिसालका अनुसार ‘मिर्गौलारोगी, कोलस्ट्रोल, युरिक एसिड र रगतमा चिल्लो मात्रा बढी भएकाले रातो मासु खाँदै नखाँदा राम्रो हुन्छ ।’

निम्न रोगको समस्या भए मासु नखानुहोस्
–मुटु ।
–कलेजो ।
–मिर्गौला ।
–रगत ।

मासुका लागि उपयुक्त पशु तथा पन्छीको उल्लिखित अंग नखाँदा स्वास्थ्यका लागि उपयुक्त हुन्छ । फिजिसियन डा रिसालको बुझाइ छ, ‘हामीले मासुका रूपमा खाने पशु तथा पन्छी रोगी भए उसको अंगमा विभिन्न किसिमका विषाक्त रसायन हुन्छन् । रगतमा अझ धेरै हुन्छ । हामीले मासुसँगै विषाक्त रसायन खाइरहेका हुन्छौं ।’

विषाक्त रसायनले मानिसको स्वास्थ्यलाई राम्रो गर्दैन । रोगी मानिसले त्यस्ता रसायन भएको मासु खाँदा रोगीमाथि रोगी हुन्छन् । कोरोना महामारीमा माछा मासु खानु हुदैन् भन्ने भनाइ छ अस्पतालका कोरोना फोकलपर्सन समेत रहनुभएका डा रिसाल भन्नुहुन्छ–‘सफा, शुद्ध र पेटले पचाउन सक्नेमात्र खानु पर्यो । मासु खाँदैमा कोरोना हुने होइन् ।’

दैनिक माछा मासु कति खाने ?

–रोतो मासु ३ देखि ४ टुक्रा ।
–माछा २ देखि ३ टुक्रा ।
–सेतो मासु बढीमा ५ टुक्रा ।
–अन्डा १ देखि २ वटासम्म ।

थप सुझाव

–घाम र धूवाँमा सुकाएको मासु नखाने ।
–सामान्य फ्रिजमा राखिएको मासु दुई÷तीन दिनपछि नखाने ।

सामान्य दिनमा आधा एक केजी मासु खाने घर परिवारले चाडपर्वमा तीन चार किलो मासु किनेर खाने गर्छन् । चाडपर्वमा मासुको खपत बढी हुने भएकाले त्यसको गुणस्तरीयता चेकजाँच गर्न डा रिसालको सुझाव छ । मासुको गुणस्तर चेकजाँच गर्ने निकायले शुद्ध मासु मात्र उपभोक्तासम्म पुर्याउन पहल गरिदिने हो भने धेरै हदसम्म मासुबाट हुने समस्या कम हुन्छ ।

मदिरा नखाएकै राम्रो
दशैं भन्नासाथ मासु र मदिराको चाड हो । मासु र मदिराविनाको चाडबाड खल्लो नै हुने भनाइ हाम्रो माझ छ । घरेलुदेखि पाँच लाख रुपैयाँसम्मको मदिरा नेपालमै पाइन्छन् । फ्रान्स, स्कटकल्यान्ड र बेलायतका मदिरा नेपालमै बिक्री गरिन्छ । ‘मदिरा स्वास्थ्यका लागि लाभदायी हुनै सक्दैन् । डा रिसालका अनुसार, क्षणीक रमाइलोले मदिराको अधिक प्रयोग भयो भने ज्यानै जान सक्छ ।

  • ८ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech