लम्बिनी प्रदेशमा कोभिडबाट बढ्दो मृत्युदर पत्ता लगाउन अनुसन्धान हुने

    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०७७, शुक्रबार

बुटवल ७, कात्तिक ।

लुम्बिनी प्रदेशले कोभिड सङ्क्रमणबाट बढ्दो मृत्युदर पत्ता लगाउन अनुसन्धान गर्ने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले बढ्दो मृत्युदर पत्तालगाउन अध्ययन अनुसन्धानका लागि सामाजिक विकास मन्त्रालयले टिम बनाई खटाउने गरी निर्णय भएको हो ।

सो समूहले मृत्युदर बढ्नुका कारण तथा तथ्यहरु पत्ता लगाई आवश्यक कार्ययोजना समेत बनाउने छ । त्यस्तै , बैठकले सबै कोभिड विशेष अस्पतालमा एचडियु क्षमता विस्तार गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशले लक्षण देखिएका संकास्पद बिरामीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गर्ने भएको छ । यसअघि मुख्यमन्त्री पोखरेलले निशुल्क पीसीआर र उपचारलाई निरन्तरता दिने घोषणा गर्नुभएको थियो ।

प्रदेश सरकारले कोभिड १९ का बिरामीहरुलाई अनिवार्य परीक्षणको दायरामा ल्याउने पनि निर्णय गरेको छ । कोरोना संक्रमणबाट निधन भएका सबै शवको व्यवस्थापन गर्ने कामको संयोजन प्रमुख जिल्ला अधिकारीले गर्ने गरी व्यवस्थापन मिलाइएको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले बताउनुभयो । स्थानीय तहले होम आईसोलेशनमा बस्ने सङ्क्रमितहरुलाई नियमित निगरानीमा राख्ने गरि स्वास्थ्यकर्मी सहित जनप्रतिनीधिको टोली निर्माण गर्ने गरी निर्णय भएको छ । होम आईसोलेशनमा बस्नेको आकस्मिक उद्धार लगायतको व्यवस्थापन गर्ने समेत निर्णय भएको केसीले बताउनुभयो ।

लक्षण सहितका विरामीहरुको उपचार कोभिड विशेष अस्पताल र अन्य सरकारी अस्पतालमा निःशुल्क गर्ने, क्वारेन्टाईन र आईसोलेशन सेन्टरको निर्माण, व्यवस्थापन र संचालन आवश्यकता अनुसार सम्बन्धित पालिकाले नै गर्ने जस्ता निर्णय भएका छन् । सीमा नाकालाई व्यवस्थित गर्न तोकिएका नाका मात्र संचालन हुने भएका छन् भने छोटो अवधिको आवतजावतलाई बन्देज गरिने भएको छ ।

सार्वजनिक र निजी संस्थाहरु, सार्वजनिक स्थल, र सार्वजनिक यातायात लगायतको स्थानमा सम्भावित कोभिड संक्रमणको जोखिमबाट बच्न, स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न, मास्क लगाउने, सेनिटाईजर र साबुनपानीको अनिवार्य व्यवस्था सम्बन्धित संस्थाहरुले गर्ने छन् । सार्वजनिक यातायातमा अनिवार्य स्वास्थ्य मापदण्ड लागु गराउन आवश्यक मापदण्ड बनाई परिचालन गर्न प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिने निर्णय पनि भएको छ ।

सामाजिक विकास मन्त्रालयले आवश्यक सचेतना र सुचना प्रवाहको लागि विद्यालय शिक्षकहरुलाई विद्यालय सेवा क्षेत्र भित्र परिचालन गर्ने भएको छ । कोभिड सङ्क्रमितको उपचार पद्दती प्लाज्मा थेरापी को लागि रगत संकलन गर्ने व्यवस्थाका लागि ४ वटै कोभिड विशेष अस्पतालहरुमा व्यवस्थापन गरिने भएको छ ।

  • ७ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech