बाँकेमा अस्वभाविक ढंगले बढ्यो मातृ मृत्युदर

    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०७७, शुक्रबार

पब्लिक हेल्थ नर्स बिष्णु श्रेष्ठ, स्वास्थ्य कार्यालय बाँके । तस्विरः नेपालगन्ज ग्यालरी

नेपालगन्ज ७, कात्तिक ।
बाँकेमा अस्वभाविक ढंगले मातृ मृत्युदर बढेको छ । चालू आर्थिक बर्ष २०७७/७८ को दुई महिनामै १२ जना आमाले ज्यान गुमाएका छन् । यो गएको बर्षभरी भएको मातृ मृत्युदर बराबर हो ।

गएको आर्थिक बर्ष ०७६/७७ मा १२ जना आमाले ज्यान गुमाएका थिए । तर चालू आर्थिक बर्षको साउन र भदौ महिनामै १२ जनाले ज्यान गुमाउनुले अवस्था डर लाग्दो देखाएको छ । ‘गएको आर्थिक बर्षभन्दा चालू आर्थिक बर्षमा मातृमृत्यु दर अस्वभाविक ढंगले बढेको देखिन्छ, स्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्स बिष्णु श्रेष्ठले स्वास्थ्य पेजलाई भन्नुभयो–‘चालू आर्थिक बर्षकै दुई महिनामा १२ जनाले ज्यान गुमाइसकेका छन् यसले मातृ मृत्युदर अझ बढ्न सक्ने अवस्थाको संकेत गरेको छ ।’

धेरै जसो आमाले अस्पतालमै ज्यान गुमाएको पाइएको छ । भेरी अस्पतालमा ५, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा १, अस्पताल आउँदाआउँदै बाटोमा २, भारतीय अस्पतालमा २ र १ जनाको घरमै मृत्यु भएको श्रेष्ठले बताउनुभयो । एक जनाको विवरण भने अत्यावधिक हुन बाँकी छ । भारतीय अस्पतालमा मृत्यु हुने नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुरका हुन् । उनीहरु अधिकांश उपचारका लागि भारत जाने गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाका ३–३ जना, डुडुवा, बैजनाथ र नरैनापुरमा २–२ जना आमाले ज्यान गुमाएका छन् । अस्पतालमा पुगेर पनि ज्यान गुमाउनुको कारण भने उनीहरुका आफन्तहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको लापरवाही हुने गरेको आरोप लगाउने गरेका छन् । योबीचमा कोरोना भाइरस संक्रमणको त्रासले प्रसूति व्यथाले च्यापेका महिलाले धेरै दुःख र पीडा खेप्नु परेको आफन्तहरु बताउँछन् ।

कोरोना भाइरस संक्रमणले स्वास्थ्यकर्मीहरु नै प्रभावित भएपछि भेरी अस्पताल, नेपालगन्ज मडिकल कलेजले केही दिन प्रसूति वार्ड नै बन्द गराए । त्यती बेला प्रसूति व्यथा लागेर अस्पताल पुग्नेहरु जीवन र मरणसँग जुध्नु पर्यो । कोरोनाको डर र त्रासका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विरामीको केयर नगर्दा पनि मातृ मृत्युदर बढेको रिपोर्टिङ स्वास्थ्य कार्यालयलाई भएको छ । मातृ मृत्युदर बढ्नुको अर्को कारण गर्भवतिले समयमा चेकजाँच नगर्नु पनि हो ।

‘घर अगाडी गाउँघर क्लिनिक छ स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स श्रेष्ठले भन्नुभयो–‘तर उहाँहरु (गर्भवति)ले आफ्नो स्वास्थ्यको परीक्षण नै गर्नुभएको हुँदैन् । जस्का कारण आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था जोखिममा परिरहेको छ ।’ उहाँले गर्भवति हुँदा नियमित स्वास्थ्य जाँच गर्ने, खानपिनमा विशेष ध्यान दिने र परिवारको सहयोग हुने हो भने मातृ मृत्युदरलाई घटाउन सकिने बताउनुभयो ।

 

भिडियो कुराकानी हेर्न तलको लिंक क्लिक गर्नुहोस्

  • ७ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech