डब्लूएचओ भन्यो, १५ वर्षमुनिका ४ करोडमा धूमपानको लत

    • स्वास्थ्य पेज

  • १९ जेष्ठ २०७७, सोमबार

एजेन्सी
विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका चार करोडभन्दा बढी किशोरकिशोरीमा धूमपानको लत रहेको जनाएको छ । राष्ट्रसंघीय निकायले विश्व धूमपानरहित दिवसका अवसरमा चेतनामूलक कार्यक्रम गरी युवा जगत्मा धूमपानको कुलत हटाउनुपर्नेमा जोडसमेत दिएको छ

‘हाल १३–१५ वर्ष उमेर समूहका चार करोडभन्दा बढी युवाहरूले सुर्तीजन्य पदार्थको सेवन सुरु गरिसकेका छन्,’ डब्लुएचओले भनेको छ । डब्लूएचओले १३–१७ वर्ष उमेर समूहका विद्यार्थीहरूमा सुर्तीजन्य पदार्थको बजारीकरणबारे सचेतना दिन विशेष सूत्रको प्रयोग गरेको थियो । सुर्तीजन्य उद्योगहरूले किशोरकिशोरीलाई लक्षित गरी विश्वमा विज्ञापनका लागि वार्षिक ९ अर्ब अमेरिकी डलर बराबरको बजेट खर्च गर्दै आएका छन् ।

डब्लूएचओले भनेको छ, ‘सुर्तीजन्य उत्पादनको विज्ञापनका लागि सम्बन्धित उद्योगहरूले विश्वमा हरेक वर्ष ९ अर्ब अमेरिकी डलर खर्चिने गरेको छ र निकोटिन तथा सुर्तीजन्य पदार्थको यो विज्ञापनको लक्षित समूह भनेको युवा जगत् रहने गरेको भेटिएको छ ।’

उद्योगहरूले प्रतिवर्ष धूमपान र सुर्तीजन्य पदार्थको सेवनबाट हुने विभिन्न समस्याका कारण ८ करोड व्यक्तिको बदलामा आफ्नो उत्पादनको प्रयोग गर्न युवापुस्तालाई प्रेरित हुने गरी विज्ञापन गर्ने गरेका हुन्छन् ।’

कोभिड–१९ का कारण आएको विश्वव्यापी महामारीमा पनि सुर्ती, चुरोट, खैनी, बिँडी, परागजस्ता सुर्ती र निकोटिनजन्य अन्य पदार्थको उत्पादन गर्ने उद्योगले आफ्ना उत्पादन बजारमा पठाउने क्रम जारी रहेको बताइएको छ । साथै यस्ता कुलतजन्य पदार्थका कारण मानिसको भाइरसविरुद्ध लड्ने शक्तिलाई कमी गर्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

‘धूमपान वा सुर्ती सेवन गर्ने हरेक १० व्यक्तिमध्ये नौ जना १८ वर्ष पुग्नुअघि नै यस्तो कुलतमा लाग्ने गरेकाले यस वर्गलाई लक्षित गरी धूमपानविरोधी भावना जागृत गर्नु अनिवार्य भएको छ,’ संगठनका जनस्वास्थ्य कार्यक्रमका निर्देशक रूइदिगर क्रेचले भने । धूमपानजस्ता कुलतमा फस्न नदिन किशोरकिशोरीलाई उनीहरूको १३–१७ वर्ष उमेर समूहमा सचेतना वृद्धि गर्दै निगरानी बढाउनु आवश्यक भएको उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा बबलगम, क्यान्डी, चुरोट, सुर्ती लगायतका १५ हजार भिन्नभिन्न स्वादका सुर्तीजन्य पदार्थको बिक्री हुने गरेको छ । बबलगम र क्यान्डीहरूले युवाहरूलाई क्रमशः गम्भीर खालका निकोटिनजन्य सामानको उपयोग गर्न प्रेरित गर्ने गरेको पनि जनाएको छ ।

  • १९ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech